९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा

खलोले परिवार पाल्न धौधौ

खलोले परिवार पाल्न धौधौ
अ अ+ अ-

बझाङ । मष्टा गाउँपालिका–१ जिन्नाडाकी भट्टी आउजीले ५६ वर्षमा पाइला टेक्नुभयो । उहाँलाई सम्झना भएदेखि उहाँको पाँचदशक जीवन भाग्या (खलो दिने मालिक) कै खेतबारीमा बित्यो । बिहे नहुँदा माइतीका भाग्या र बिहेपछि पहिलाको भाग्यले दिएकै अन्नले अहिलेसम्म पुगनपुग जोहो गर्नुभएको छ ।

जिन्नाडामा भट्टीका चार परिवार भाग्या छन् । हरेक सिजनमा लगाउनेदेखि भित्र्याउनेसम्म गरेको कामबापत सिजनल खलो पाउनुहुन्छ उहाँ । खेतीको कामबाहेक अन्य समयमा भाग्यका कपडा सिलाउने उहाँलाई कतै जाने फुर्सद पनि छैन । “भाग्याको काम नगरे खानै पाइँदैन”, उहाँले भन्नुभयो, “फुर्सदै हुँदैन कता जानु ? जति काम गर्न सक्यो त्योअनुसारको खलो पाइने हो ।”

गाउँमा सबैभन्दा ठूलो परिवार पनि भट्टीकै हो । पछिल्लो समय छोराहरू परदेशी हुन थालेपछि घरमा दुई नातिनातिनाका साथ आउजी दम्पती मात्रै हुनुहुन्छ । “मेरा २० जनु कविला (परिवार) हौँ”, भट्टीले भन्नुभयो, “घरमा खानलाई नै नपुग्ने भयो । नातिनातिनासहित छोराबुहारी देश (भारत) गए । अहिले उतैबाट दिएको पैसाले घर खर्च चलाएका छौँ ।”

भट्टीको भाग्याप्रति सोच सकारात्मक नै छ । “सधैँका वर्ष भाग्याको बाली फलेअनुसार खलो पाइन्थ्यो । यो पटक भने एक डालो (निगालाबाट बनेको छाप्रो) मात्रै गहुँ पाइयो । धान पनि खासै राम्रो होला जस्तो छैन ।” उत्पादन भए भाग्याले आफूलाई सधैँ खुसी पार्ने गरेको उहाँले बताउनुभयो । “उहाँले पनि भए पो दिने, नभए के दिन्थे र ?” उहाँले भन्नुभयो ।

भट्टीजस्तै समस्यामा हुनुहुन्छ जिन्नाडाकै मीना आग्री । उहाँलाई पनि भाग्याले दिएको खलोले नै परिवारको पेट भर्नुपरेको छ । वर्षभरि काम गर्दा पनि दुई महिनालाई खान नपुगेको उहाँको गुनासो छ । “मेरो त भाग्या पनि एकै परिवार छन्”, उहाँले भन्नुभयो, “भाग्याका मौ सबै तराई झरिसके । यता एकै परिवारले दिएको खलोले पुग्दैन ।”

आग्रीका अनुसार जिन्नाडामा दलित समुदायका घरबाहेक जमिनको टुक्रा छैन । “जिन्नाडामा अगाडिको पुस्ता आएर यतै बसेछन्”, उहाँले भन्नुभयो, “अहिले कतै जाने ठाउँ छैन । खाना माना पनि पुग्दैन । अवस्था पहिलेको भन्दा गरिब हुँदै गएको छ ।”

जिञ्जाडाका दलित समुदाय त्यहाँका गैरदलित समुदायमै आश्रित छन् । घरबाहेक उनीहरुसँग न उत्पादन गर्ने जमिन छ, नत हिँड्ने बाटो नै । वर्षभरि भाग्याको खेती गरेको एक कट्ठा धान र एक सुप्पो ९बोरामा एक चौथाई० गहुँबाहेक केही पाउनुहुन्न उहाँहरू । “भाग्याको खेतमा गहुँ तथा धान छर्ने, गोडमेल गर्ने, काट्नेसम्म सहयोग गर्नुपर्छ, वर्षभरि लुगाकपडा सिलाउनुपर्छ । त्योबापतको खलो ९अन्न० पाउँछौँ”, मीनाले भन्नुभयो, “वर्षभरि एक बोरा धानले कसरी चल्ने रु” गत वर्ष त गरिब भनेर स्थानीय राम थापाले एक÷एक बोरा चामल दिएको उहाँले बताउनुभयो ।

आर्थिक अवस्था कमजोर हुँदा पढाई छोड्दै

जिञ्जाडाको दलित समुदायबाट सबैभन्दा बढी पढेका भट्टीका छोरा सुरेश आउजी नै हुनुहुुन्छ । उहाँ १२ कक्षा पढेर नेपालमा रोजगारी नपाएको भन्दै भारत जानुभयो । एघार परिवार रहेको दलित समुदायमा केही युवाले माध्यमिक तह उत्तीर्ण गरेर पनि परिवार पाल्न भारत हानिनुभयो । “सबैभन्दा बढी पढेको मेरै छोरा हो”, भट्टीले भन्नुभयो, “१२ कक्षापछि बढी पढ्न क्याम्पस टाढा भए । पढाई खर्च पुगेन । जागिर कतै पाएन, अनि दिल्ली गयो ।” अहिले सुरेशको कमाइका केही अंश नै आफूले चामल किन्ने गरेको उहाँले सुनाउनुभयो ।

सुरेशपछि पढ्दै गरेका गाउँघरका आठ/१० जना किशोरले नै पढाई छाडेर भारत गए । सानो उमेरमै विवाह गर्ने र जीविकोपार्जनका भारतको मजदुरीमै उनीहरूको दिनचर्या हुन थाल्यो । मीनाका देवर, भतिजा पनि ६/७ कक्षामै पढाई छाडेर मजदुरीका लागि भारत पसेको उहाँले बताउनुभयो ।

शिक्षाको यति ठूलो समस्या हुँदा पनि सरकारी तथा गैर सरकारी निकायले चासो नै दिएका छैनन् । “गाउँमा आउने सबैलाई शिक्षा, स्वास्थ्य खानेपानीको समस्या सुनाउँछौँ । तर सम्बोधन कतैबाट पनि हुँदैन । पालिकामा गएर आग्रह गर्दा पनि बेवास्ता भयो”, मीनाले भन्नुभयो ।

कुवाको पानीकै भर

जिञ्जाडामा दलितभन्दा गैरदलित समुदायको सङ्ख्या बढी छ । थापा, रोकाया, अयडी, खाती र विष्ट समुदाय बस्छन् । तर, गाउँमा गैरदलित समुदायमा खानेपानीका लागि एउटा धारा छ भने दलित समुदाय कुवाकै भरमा छ ।

गैरदलितले डाँडाबाघको पानी ल्याएका छन् । त्यो दलित समुदायलाई भने छुन पनि बन्देज गरेको छ । देउता लाग्ने भन्दै डाडाँबाघबाट बग्ने पानी छुनसमेत नदिने गरेको पिङ्की आउजीले बताउनुभयो । “हामे डाँडाबाघको पानीसमेत छुन पाइँदैन”, उहाँले भन्नुभयो, “हामुले पानी खाने कुवा बाजेकै पालाको हो ।”

डाँडाबाघतिर जानै नपाउने गरेको उहाँले बताउनुभयो । “मन्दिरको पानी भन्दै त्यो ठाउँमा जानै पाइँदैन । फोहर बगाएको पानी कसरी खानु । कुवाले जोगाएको छ”, उहाँले भन्नुभयो । वडाध्यक्ष रामचन्द्र रोकाया भने जिन्नाडामा अघिल्लो कार्यकालमा केही नआएको र अहिले सबै पूर्वाधारका लागि बजेट छुट्याएको बताउनुहुन्छ । “उहाँहरूका लागि उहाँहरूका समस्या सबै बुझेको छु । सक्दो समाधान गर्नेछु”, उहाँले भन्नुभयो ।

उहाँले नगरपालिकाको कार्यक्रममा आउजीको प्रतिनिधित्व आफूले गरेको बताउनुभयो । जिञ्जाडाका महिलाकै अगाडि उहाँले भन्नुभयो, “तपाईंहरुको प्रतिनिधित्व गरेर म यहाँ आएको छु । तपाईहरूकै समस्या राख्नेछु । तपाईहरू धैर्य हुनुहोस् ।”

जिञ्जाडाका दलित समुदायको मुख्य समस्या पानी नै रहेछ । त्योसँगै बाटोघाटो, शौचालय, बिजुलीको समस्या छँदैछ । स्वच्छ पानी त त्यो समुदायमा कुनै पुस्ताले पनि खान पाएका छैनन् । “जमिन हेर्ने हो भने घर भएको ठाउँभन्दा बढी छैन”, मीनाले भन्नुभयो, “हिँड्नलाई अरूको खेतको डाली हुँदै जानुपर्छ । पानी पिउनलाई किरा फट्याङ्ग्राले पौडी खेलिरहने कुवाको खानुपर्छ । गैरदलित समुदायको धारामा छुनसमेत पाइँदैन ।” राज्यले आफूलाई नहेरेको उहाँहरूको गुनासो छ । रासस