२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः ब्राइटनविरुद्ध आर्सनलको सानदार जित, म्यान्चेस्टर सिटीसँग सात अंकको अग्रता



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सानदार जित निकालेको छ । गएराति सम्पन्न खेलमा आर्सनलले ब्राइटनलाई उसकै मैदानमा ४–२ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनललाई जित दिलाउन बुकायो साका, मार्टिन ओडेगार्ड, एड्डी केटियाह र गाब्रियल मार्टिनेलीले एक–एक गोल गरे । ब्राइटनका लागि काओरु मितोमा र इभान फर्गुसनले एक–एक गोल गरे ।

खेलको सुरुवाती दोस्रो मिनेटमै साकाले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । ३९ औं मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । ४७ औं मिनेटमा एड्डीले गोल गर्दा आर्सनल ३–० ले अघि रह्यो ।

६५ औं मिनेटमा मितोमाले गोल गर्दै ब्राइटनलाई ३–१ को अवस्थामा ल्याए । ७१ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनलको अग्रता ४–१ को बनाए ।

यस्तै, ७७ औं मिनेटमा फर्गुसनले गोल गर्दै ब्राइटनलाई ४–२ को अवस्थामा ल्याए पनि टोलीलाई जित भने दिलाउन सकेनन् ।

यस जितसँगै शीर्ष स्थानमा रहेको आर्सनलले दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीसँग ७ अंकको दुरी बढाएको छ । १६ खेल खेलेको आर्सनलको ४३ अंक छ भने समान खेल खेलेको सिटीको ३६ अंक छ । यस्तै, ब्राइटन भने समान खेलबाट २४ अंकसहित आठौं स्थानमा छ ।