२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हट्ने भयो मध्यपहाडी राजमार्गमा हिलो र धुलो



अ+ अ-

कास्की । माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसका बैकुण्ठ भण्डारी पोखरा आवतजावत गर्न हिलो र धुलोले गर्दा राजमार्गको बाटो छाडेर सराङकोटको फेरो घुम्ने गर्नुहुन्थ्यो । यसरी घुम्नुपर्दा आधा घण्टाभन्दा कमको बाटोमा उहाँलाई पोखरा पुग्न एक घण्टाभन्दा बढी लाग्थ्यो ।

घरमुनिको निर्माणाधीन राष्ट्रिय गौरवको पुष्पलाल (मध्यपहाडी) राजमार्गमा बर्खामा हिलो र हिउँदमा धुलोको समस्याका कारण उहाँले तीन वर्ष दैनिक सिधा बाटो छाडेर सराङकोटको फेरो घुम्नुभएको हो । पोखरा–बाग्लुङ (भूपि शेरचन) राजमार्ग स्तरोन्नति गरी मध्यपहाडी राजमार्गका रूपमा विस्तार गर्ने भन्दै दुई लेनको पक्की सडक भत्काइएको थियो ।

भत्काइएको सडक पुनःनिर्माणमा  विलम्ब हुँदा जिल्लाको पश्चिमी भेगसहित साविकको धवलागिरिका पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङका नागरिक हण्डर र सास्ती खेप्न बाध्य थिए । फराकिलो पारिएको सडक जीर्ण र बर्खायाममा हिलाम्ये हुन्थ्यो ।

साविकको दुई लेन फराकिलो बढाएर छ लेन (३० मिटर फराकिलो) सडक बनाउने योजना रहे पनि भत्काइएका स्थानमा लामो समय काम अघि बढेको थिएन । अहिले भने सडक निर्माण सम्पन्न हुनै लाग्दा सहज भएको छ । फराकिलो र  चिल्लो सडकले आवतजावत सहज मात्र बनेको छैन, सुन्दरतासमेत थपेको छ ।

“हामीले पूरै तीन वर्षसम्म राजमार्गको यात्रा गरेनौँ । पानी परेपछि हिलोले साना सवारी साधन चलाउन सक्ने अवस्था हुँदैन्थ्यो, ठूला सवारी साधनसमेत हिलोमा फस्दा घण्टौँ जाम हुन्थ्यो”, भण्डारीले भन्नुभयो, “अहिले भने सहजरूपमा यात्रा गर्न पाइएको छ, हिलो र धुलोको चिन्ता छैन ।”

उक्त राजमार्गको पश्चिम खण्डअन्तर्गत याम्दीबाट कास्की–पर्वत सिमानाको नयाँपुलसम्म ३७ किमीमध्ये घट्टेखोला–नयाँपुलको २५ किमी सडक पूरै तयार भएको छ । यसैगरी पोखरा महानगरपालिका–२५ याम्दीबाट घट्टेखोलासम्मको १२ किमी सडकको अधिकांश स्थानमा कालोपत्र सकिएर निर्माण अन्तिम चरणमा पुगेपछि  चालक र यात्रुमा खुशी छाएको छ ।
 
गत आर्थिक वर्षमै सम्पन्न गर्ने लक्ष्यसहित याम्दी–घट्टेखोला खण्डमा  काम भइरहेकामा कोरोना भाइरसको महामारी र छिटो मनसुन शुरु भएकाले निर्धारित समयमा हुन सकेको थिएन । याम्दीबाट सुुइखेतसम्म छ किमी र सुइखेतबाट घट्टेखोला छ किमी २०० मिटर सडक दुई खण्डमा गरी ठेक्का सम्झौता भएकामा समग्रमा हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको आयोजनाका इञ्जीनियर अनन्त बरालले बताउनुभयो ।

उहाँका अनुसार बर्खा शुरु भएकाले हाल आयोजनाको काम बन्द भएको र पानी पर्न रोकिएपछि असोजदेखि पुनः शुरु भएर आगामी मङ्सिर भित्रमा सम्पन्न हुनेछ । “गत आवको असारभित्रमा आयोजनाको सबै काम सम्पन्न गर्ने लक्ष्य थियो”, इञ्जीनियर बरालले भन्नुभयो, “तराईका जिल्लामा लकडाउनका कारण गरिएको कडाइले निर्माण सामग्री र विटुमिन समयमै ल्याउन सकिएन, यस वर्ष अर्ली मनसुनका कारणबाट पनि आयोजनाले निर्धारित समयमा पूर्णता पाउन सकेन ।”

याम्दी–सुइखेत खण्डमा सडक कालोपत्रको काम सकिएको छ । सडकमा साइनबोर्ड, मेडियन (डिभाइडर) मा पिसिसी, रोड मार्किङ र पेन्टिङको काम बाँकी छ । सइखेत–घट्टेखोलामा दुई किमी सडक कालोपत्र गर्न बाँकी छ । घट्टेखोला नयाँ पुलसम्मको पक्की सडक केही महिनाअघि नै सकिएको थियो । हाल केही ठाउँमा बर्खाका कारणले सडक भत्किए पनि डिएलपी (डिफेक्ट लियाविलिट पिरियड) आगामी एक वर्षसम्म रहेकाले मर्मतको जिम्मा निर्माण कम्पनीको रहने बताइन्छ । आगामी वर्षमात्र सो सडक निर्माण कम्पनीले आयोजनालाई हस्तान्तरण गर्नेछ ।

विद्युत् प्राधिकरण र खानेपानी संस्थानसँग समन्वय नहुँदा विद्युत्का खम्बा र खानेपानी पाइप समयमै स्थानान्तरण गर्न नसकिएको र पहिलो चरणको कोरोना महामारी रोक्न लागू गरिएको निषेधाज्ञालगायत कारण देखाई आयोजनाको म्याद पटक–पटक थप गरिएको थियो ।

कोरोनाकै कारण पछिल्लोपटक पनि सरकारले समयमै सम्पन्न हुन नसकेका आयोजनाको म्याद थप गर्ने योजना बजेटमै उल्लेख गरेकाले म्याद थप हुने आयोजनाले जनाएको छ । आयोजनाले याम्दी–सुइखेत खण्ड निर्माणका लागि विसं २०७४ भदौमा स्वच्छन्द इलाइट जेभीसँग रु ९८ करोड ७९ लाख ६१ हजार ४१५ मा र सुइखेत–घट्टेखोला खण्ड शर्मा एण्ड कम्पनीसँग रु ९८ करोड १२ लाख ५० हजार ५२९को लागतमा ठेक्का सम्झौता गरेको थियो । घट्टेखोला–नयाँपुलसम्मको ठेक्का दिवा एपेक्स कन्स्ट्रक्शनले पाएको थियो । यसको लागत रु ९६ करोड ७४ लाख ११ हजार १०७ थियो । (रासस, कृष्ण दबाडी)