• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

बागलुङका सबै क्षेत्रमा गठबन्धनको अग्रता



बागलुङ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा यहाँका छ वटै सिटमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन् ।

पछिल्लो मत परिणामअनुसार बागलुङ–१ मा गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसीले पाँच हजार सात सय ६८ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का सूर्यप्रसाद पाठकले पाँच हजार चार सय ४२ मतसहित केसीलाई पछ्याइ रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका खीमानन्द कँडेलले तीन हजार ३६ मत प्राप्त गरि तेस्रो स्थानमा छन् ।

बागलुङ–२ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार देवेन्द्र पौडेलले आठ हजार आठ सय ५७ मतसहित अग्रता कायम गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका मञ्जु शर्मा चालिसेले छ हजार सात सय ६३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेशसभा सदस्यतर्फ बागलुङ–१ (१)मा नेपाली कांग्रेसका उम्मेदवार दीपेन्द्रबहादुर थापाले सात हजार आठ सय ८१ मतसहित अघि छन् । उनलाई सात हजार एक सय १६ मतले एमालेका हिराबहादुर केसीले पछ्याइ रहेका छन् ।

बागलुङ–१ को (२) मा नेपाली कांग्रेसका उम्मेदवार डिल्लीराम सुवेदीले फराकिलो मतान्तरसहित अग्रता कायम गरेका छन् । एमालेका नवराज पौडेलले पाँच हजार एक सय २४ मत प्राप्त गरेका छन् ।

बागलुङ–२ (१)मा पनि गठबन्धनको अग्रता छ । कांग्रेसका जीतबहादुर शेरचनले नौ हजार चार सय ६२ मतसहित स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीलाई पछि पारेका छन् । घर्तीले सात हजार छ सय ३० मत ल्याएका छन् ।

२ को (२) मा कांग्रेसका दोर्ण कुँवर नौ हजार दुई सय ५५ मतसहित अघि छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका लक्ष्मण पुनले छ हजार नौ सय सात मत प्राप्त गरेका छन् । कूल एक लाख ९२ हजार दुई सय २७ मतदाता रहेको यस जिल्लामा एक लाख दुई हजार नौ सय ६३ मत खसेको थियो । मतगणना जारी छ ।