८ पुष २०८२, मंगलवार
,
Latest
प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल भद्रकाली पुनःनिर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ ‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थी सङ्गठनहरू स्ववियु निर्वाचन गर्न सहमत, फागुन २८ गते निर्वाचनको मिति प्रस्ताव



अ+ अ-

काठमाडौँ । सबै विद्यार्थी सङ्गठन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन सहमत भएका छन् । त्रिभुवन विश्वविद्यालयले आज गरेको छलफलमा सबै विद्यार्थी सङ्गठन निर्धारित समयमा नै स्ववियु निर्वाचन गराउन सहमत भएका हुन् ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले स्ववियु निर्वाचन गराउने पक्षमा सबै विद्यार्थी सङ्गठनले सहमति जनाएकाले चाँडै नै मिति तोक्ने बताउनुभयो । “स्ववियु निर्वाचन यो वर्ष जसरी नि गराउनुपर्छ भन्नेमा सबै विद्यार्थी सङ्गठनको जोड छ”, उहाँले भन्नुभयो, “अब हामी विद्यार्थी कल्याण परिषद्को बैठक राखेर निर्वाचनको मिति त्रिवि कार्यकारी परिषद्मा पठाउँछौँ ।”

उहाँले चाँडै नै त्रिवि कार्यकारी परिषद्ले स्ववियु निर्वाचनको मिति तोक्ने बताउनुभयो । त्रिविले स्ववियु निर्वाचनको तयारीमा जुटिरहेको बेला आज सबै विद्यार्थी सङ्गठनसँग छलफल गरेको हो । त्रिवि क्याम्पसमा विगत एक दशकदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । प्रत्येक दुई÷दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुन सकेको छैन ।

अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले सबै सङ्गठन स्ववियु निर्वाचनमा एकमत रहेकाले निर्वाचनको मिति चाँडै तोक्ने त्रिविलाई आग्रह गरिएको बताउनुभयो । अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले त्रिविले ल्याएको फागुन २८ गतेको प्रस्तावसँगै फागुन १४ र चैत १४ गते स्ववियु निर्वाचनको मितिमा छलफल भएकोे जानकारी दिनुभयो । “हामी सबै विद्यार्थी सङ्गठन निर्वाचन पक्षमा रहेका छौँ,” उहाँले भन्नुभयो, “त्रिविलाई तीनवटा मितिमध्ये जुन उपयुक्त हुन्छ । सोही मितिमा निर्वाचन घोषणा गर्न भनेको छौँ ।”

खेलकुद निर्देशनालयका निर्देशक अधिकारीले परीक्षा र भर्नालाई असर नपर्ने गरी फागुन २८ गते स्ववियु निर्वाचनको उपयुक्त मिति रहेकाले सोही मिति प्रस्ताव गरिएको बताउनुभयो ।

बैठकका विभिन्न २० विद्यार्थी सङ्गठनका अध्यक्ष सहभागी हुनुभएको थियो । २०६५ साल चैत ६ गतेपछि एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो । त्यतिबेला देशभरि त्रिविका ६२ आङ्गिक क्याम्पसमध्ये रत्नराज्य क्याम्पस (आरआर), जनप्रशासन क्याम्पस सहित उपत्यकामा नौवटा आङ्गिक र उपत्यकाबाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो ।

यस्तै उपत्यकाका १३ क्याम्पस र उपत्यकाबाहिर २३ वटा आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् । स्ववियु निर्वाचन २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ ।