३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल



अ+ अ-

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता लेखनाथ दाहालले सम्पत्ति छानबिन कानुनअनुसार सबै व्यक्तिमाथि समान रूपमा हुनुपर्ने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता दाहालले राजनीतिक आस्था वा पदका आधारमा चयनात्मक रूपमा सम्पत्ति छानबिन गर्न नहुने बताउनुभयो । उहाँले सरकारले रास्वपाका नेता, पूर्वसैनिक र पूर्वन्यायाधीशबाहेकका व्यक्तिमाथि मात्रै छानबिन गर्ने उद्देश्यले आयोग गठन गरेको दाबी गर्दै उक्त आयोग असंवैधानिक रहेको आरोप लगाउनुभयो ।

सम्पत्ति छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, आन्तरिक राजस्व विभागलगायत राज्यका संवैधानिक तथा कानुनी निकायलाई प्रभावमुक्त भएर काम गर्न दिनुपर्ने उहाँले बताउनुभयो । भ्रष्टाचार वा गैरकानुनी कार्यमा संलग्न जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै उहाँले दोषी प्रमाणित भएकालाई दल वा पदका आधारमा उन्मुक्ति दिन नहुने धारणा राख्नुभयो ।

नेता दाहालले वर्तमान सरकारले सत्तारुढ दलका नेता–कार्यकर्तालाई जोगाएर विपक्षीमाथि मात्रै छानबिनको डण्डा चलाउन खोजेको आरोप लगाउनुभयो । उहाँले गणतन्त्रमा सबै नागरिकमाथि कानुन समान रूपमा लागू हुनुपर्ने बताउँदै चयनात्मक छानबिनको प्रवृत्तिले पञ्चायतकालको झल्को दिएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, “कानूनसम्मत छानबिन गर्ने प्रक्रियामा हामी तयार छौँ । हाम्रो पार्टीका अध्यक्ष प्रचण्ड तत्कालीन प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्ने क्रममा बाटोमा प्रचण्डको नाम भेटिए पनि गिरफ्तार गर्नुस् भन्नुभएको थियो । अनुसन्धानको क्रममा जोसुकै दोषी देखिए पनि कारबाही गर्नुपर्छ ।”

नेता दाहालले सरकारले सञ्चालन गरेको सम्पत्ति छानबिनको प्रक्रिया निष्पक्ष र कानुनसम्मत भए आफ्नो पार्टीले समर्थन गर्ने बताउनुभयो । तर, वर्तमान सरकारको कार्यशैली असंवैधानिक, अलोकतान्त्रिक, गैरकानुनी, स्वेच्छाचारी र निरंकुश बन्दै गएको उहाँको आरोप थियो ।

यसैबीच, नेता दाहालले नेपालको चुच्चे नक्सा हटाउने प्रयास भइरहेको आरोपसमेत लगाउनुभयो । उहाँले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएकाले कसैले चाहँदैमा चुच्चे नक्सा हटाउन नसक्ने बताउनुभयो ।

“लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रो हो, हाम्रै रहनुपर्छ । सरकार आउँछन्, जान्छन् तर नेपालको ऐतिहासिक तथ्य र प्रमाणले पुष्टि गरेको चुच्चे नक्सा हटाउन सकिँदैन,” उहाँले भन्नुभयो ।

उहाँले प्रधानमन्त्री बालेन्द्र साहले गैरजिम्मेवार ढंगले सरकार सञ्चालन गरिरहेको आरोप लगाउँदै कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा हस्तक्षेप गरेर निरंकुश बन्ने बाटोमा लागेको दाबीसमेत गर्नुभयो ।