१३ भाद्र २०८३, शनिबार
,
Latest
‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीका बाढी पीडितको बिचल्ली



अ+ अ-

कैलाली । कैलालीमा बुधबार रातिदेखिको अविरल वर्षापछि बाढीको खतरा बढेको छ । कर्णाली नदीमा पानीले खतराको तह पार गरेको छ । जल मापन केन्द्र चिसापानीको गेज रिडर पार्वती गुरुङका अनुसार कर्णाली नदीमा पानीको सतह बढ्दै गएकाले तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ । वर्षा निरन्तर हुनुका साथै चिसापानीमा पानीको सतह बढ्दै गएकाले जोखिम क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्न अपिलसमेत गरिएको छ । कर्णालीमा पानीको सतह १०।८ पुगेमा खतरा तह पार भएको मानिन्छ ।

कर्णाली नदीको पानी रानीकुलामा पसेपछि रानीकुला भरिएको छ । रानीकुला बस्तीमा पसेपछि जानकी गाउँपालिका र टीकापुर नगरपालिकाका सयौँ घर डुबानमा परेका छन् । कर्णालीमा बाढी बढ्दा टीकापुर नगरपालिका, जानकी गाउँपालिका, भजनी नगरपालिका प्रभावित हुने गरेका छन् । जानकी गाउँपालिकाको वडा नं ९ पाताभारमा बाढी पसेपछि सात परिवारलाई राष्ट्रिय मावि पाताभारमा राखिएको छ । रानीकुलामा पानीको बहाव बढेकाले वडा नं ९ कै धनुवाफाँटाका १८ घर छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । कुन्तीका बासिन्दालाई अरुणोदय मावि खैरीफाँटामा सारिएको छ । गाउँपालिकाले नदी बढ्दै गएकाले कुन्ती र मूतियाका नागरिकलाई सुरक्षित स्थानमा सर्न सूचना गरेको गाउँपालिकाले जनाएको छ ।

रानीकुलामा आएको बाढीले टीकापुर नगरपालिका वडा नं १ को शक्तिननगर, वडा नं २ को विजयनगर र वडा नं ५ को वसन्ता, मनिकापुर, नुक्लीपुरका घरमा बाढी पसेको छ । वडा नं ८ का वनगाउँ, फाँटा, बञ्जरियाका घर डुबानमा परेका बताइएको छ । टीकापुर–५ को शाहीपुरमा रहेको तटबन्ध फुट्ने खतरा रहेकाले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारू बताउनुहुन्छ । “बाढी आउने जोखिम बढ्यो, तल्लो क्षेत्रका नागरिक सार्ने काम सुरु गरेका छौँ, सबैलाई रातिको समयमा घर छाडेर सुरक्षित स्थानमा बस्न आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो, “अब एकापसमा सहयोग गर्ने हो, सुरक्षित रहने काम गरौँ ।”

कर्णाली नदीले खतराको तह पार गरेकाले जानकी गाउँपालिका जोखिममा परेको छ । पालिकाका तटीय क्षेत्रका नागरिकलाई सुरक्षित राख्ने काम भइरहेको गाउँपालिका अध्यक्ष गणेश चौधरी बताउनुभयो । “कर्णाली नदी तटमा रहेका नागरिकलाई सुरक्षित राख्न पालिकाले सबैलाई सूचना गरेको छ । प्रहरी तथा उद्धारमा खट्ने सबै संयन्त्रसँग समन्वय भइरहेको छ”, उहाँले भन्नुभयो, “बाढी पसेमा क्षति हुन्छ ।”

प्रमुख जिल्ला अधिकारी किरण थापा तटीय क्षेत्रका पालिका प्रमुख, वडाध्यक्षसँग समन्वय भइरहेको र सुरक्षा निकायका सबै तह तयारीमा रहेका बताउनुभयो । “हामीले नदीले खतरा तह पार गरेपछि सम्बन्धित पालिकाका प्रमुखसँग सम्पर्क गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “नदी फुटेमा बस्ती सखाप हुने जोखिम छ । तटबन्ध भइरहेका ठाउँमा नदी फुट्ने खतरा छ । त्यस क्षेत्रका नागरिकलाई सुरक्षित सर्न भनेका छौँ ।”

भजनी नगरपालिकाको पथरैया नदी गाउँ पसेपछि सय बढी परिवार हुलाकी सडकमा तीन दिनदेखि बसिरहेका छन् । हुलाकी सडकमा बसिरहेकाहरू भोकभोकै वस्तुभाउसहित बस्नुपरेको छ । सडकमा बसेकाहरू निरन्तरको वर्षाका कारण चिसो तथा अन्य स्वास्थ्य समस्यासमेत सुरु भएको बताइएको छ । भजनीका स्थानीय जयप्रसाद ढुङ्गानाले सडकमा बसेकाहरूको बिचल्ली भएको बताउनुभयो । उहाँले भोकभोकै पानीमा भिज्दै बाढीपीडित दिन काटिरहेका बताउनुभयो । बाढीले भजनीमा सयौँ परिवारका घरखेत डुबानमा पर्नुका साथै भएका अन्नपात र लुगाकपडा भिजेर नष्ट भएका छन् । कर्णाली नदी अझै बढ्दै गएमा मोहना नदी थुनिने र भजनी नगरपालिका सबै डुबानमा पर्ने खतरासमेत बढेको छ । रासस
–––