एजेन्सी । स्पेनिस फुटबल ला लिगामा बार्सिलोनाले जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले अल्मेरियालाई २–० गोलले पराजित गरेको हो ।
खेलको ४८ औं मिनेटमा ओस्माने डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए ।
यस्तै, ६२ औं मिनेटमा फ्रेङ्की डी योङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । त्यसपछि खेलमा थप गोल हुन सकेन र बार्सिलोना २–० गोलले विजयी बन्यो ।
यसै खेलबाट बार्सिलोना डिफेन्डर जेरार्ड पिकेले फुटबलबाट सन्यास लिए । घरेलु मैदान क्याम्प नोउमा हजारौं घरेलु दर्शकबीच उनले सन्यासको घोषणा गरे ।
उनी २००८ मा म्यान्चेस्टर युनाईटेडबाट बार्सिलोना आएका थिए । बार्सिलोनाका लागि ६०० भन्दा बढी खेल खेलेका पिकेले आठ ला लिगा, तीन च्याम्पियन्स लिग र सात कोपा डेल रे उपाधि सहित ३० ट्रफी जितेका छन् ।
स्पेनका लागि १०२ क्यापसहित पिकेले सन् २०१८ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । स्पेनले २०१२ को युरोकप र २०१० को विश्वकप जित्दा उनी त्यस टोलीका सदस्य थिए ।