७ मंसिर २०८१, शुक्रबार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट नेपाललाई विपद् तथा जलवायु परिवर्तन उत्थानशील राष्ट्र बनाउनुपर्नेमा जोड सरकार कफी खेतीको प्रवर्द्धनका लागि प्रतिवद्ध छः कृषिमन्त्री अधिकारी हिमालय एयरलाइन्सबाट ट्राभल एजेन्टहरू न्यूनतम लाभ मार्जिनमा मात्र टिकट बिक्री गर्न निर्देशन आईपीएल मार्च १४ देखि, फाइनल २५ मेमा हुने ! ‘निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्नु’ रश्मिका मन्दानाको इन्गेजमेन्टको पुरानो भिडियो भाइरल प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान कम्बोडिया भ्रमणमा जानुअघि सभामुखले भेटे राष्ट्रपतिलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसले जीवनमा दियो मात्रै, आफैले केही लिएन



अ+ अ-

बागलुङ । नेपालमा प्रजातन्त्रको पुन:स्थापनापछि विसं २०४८ मा भएको आम निर्वाचनमा बागलुङको क्षेत्र नं २ मा नेकपा एमालेका तर्फबाट उम्मेदबार थिए– कृष्ण पाठक ।

उनको उम्मेदबारीलाई त्यस समय त्यहाँका तत्कालीन मसाल र अहिलेका जनमोर्चाले हाँसोको विषय बनाएका थिए । मसालले निर्वाचन बहिस्कार गरेका थिए र त्यहाँ अरु कुनै कम्युनिष्ट पार्टीेको अस्तित्व उनीहरुले देख्दैनथे । अनि उनीहरुको आँकलन थियो कि देशभरि अन्यत्रभन्दा त्यो क्षेत्र जनमोर्चाको बाहुल्यजस्तै थियो । उनीहरुको सोचमा त्यहाँ एमाले भन्ने नै छैन भन्ने थियो ।

उता कांग्रेसको त झन् कुरै भएन । जनमोर्चाले त नदेखेपछि कांग्रेसले झन् अरुलाई देख्ने कुरै भएन । जनमोर्चाले निर्वाचन बहिस्कार गरेकाले कांग्रेसको जित सुनिश्चित नै थियो । निर्वाचन जित्यो र कांग्रेसले बहुमत प्राप्त गरेर सरकार नै चलायो ।

तर त्यस चुनावमा उठेका कृष्ण पाठकको दौडधुप भने कांग्रेसको भन्दा कम थिएन । बिहान अमलाचौर भए बेलुका कहाँ हो ठेगान नै नहुने । बिहान बागलुङ बजारमा भए भरे राति बास बस्न बाटाकाचौर हो कि गाजाको धुरी पत्तै नहुने । एकाध अनेरास्ववियू पाँचौँका विद्यार्थी साथमा हुन्थे नत्र चुनाव प्रचारकै लागि साथ लागेर हिँड्ने समेत कोही थिएन । उनको यो दौडधुप देखेर निर्वाचनका आखिरी दिनतिर कांग्रेसहरु टिप्पणी गर्ने गर्दथे– यो दौडधुप किन होला ? कतै चुनाव जित्न त होइन ? उनीप्रतिको ब्यंग्यात्मक टिप्पणी थियो यो ।

तर पाठकको लगावमा कुनै कमी आउँदैनथ्यो । उनी सबैको यथोचित सम्मान गर्थे र आफ्ना एजेण्डा लिएर निरन्तर लागिरहन्थे । चुनाव बहिस्कार गरेका जनमोर्चाको सांघातिक अवरोध होस् कि कांग्रेसको छेकबार, उनको निरन्तरता कायमै रहन्थ्यो । उनी निडर थिए, निर्धक्क आफ्ना कुरा राख्थे । चाहे प्रहरी होस् या प्रशासन अथवा विपक्षी राजनीतिक दलका नेत कार्यकर्ता ।

उनले आफ्नो विचार अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोग, उपयोग गर्ने गर्दथे । त्यो निर्वाचनमा पनि उनको जित्ने विश्वास त थिएन तर जिल्लाको सो क्षेत्रमा आफ्नो पार्टीको जग बसाल्ने उनको ध्येय थियो । हुनपनि राष्ट्रिय राजनीतिको चर्चा चल्दा त्यस क्षेत्रमा तत्कालीन एमालेको नाम खासै आउँदैनथ्यो । जिल्लामा भए पनि त्यस क्षेत्रमा यो पार्टी भित्र्याउन यसका कार्यकर्ताको जाँगर पनि देखिँदैनथ्यो । तर उनले भित्र्याए । भोलिका दिनमा आफ्नो बायो डाटा बनाउन भन्दा पनि मैले यस क्षेत्रमा आफ्नो पार्टीलाई परिचय गराउने र जग बसाल्ने कामका लागि अघि बढेको हुँ भन्ने थियो पाठकको तर्क । उनी सक्रिय थिए । स्कुले विद्यार्थी हुन् या गाउँ क्षेत्रका युवामाझ जान्थे, आफ्ना धारणाहरु राख्थे अनि कहिले कुन जंगल त कहिले कुन चौरमा पुर्याएर प्रशिक्षण पनि दिन्थे ।

त्यसैले अहिले यो भन्न सकिन्छ कि जिल्लाको यस क्षेत्रमा नेकपा एमालेको जगको ढुंगो भनेको कृष्ण पाठक नै हुन् । घर बाहिरबाट हेर्दा राम्रो, चिटिक्क देखिन्छ । तर त्यो घरलाई धान्न, थाम्न त्यसको जगमा रहेको ढुंगाले कति भार बोकेको हुन्छ ? यसको अनुमान मात्र लगाउन सकिन्छ । जुनकुरा बाहिरबाट हेर्दा देखिँदैन, भोगिँदैन । किनभने जगको ढुंगा कुनै पनि भवन या संरचनाको आसनमा हुन्छ र भार वहन गरेर बसिरहेको हुन्छ । अनि पो त्यो संरचनाले बाहिरी स्वरुप धारण गर्न सकेको हुन्छ । तर बिडम्बना त यो छ कि आसनमा बसेर त्यो जगको ढुंगाले बहन गरेको भारको लेखाजोखा भने कमै हुन्छ । संरचना या भवनको मूल्यांकन बाहिरको आकृति र बनावट हेरेर मात्र गर्ने गरिन्छ, घर थाम्ने भित्री ढुंगोको भूमिका कमैले मात्र खोज्दछन् ।

बागलुङ जिल्लाको यस क्षेत्रमा एमालेको बीउ रोप्न, हुर्काउन, बढाउन र यहाँसम्म ल्याउन के कति भार थेग्नुपर्यो भन्ने तथ्य पाठकलाई मात्र थाहा छ । अहिले भवन नै बनिसकेपछि त त्यसको मूल्यांकन र प्रशंसा गर्न आउनेहरु धेरै हुन्छन् र छन् पनि । तर त्यो भवन यहाँसम्म ल्याउनका लागि उनले खर्चिएको जीवनको खासै मूल्यांकन हुदैन ।

नेपाली समाजमा पछि फर्केर हेर्ने चलन कमै छ । एक थान संविधान ल्याउन दुई दुई पटक संविधान सभाको निर्वाचन, ६०१ जना सदस्य, बीस अर्ब रुपैयाँ भन्दा बढी खर्च लागेको हामीले नै देख्यौँ । तर ३० वर्षे पञ्चायती व्यवस्था फालेर ल्याएको प्रजातान्त्रिक व्यवस्थामा पञ्चायती व्यवस्थाको नाम निसानै शासन व्यवस्थामा कतै नराखी, राजालाई संविधानभन्दा तल राखेर २०४७ सालको संविधान जारी गर्न तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्राईलाई कति गाह्रो परेको थियो होला ? यस कुराको मूल्यांकन छैन अहिले । अहिले त त्यो अप्ठेरो परिस्थितिको अनुमान नै गर्दैन नेपाली समाज । तर त्यही संविधानको जगमा अढेर अहिलेका उपलब्धि लिन भने जो पनि तयार छ, अझ तम्तयार हुन्छ ।

त्यसैले जिल्लामा एमाले पार्टीलाई यहाँसम्म ल्याउन गोविन्द अधिकारीको साथमा साथ मिलाउने कृष्ण पाठकहरुको भूमिका पनि अहिले जिल्लामा कमै खोजिन्छ होला । पार्टीमा को कहिले लाग्यो, सिनियर जुनियर को हो भन्ने त हुन्छ नै होला । तर पनि भूमिका र सक्रियताको खोजी र त्यसको मूल्यांकन कमै भएको देखिन्छ । यदि त्यसो हुने भइदिएको भए आज कृष्ण पाठक गण्डकी प्रदेशको प्रदेशसभा सदस्य मात्र हुदा पनि यहाँका बासिन्दा यतिधेरै खुसी हुने दिन आउँदैनथ्यो होला । प्रदेशसमा अरु धेरै सदस्य निर्वाचित भएता पनि यतिखेर सामाजिक सञ्जालमा कृष्ण पाठक बढी छाएका छन् । यसको उद्देश्य अरु केही नभएर उनीप्रति यहाँका जनताले अभिव्यक्त गरेको सद्भाव मात्र हो ।

भनिन्छ, नेपाली समाज सय भारी खर काट्ने र सयभारी खरको कुन्युमा आगो लगाउने व्यक्तिको एउटै मूल्यांकन गर्ने समाज हो । हामीले अनुमान मात्र गर्न सक्छौँ कुनै पनि व्यक्तिलाई सय भारी खर काट्न कति समय र मेहनत लाग्छ भनेर । तर सयभारी खरको कुन्युमा आगो लगाउनलाई केवल सलाईको एउटा काँटी भए पुग्छ । यी दुई काम गर्ने व्यक्तिको एउटै मूल्यांकन गर्ने परिपाटी नेपाली समाज र अझ बढी त नेपाली राजनीतिमा हुन्छ । अनि त्यस्तो समाज र राजनीतिक परिपाटीबाट कृष्ण पाठक पनि अछुतो रहने कुरा भएन । सायद, यसैकारण पनि उनको राजनीतिक जीवन र सामाजिक सक्रियताको मूल्यांकन हुन नसकेको होला ।

उनको पदमाग्ने बानी पहिल्यैदेखि थिएन र छैन । भएको भए एमालेका राष्ट्रिय नेताहरुसँगको पहुँच उनीबाट धेरै टाढा पनि थिएन । बरु अरुलाई बनाउनेमा लाग्छन् उनी । उनैले खनेको बाटोभएर पहिलेको अमलाचौर गाविसका अध्यक्षमा दाजु खेमप्रकाश पाठक र अहिलेको बागलुङ नगरपालिका वडा नं १२ का वडाध्यक्ष अर्का दाजु गुरुदत्त पाठक बने । त्यसो त भतिज डा. सूर्य पाठक पनि यसै क्षेत्रबाट एमालेको सांसद भइसकेका छन् । सायद उबेलाको कृष्ण पाठकको लगाव र परिश्रमले यी फलहरु प्राप्त भएका हुन् भन्दा अत्युक्ति हुदैन होला । अघिल्लो संसदीय निर्वाचनमा उनी आफूलाई टिकट माग्न नेताकहाँ गएनन् बरु विदेशी विश्वविद्यालयबाट विद्यावारिधी हासिल गरेको र युवा डा पाठकलाई सांसद बनाउनका लागि उनी लागे ।

त्यसैले त जिल्ला या स्थानीय स्तरमा गाविसमा जेजस्तो सुकै समस्या अप्ठेरो परेपनि यहाँका स्थानीय जनताले पहिले सम्झिने कृष्ण पाठक नै हुन् । उनलाई भनेपछि मात्र आफ्ना गाह्रो साह्रो बल्ल अरुलाई सेयर गर्ने गर्दछन् यहाँका स्थानीय जनता । फेरि यो कुनै एमालेका कार्यकर्ताले मात्र नभएर सबै पार्टीकाले हो । आफूले गर्ने र हुने काममा उनले स्थानीय स्तरमा पार्टी हेर्दैनन् । जनतालाई परेका समस्या र पिरमर्का सबै एकै हुन् त्यसमा पार्टी हेर्नु हुदैन भन्ने उनको मान्यता थियो र छ ।

यस्तै अर्काे एउटा उदाहरण हुनसक्छन् कांग्रेसको बागलुङका नेता भिम शिरिष । उनी त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति हुँदा पनि कहिल्यै आफ्नो संगठन नेवि संघको मात्र भन्दैनथे । सबै विद्यार्थीका काम गरिदिन्थे । त्यसैले त विश्वविद्यालयमा अरु सबै पद अन्य विद्यार्थी संगठनले जित्दा पनि सभापति उनैले जितेका थिए । राजनीति र समाजसेवा एकै पटक कसरी गर्न सकिन्छ भन्ने यो एउटा उत्कृष्ट उदाहरण हो । त्यही उदाहरणका स्थानीय पर्याय हुन् कृष्ण पाठक । जसलाई हरेक राजनीतिकर्मीले अनुशरण गर्न सक्दा राम्रो हुन्छ । आखिर राजनीतिक समाजको विकास र स्थानीयको हितका लागि हो भन्ने उदाहरण पनि उनीबाट सिक्न सकिन्छ ।

लाग्छ, कतिपय मानिसहरु यसै पनि खुसी हुन्छन् । किनभने उनीहरुले दुखलाई खासै दुख ठान्दैनन् मन बुझाएरै हिँड्छन् । तर अरु कतिपय मानिस यस्ता छन् कि उनीहरु यसै दुखी हुन्छन् । किनभने उनीहरुले सुखलाई पनि सुख हो होइन थाहा पाउँदैनन् अर्थात सुखलाई सुख नै ठान्दैनन् । किनभने उनीहरु थप अर्थात् असिमीत खुसीको अनन्त यात्रा या पर्खाइमा हुन्छन् । जसलाई चित्तबुझ्दो खुसी जीवन भर नै हात लाग्दैन । किनभने पेटभरिको खुसी मानिसले जसोगरे पनि पाउन सक्दैन, जब मानिस खुसी नै हुदैन ।

तर सानै खुसीलाई पनि खुसी ठानेर रमाउने एकजना सामाजिक पात्र हुन् कृष्ण पाठक । उनको जीवन जिउने कला देख्नेहरु यही भन्छन् । किनभने आफ्नो साठी वर्र्षे उमेरमध्ये आधाभन्दा बढी त उनले राजनीतिमा लागेरै सकेका छन् । अहिले यो उमेरमा उनले पाएको भनेको यही प्रदेशसभा सदस्य हो । तर उनी खुसीसाथ रमाएको देख्नेहरु पनि खुसी हुन पाएका छन् । यसअघि कुनै राजनीतिक या लाभको पद नपाएका उनी कहिल्यै निराश भएनन्, देखिँदैनन् । अपार सम्पत्ति जोडेर विलासिता अपनाउँ भन्ने उनको मनमा कहिल्यै पैदा भएन भन्ने तथ्य उनको हासीखुसी जीवन जिउने कलाले पनि धेरै बोलिरहेको छ । उनका धेरै साथीहरु युरोप अमेरिकामा स्थायी बसोबास नै बसाएका छन् । उनको साथमा अहिले आफ्नो परिवार पनि छैन, अष्ट्रेलियामा छन् । उनको परिवार अध्ययन र रोजगारीकै लागि विदेश छ । तर आफ्नो परिवारलाई जागिर आदिका लागि उनले कहिल्यै नेताको ढोका ढकढकाएनन् । पाठकका लागि पनि युरोप अमेरिका तथा अष्ट्रेलियाको ढोका बन्द त होइन तर उनी स्वदेशमै रमाउन चाहे । स्वदेशमा पनि उनी आफ्नै गाउँघर बजारमै बस्ने गर्दछन् ।

गाउँ अमलाचौरमा एउटा सानो पैत्रिक सम्पत्तिको घर छ भने बागलुङ बजारमा चार दशकभन्दा पनि पुरानो स्थायी प्रकृतिको डेरा छ । विसं २०१९ माघमा बागलुङको अमलाचौरको एक कुलीन परिवारमा जन्मिएका पाठक यहीँको माटोमै लगभग ६० वशन्त पार गर्दैछन् । तर अरु निकै ठूलो भनिने पद प्रतिष्ठा या धन कमाएकाहरुको भन्दा उनको मुहार झन् धेरै चम्किलो छ र खुसी छन् ।

विसं २०४८ को निर्वाचनमा उनले धरौटी फिर्ता गर्न सके । त्यस अवसरमा उनले अमलाचौरको एक दुकानमा दाजुभाइहरु जम्मा गरे र सुजीको हलुवाको पाटी खुवाएका थिए । उता कांग्रेसका ठाउँ ठाउँमा बिजयी जुलुशहरु थिए अनि विभिन्न ठाउँमा खसी ढलाइएका थिए । यता उनले भने आफूले धरौटी फिर्ता गराउन सक्दा सुजीको हलुवा खुवाएर पाटी मनाएउँदाको खुसी बडो आकर्षक थियो । उनको त्यो बानी अहिले पनि छ । उनलाई खुसी हुन खुसीको ठूलो पहाड चाहिँदैन । यस्तै यस्तै सानातिना खुसीमा पनि उनी आफू र साथीभाइसँग रमाउन सक्छन् ।

पाठकले विसं २०३१ देखि नै नेकपा मसालको विद्यार्थी संघसँग आबद्ध रहेर काम गरेका उनी विसं २०३९ मा त मसालको सेल कमिटीमा संगठित भएका हुन् । यो हिसाब गर्दा पनि साढे चार दशकजति त उनको राजनीतिक जीवन नै हुन आउँछ । यसबीचमा उनको राजनीति बाहेक अर्काे कुनै पेशा छैन र कुनै लाभको पद लिएको अवस्था पनि छैन । के अब यो प्रश्न गर्न सकिँदैन राजनीतिमा पदको हकदार हुनलाई साढे चार दशकभन्दा कति बढी लाग्नुपर्ने हो ? साढे चार दशकसम्म निस्वार्थ राजनीतिमा लागेर समाज सेवा गर्दा पनि सांसद या मन्त्रीको पदका लागि कुनै व्यक्ति वैध हुदैन भने त्यस्तो राजनीतिको परिभाषा कुन राजनीतिशास्त्रले दिने ?

उनी विसं २०४१ मा नेकपा मसाल परित्याग गरेर नेकपा मालेमा प्रवेश गरे । त्यस्तै विसं २०४५ मा राजद्रोेहको मुद्दामा पञ्चायती व्यवस्थाले उनलाई जेल हाल्यो । विसं २०४६ को जनआन्दोलनमा सक्रिय रहेर जेलनेल भोगेका उनी विसं २०४६ मा नेकपा माले जिल्ला संगठन कमिटीको संस्थापन सदस्य रहेका थिए । पछि उनी नेकपा एमालेको पाचौँ, छैठौँ, सातौँ र दशौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि तथा प्रथम विधान महाधिवेशनको प्रतिनिधिमा निर्वाचित भए । विसं २०४८ को संसदीय निर्वाचनमा जिल्लाको क्षेत्र नं २ बाट प्रतिनिधिसभामा उम्मेदबार रहेका उनी निरन्तर तीस वर्षभन्दा लामो समयदेखि सोही पार्टीमा आबद्ध रही क्रियाशील राजनीतिमै छन् ।

उनी २०६२/६३ को जनआन्दोलनमा त्यत्तिकै सक्रिय मात्र रहेनन् तीन तीन पटकसम्म जेल परे र त्यत्तिकै कुटाई पनि खाए । विसं २०६४ सालबाट एमालेको धौलागिरि अञ्चल समन्वय कमिटीको सदस्याको जिम्मेवारीमा रहेका उनी विसं २०७४ मा भएको नेकपा एमाले जिल्ला कमिटी बागलुंगको आठौँ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए । त्यसैगरी विसं २०७८ मा सम्पन्न नेकपा एमालेको नवौँ जिल्ला अधिवेशनमा अध्यक्षको उम्मेदवार भइ पराजित भएका पाठक विसं २०७९ सालबाट नेकपा एमाले गण्डकी प्रदेश कमिटीको सचिवालय सदस्यको जिम्मेवारी प्राप्त गरेका छन् । उनी हालै सम्पन्न प्रदेशसभा निर्वाचनमा नेकपा एमालेको गण्डकी प्रदेशबाट सदस्य निर्वाचित भएका छन् ।

चुनाव या नियुक्तिको बेला आयो कि जिल्लामा तीन जनाप्रति जिल्लाबासीको सद्भाव र चासो रहने गर्दछ । कृष्ण पाठक, किरण पौडेल र हरि आचार्य । कसले कहाँ टिकट पायो भन्ने चर्चाकाबीचमा जिल्लाबासीले सर्वाधिक खोजी गर्ने नाम हुन् यी । उनीहरु फरक पार्टीका हुन् तर जनताको सद्भाव बराबर छ । हरि आचार्य गगन थापालाई त्रिचन्द्रमा विद्यार्थी नेता बनाउने स्ववियु सभापति अनि किरण पौडेल शेरबहादुर देउवाले नेपाली काँग्रेस प्रजातान्त्रिक बनाउँदा नै नेवि संघको महामन्त्रीमा साथ दिएका विद्यार्थी नेता ।

यी तीन पात्रका चेला राष्ट्रिय राजनीतिमा छाइसके तर उनीहरुलाई पार्टीले यथोचित रुपमा स्मरण गर्न नै कञ्जुस्याइँ गर्ने गरेको छ । छ दशक उमेरमा टेक्नै लाग्दा यसपटक पाठकलाई कम्तीमा पनि प्रदेशसभा सदस्यमा चित्त बुझाउनुपर्ने अवस्था पार्टीले सिर्जना गरिदिए पनि आचार्य र पौडेलका हातमा यति पनि लाग्न सकेको छैन । मनमा निराशा छैन तर उनीहरुका साथमा अहिले पनि पार्टीको झोला छँदैछ । लाग्छ, कुनै दिन त राजनीतिमा पनि काम गर्नेको मूल्यांकन होला नि !