२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.26

Wind: 3.09

Humidity: 77

तपाईं के खोज्दै हुनुहुन्छ ?

न ढोल बजेको सुनिन्छ, न झिझियाको स्वर



अ+ अ-

महोत्तरी । ‘न ढोल बजेको सुनिन्छ, न झिझियाको स्वर!’ मधेशको प्राचीन मिथिला क्षेत्रमा पर्व डाक्ने आफ्नै स्थापित परम्परा छन् । पछिल्लो समय पर्वविशेषका पुराना लोकपरम्परा हराउँदै गएका छन् । दसैँ सुुरु हुनासाथ नगर/गाउँ बस्तीमा बज्ने ढोल र बस्तीबस्तीमा गरिने झिङ्झिया नृत्य देखिन छाडेपछि राष्ट्रिय महत्वको यो पर्वमा स्थानीय लोकपरम्परा हराउँदै गएको भान भएको हो ।

घटस्थापनाकै दिन सन्ध्याकालमा प्रत्येक बस्तीमा चमार मुखिया काँधमा बडेमाको नगरा भिरेर त्यसलाई बजाउँदै ‘दसैँको ढोल’ भन्दै घुम्दथे । तिनका पछि दौडने स–साना नानीको ताँती लाग्थ्यो । ढोल बजेको सुन्नासाथ दसैँं लागेको भनक दिने यो लोकपरम्परा अब देखिन,सुनिन छाडेको छ । “गाउँघरमा अब न ढोल बज्छ, न झिझिया नै देखिन्छ । ” भङ्गाहा नगरपालिका–३ कटैया बस्तीकी ५० वर्षीया चन्द्रकला यादव भन्नुहुन्छ, “दसैँं पर्व लागेजस्तो नै बुझिन्न ।” दसैँ सुरु भएको चार दिन भइसक्दासम्म बस्तीमा ढोल नबजेको र राति झिझियाको लय सुन्न नपाइएको उहाँको भनाइ छ ।

त्यसैगरी नवरात्र सुरुआत भएकै दिन मिथिला क्षेत्रमा घन्कने झिझिया गीत र त्यसको तालमा जादुमय तरिकाले नाच्ने नृत्याङ्गनाको समूह पनि अब पातलिँदै गएको छ । ‘तोहरे लागि झिझिया बनैली हो बरमबाबा..!’ को रागले सुनसान रातमा बस्तीका सडक हुँदै ग्रामदेवता ९ब्रम्हस्थान०स्थलमा पुगेर बडा दसँैंमा मिथिलानीहरुले सुरिलो भाखामा गाउँदै फनफनी आपूmलाई घुमाएर नाचेको देखाउने यो प्राचीन तान्त्रिक नृत्य अब देखिन छाडेपछि बुढापाका मैथिल (मिथिलाका बासिन्दा) आफ्नो मौलिकता हराउँदै गएको भन्दै चिन्ता जनाउँछन् ।
“अब खै हाम्रो पर्व परम्परा भन्ने के रहला र रु दशहारा (दसैँ) मा न ढोल बज्छन्, न झिझियाकै स्वर सुनिन्छ” मिथिलाका विशिष्ट मानिने यी लोकपरम्परा हराउँदै गएको बताउँदै मटिहानी नगरपालिका–७ का ज्येष्ठ नागरिक ८५ वर्षीय बिन्देश्वरीप्रसाद मण्डल भन्नुहुन्छ, “हाम्रो जनजीवनसँग जोडिएका लोकपरम्परा भावी सन्तानलाई दन्त्यकथा झैँ सुनाउनुपर्ने दिन अब धेरै पर छ झैँं लाग्दैन ।”

महोत्तरीसहितका मिथिलामा दसैँं पर्वको नवरात्र सुरु भएसँगै बस्तीका घर/घरैजसो ‘दसँैं के ढोल’ भन्दै चमार नाइकेले बजाउने ढोल र राति महिलाले सामूहिक रुपमा गीत गाउँदै नाचिने झिझिया देख्न छाडिएपछि मण्डलजस्तै यसभेगका सर्वसाधारणले चिन्ता जनाएका छन् । “बाबु,पुराना परम्परा हराउँदै गए, अब चिन्ता लाग्दैछ, अब के पहिचान रहला ।” बर्दिबास नगरपालिका–९ पशुपतिनगरका ८० वर्षीय नथुनी महतो भन्नुहुन्छ, “दशहारामात्रे नई भ आन पावैनके परम्परा सेहो टुइट रहल देखैछी” –दसैँमात्र नभएर अन्य अवसरका परम्परा पनि देखिन छाडेकाछन्। फागु पर्वमा एक महिना पहिलेदेखि हुने फागु गीतको रौनक र वसन्त उत्सव परम्परा पनि देखिन छाडेको महतोको चिन्ता छ ।

गाउँनगर बस्तीका पाका चमार जातिका अगुवा बुढ्याँइले हिँडडुल गर्न छाडेर नयाँ पुस्ताका चमार युवाले पुरानो थिति नअँगालेपछि अब दसैँको ढोल बज्न छाडेको हो । “जहिलेसम्म शरीरले साथ दियो, रमाइलो मानेर ढोल बजाउँथे, अब छोरा÷नाति ढोल बजाउन चाँहदैनन्, के गरौँ । ” भङ्गाहा–३ थारुटोल बनराका ७० वर्षीय चमार समुदायका अगुवा मञ्जित राम चमारले भन्नुभयो, “दलित समुदायभित्रको चमार जातिका नयाँ पुस्ताका किशोर र युवा रोजगारीका लागि भारत र अन्य अरब राष्ट्र जान थालेपछि पुख्र्यौली रीतिथिति र पेसा थाम्ने कुरा ओझलिएको चमार जातिका पाका उमेरका अगुवाको समान भनाइ छ ।”

त्यसैगरी असुर प्रवृतिविरुद्घ सात्विक प्रवृति र असत्यमाथि सत्यको विजयको प्रतीकका रुपमा मनाइने दसँैं पर्वमा झिझिया नृत्य मिथिला क्षेत्रको प्रमुख आकर्षण रहँदै आएको थियो । ‘‘दसँैं लागेपछि प्रत्येक रात बस्तीका महिला सहभागी हुने झिझिया नृत्य पछिल्ला केही दशकयता सुनिन, देखिन छाडेको छ” महोत्तरी जिल्लाकै रामगोपालपुर नगरपालिकाको टेङर बस्तीका पुराना राजनीतिक कार्यकर्ता गणेशप्रसाद यादव भन्नुहुन्छ, “अब यसबारे नयाँ पुस्ताले चासो राख्नुपर्छ ।” पछिल्ला केही वर्षयता गाउँ÷नगर बस्तीमा डिस्को बाजासँगै कर्कस स्वरमा बजाउन थालिएको गीत र त्यसको तालमा उफ्रदै नाच्ने जमातप्रति यादवले व्यङ्ग पनि गर्नुभयो ।

दसँैं लागेपछि अघि सत्य युगमादेवी दुर्गाबाट पराजित भएका दुष्ट आत्मा टोल बस्तीमा प्रवेश गरेर सर्वसाधारणलाई दुखः दिन सक्ने रुढी विश्वासका आधारमा त्यस्ता आत्मालाई प्रवेश गर्न नदिन मिथिलानीले राति जाग्राम रही ग्राम देवतालाई पुकारा गर्दै गाउने गीत र नृत्यलाई झिझिया भनिन्छ ।

असङ्ख्य स–साना प्वाल पारिएको माटोको गाग्रो  भित्र बत्ती बालेर एकजना फनफनी नाच्दै घुम्ने र अरुले गीत गाउँने गरेको यो पुरानो संस्कृति नयाँ पुस्ताका छोरीबुहारीले नअगालेपछि यो लोप हुने स्थितिमा पुगेको अगुवा महिला नै बताउँछन् । “हुन त यो रुढी विश्वासको परम्परा हो” बर्दिबास नगरपालिकाका उपप्रमुख तारादेवी महतोले भन्नुहुन्छ,“तर मिथिला संस्कृतिको अभिन्न अङ्ग भनिने गरिएकाले यसलाई परिमार्जित गर्दै संरक्षण गर्न जरुरी छ ।”

तान्त्रिक विधिको यो गीत–नृत्य अब एक समयको कथाजस्तो बनि सकेको उपप्रमुख महतोको थप भनाइ छ । मिथिलामा हराउँदै गएको यो परम्परालाई केही वर्षयता गैर सरकारी सामाजिक सङ्घ संस्थाले यदाकदा देखाउने गरेका भए पनि जनमनबाट भने हराउँदै गएको यहाँका वुद्धिजीवीको भनाइ छ ।

“यो औपचारिक कार्यक्रममा मञ्चन गरिने होइन, संस्कृतिसँग जोडिएको कुरा हो”े मटिहानीस्थित याज्ञबल्क्य लक्ष्मीनारायण विद्यापिठका सहप्राध्यापक ध्रुव राय भन्नुहुन्छ, “गैर सरकारी संस्थाले मञ्चमा मञ्चन गरेर यो थेगिदैन, जनमनले नै थेग्नुपर्छ ।” मिथिला संस्कृतिको अभिन्न अङ्ग मानिएको झिझिया गीतको नृत्यलाई जीवन्त राख्न पछिल्लो पुस्ताले चासो बढाउनसँगै पहलकदमी लिनुपर्ने रायसहितका वुद्धिजीवीको सुझाव छ ।

अब झिझियाको लयमा नारी शिक्षाको अवस्था, सुरक्षा अवस्थाको चुनौती र वर्तमान परिवेशसँग मेल खाने भाव समेटेर यसलाई परिस्कृत गर्न पर्ने नयाँ पुस्ताका युवा बताउँछन् । पछिल्ला केही वर्षयता झिझिया नृत्यलाई निरन्तरता दिँदै आएकी बर्दिबासकी सावरमती सहनी रहर गरेपनि साथी नथपिएपछि यसपाली झिझियालाई निरन्तरता दिन नसकेको बताउनुहुन्छ । “नयाँ पुस्ताका युवा छोरीचेली वास्ता देखाउँदैनन्” उहाँले भन्नुभयो, “अब त झिझिया भन्ने कुरा कुनै जमानाको कथाजस्तो गरी सुनाउने स्थिति भइसक्यो ।” यद्यपि सो बस्तीकै रश्मी, निभा र बिमलासहितका नयाँ पुस्ताका युवा मिथिलानी भने यो पुरानो मिथिला संस्कृति जोगाउन अब आपूmहरु लागि पर्ने बताउनुहुन्छ ।

‘चलचल गे डैनिया कदम तर तोरा बेटाके खैर्बौ बढम तर’ दुष्टआत्माकी भनिएकी कथित बोक्सीलाई सतोसराप गर्दै गाइने यी गीत र यसको तालमा नाचिने झिझिया नृत्यलाई यसैको ताल र लयमा नयाँ परिवेशसँग मिलाएर अघि बढ्नुपर्ने अहिलेका सचेत अगुवा महिला बताउँछन् । “अब डायनी, बोक्सी भनेर गाली गरिने यी गीतको भावमा अधिकार प्राप्तिका लागि सचेतता बढाउँने, रुढी परम्पराको ठाउँमा समानता र न्यायका पक्षका लडाँइका भाव मिलाउनु पर्छ” भङ्गाहा–४ थारुटोल बनराकी अगुवा महिला नेतृ रामसुनरदेवी थारु भन्नुहुन्छ, “झिझियालाई यसरी परिस्कृत गर्दै अघि बढे यसलाई मुलुकको समानता र न्यायको आन्दोलनकै अङ्ग बनाउन सकिनेछ ।”

झिझिया गीतमा देवी दुर्गाको प्रार्थना, बोक्सी भनिने दुष्टआत्मालाई गाली र सन्तानको कल्याण र दीर्घायुको कामनाको भाव हुन्छ । गीतको तालमा असङ्ख्य प्वालपवलै भएको घैँटो टाउकोमा राखेर नाच्ने महिलाको नृत्यताल मनमोहक हुनेगर्छ । भित्र बत्ती बालिएको सो घैँटोमा पारिएका प्वाल दुष्टआत्माले गन्यो भने नाच्नेको मृत्यु हुने भनाइ रहेकाले नाच्ने महिला फनफनी नाचेर प्वाल गन्न नसकिने अवस्था बनाउँछन् । रासस