२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रम देउवाको चुनावी यात्राः सातौँ पटक गठबन्धनको गतिलो साथ



अ+ अ-

डडेल्धुरा । राजनीतिक माहोल अनुकूल होस् या प्रतिकूल । जस्तो अवस्थामा पनि २०४८ सालदेखि डडेल्धुराबाट निर्वाचनमा अपराजित यात्रा गरिरहनुभएका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिनदेखि आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा एवं प्रदेशसभाको निर्वाचनका सन्दर्भमा गृहजिल्ला डडेल्धुरामा आयोजना गरिएका चुनावीसभामा व्यस्त हुनुहन्छ ।

सत्ता–गठबन्धन दलका साझा उम्मेदवारसमेत रहनुभएका प्रधानमन्त्री देउवालाई अघिल्लो आमनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)ले चुनौती दिएको भए पनि यसपटक माओवादी केन्द्रको सुदूरपश्चिमको नेतृत्वकर्ता नेता खगराज भट्ट देउवालाई सघाइरहनुभएको छ । गठबन्धनको प्रदेशसभा सदस्यको उम्मेदवार भएर भट्ट आफू पनि चुनावी मैदानमा हुुनुहुन्छ । प्रधानमन्त्री देउवा २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ सालको निर्वाचनमा डडेल्धुराबाट निर्वाचित भइसक्नुभएको छ । उहाँ विसं २०६४ मा कञ्चनपुर ४ र २०७० मा कैलाली– ६ बाट पनि विजयी हुनुभएको थियो । गत २०७४ सालको निर्वाचनमा १६ वटा प्रतिनिधिसभा रहेको सुदूरपश्चिममा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ जित्ने एक्ला नेतासमेत उहाँ हुनुहुन्छ ।

माओवादी नेता भट्ट तीन पटक देउवासित पराजित हुनुभएको थियो । नेपाली कांग्रेस डडेल्धुराका पार्टी सचिव हेमराज चटौतले डडेल्धुराबाट कांग्रेसका उम्मेदवार देउवा बहुमतले जित्ने दाबी गर्नुहुन्छ । उहाँले स्थानीय तहको मतलाई मात्रै आधार बनाउँदा कांग्रेससहित गठबन्धनका प्रदेशका उम्मेदवारलाई जित्न कुनै समस्या नहुने दाबी गर्नुभयो ।

“पालिकाको निर्वाचनमा कांग्रेस एक्लैको २२ हजार बढी, माओवादी केन्द्रको १३ हजारको हाराहारीमा मत हो”, सचिव चटौतले भन्नुभयो, “प्रतिस्पर्धीको सबैको मिलाएर पनि १५ हजार मत देखिन्न ।” उहाँले प्रधानमन्त्री देउवा आइतबार पर्शुराम र आलितालमा चुनावीसभा सकेर धनगढी फर्किने कार्यक्रम रहेको बताउनुभयो ।

उहाँले देउवा डडेल्धुराको उम्मेदवार मात्रै नभई सुदूरपश्चिमको अभिभावक भएकाले पनि यसपटक जिताएर पुनःमुलुकको कार्यकारी पदमा पुग्नेमा आशावादी रहेको बताउनुभयो । देउवासित चुनावी प्रतिस्पर्धामा रहनुभएका कांग्रेस बिपीका कर्ण मल्लले स्थानीय निर्वाचनमा समेत नेकपा एमालेसित चुनावी तालमेल गर्नुभएको थियो । प्रतिनिधिसभाका उम्मेदवार मल्ललाई नेकपा (एमाले)ले सर्मथन गरेको छ ।

एमाले डडेल्धुराका अध्यक्ष प्रकाश साउँदले आफूहरुको समर्थन सुरुबाटै कांग्रेस बिपीका उम्मेदवारलाई रहेको बताउनुभयो । “हाम्रो समर्थन कर्ण मल्ललाई भएअनुसार हामी मसिनो तरिकाले जिल्लाभर मतदातासित मत माग्दै हिँडेका छौँ”, अध्यक्ष साउँदले भन्नुभयो, नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवालाई टक्कर दिने पार्टी र उम्मेदवारको किचलोले उहाँलाई जित्न झन सहज हुने कांग्रेस नेताहरुको बुझाइ छ ।

डडेल्धुराबाट सत्ता–गठबन्धनबाट सुदूरपश्चिम प्रदेशसभा १ मा माओवादी केन्द्रका नेता खगराज भट्ट र २ मा नेपाली कांग्रेसका नेता एवं सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा चुनावी मैदानमा हुनुहुन्छ । यता एमाले र कांग्रेस बिपीको चुनावी तालमेलले डडेल्धुराबाट प्रदेशसभा १ मा पूर्वप्रदेश मन्त्री पठानसिंह बोहरा र २ बाट गजेन्द्रबहादुर शाहीलाई उम्मेदवार बनाएको छ । दुवै एमालेका नेता हुन् । सात वटा पालिका रहेको डडेल्धुरामा स्थानीय तहको निर्वाचनमा पाँच नेपाली कांग्रेस र दुई पालिकामा माओवादी केन्द्र विजयी भएको थियो ।