१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा माओवादी समाजवादीको घोषणापत्र सार्वजनिक



अ+ अ-

काठमाडौं, १८ कात्तिक । कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले घोषणापत्र सार्वजनिक गरेको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि तयार पारिएको घोषणापत्र सार्वजनिक गरिएको हो । पार्टीको चुनाव चिन्ह ‘महिला र पुरुषको तस्बिर’ रहेको छ ।

पार्टीले वैज्ञानिक समाजवाद स्थापनाको लागि जनविद्रोहमार्फत वैचारिक, राजनीतिक, संगठनात्मक, आर्थिक, संघर्ष र अन्तर्राष्ट्रिय आधार तय गर्ने प्रतिवद्धता गरेको छ । वैज्ञानिक समाजवाद स्थापना नभइसकेको संक्रमणकालीन चरणमा सबै राजनीतिक दल, पक्षको स्वामित्व सुनिश्चित् हुनेगरी अग्रगामी राजनीतिक निकासको लागि राष्ट्रिय राजनीतिक जन–परामर्श सम्मेलनमार्फत जनपक्षीय, सर्वदलीय राष्ट्रिय संयुक्त सरकार गठन गर्नेसमेत घोषणापत्रमा जनाइएको छ ।

त्यस्तै, क्रान्तिकारी कार्यदिशा, पार्टी र नेतृत्वको विकासको लागि २ वर्षभित्र आफ्नो पार्टीले ऐतिहासिक कम्युनिष्ट सम्मेलनको आयोजना गर्ने जानकारी दिएको छ ।
पार्टीले १० वर्षे जनयुद्धका शहिदहरुलाई राष्ट्रिय शहिद घोषणा तथा अपांगता भएकाहरुलाई आजीवन निःशुल्क उपचारको व्यवस्था गर्ने, पुर्व जनमुक्ति सेनालाई मासिक २० हजार गणतान्त्रिक भत्ताको लागि संघर्ष गर्ने घोषणापत्रमा उल्लेख छ ।

यसैगरी, शिक्षा, स्वास्थ्य उपचार, स्वच्छ खानेपानी र बिजुली बत्तीको निःशुल्क व्यवस्था गर्ने अठोट पार्टीले लिएको छ । पर्यटन विकास र प्राकृतिक श्रोत साधन, सम्पदा संरक्षण, प्रवद्र्धन, उचित व्यवस्थापन र वितरण गरिने प्रतिवद्धता गरिएको छ । त्यस्तै, राष्ट्रिय पुँजी, उद्योगको संरक्षण र प्रवद्र्धन गर्नेमा जोड दिइएको छ ।

साथै, पार्टीले कृषि उत्पादन सहज विक्रिवितरण र पहुँचको लागि सडक विस्तार तथा खरिद विक्रि केन्द्रहरुको निर्माण र व्यवस्था गर्ने भएको छ ।

१८ वर्ष पुगेका नेपाली नागरिकलाई सैन्य तालिमको व्यवस्था गर्ने, भावी पुस्तालाई निलो आकाश, हरियो चौर र खुल्ला खेल मैदानको सुनिश्चित्ता गर्न पनि विशेष पहल गर्ने पनि आज सार्वजनिक गरिएको घोषणापत्रमा उल्लेख गरिएको छ ।

मजदुरको लागि सामाजिक सुरक्षाको ग्यारेन्टी र निम्न आय भएका जनतालाई महँगीको अनुपातमा दैनिक उपभोग्य वस्तुमा सहुलियत दरमा रासनकार्डको व्यवस्था गर्ने र जेष्ठ नागरिकको गाँस,बास, स्वास्थ्य, सुरक्षा र मनोरन्जनको व्यवस्था गरिने जनाइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कर्णजित बुढाथोकी राष्ट्रविरोधीलाई भोट नदिएर देशलाई बर्बाद हुनबाट जोगाउनुपर्ने जिम्मेवारी जनताको रहेको बताएका छन् । उनले भ्रष्टाचारी र अपराधीलाई लखेट्न, जनताको पक्षमा आधाीबेहरी ल्याउन चुनावमा होमिएको स्पष्ट पारे । देशमा संसदबाट बन्ने कानुनहरु पनि कार्यान्वयन नभएको उनको टिप्पणी थियो ।

संसदवाद र बहिस्कारवाद दुवै क्यान्सरको रुपमा उभिएको भन्दै उनले संघीय व्यवस्था जनताको क्रान्तिकारी व्यवस्था नभएको दाबी गरे । उनले भने,‘हामीले यसबारे बारम्बार भन्दै आएका छौं, संसदवादकै कारणले गर्दा जनताका समस्याका विषयहरु कार्यान्वयन भएका छनैन् ।’

दक्षिणपन्थी यात्रामा हिँडेका माओवादी केन्द्र र एमालेलाई तह लगाउन कम्युनिष्ट एकताको अभियान चलाउँदै आएको उनले बताए । बुढाथोकीले ‘वैज्ञानिक समाजवादको आधार महिला र पुरुषको समान अधिकार’नाराका साथ आफ्नो पार्टीले चुनावचिन्ह महिला र पुरुषको तस्बिर अगाडी सारेको सुनाए ।

उनले मानव समाजको विकासक्रमदेखि चलिआएको महिला र पुरुष रहने र मानव समाजको सर्वाङ्णि विकासको अनिवार्य शर्त नै महिला पुरुषबीचको विभेद हटाउने रहेकोसमेत जिकिर गरे । उनले समानुपातिकमा मात्र महिलालाई नराखी स्थानीय निकायमा दुई अध्यक्ष जसमा एक पुरुष र एक महिलाको संवैधानिक र कानुनी व्यवस्था गर्न प्रस्ताव गरेको समेत सुनाए ।