२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सचिवालय बैठक आज फेरि बस्दै, समानुपातिक उम्मेदवारको तय गर्ने



अ+ अ-

काठमाडौँ । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्न बोलाइएको नेकपा (एमाले)को सचिवालय बैठक आज आइतबार फेरि बस्ने भएको छ ।

शनिबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले समानुपातिकतर्फको उम्मेदवारको नामावली आज बिहान ११ बजे बस्ने बैठकले निर्णय गर्ने तय गरेको हो ।

शनिबारको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले प्रचार विभागका उपप्रमुख पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारबारे पार्टी महासचिव शङ्कर पोखरेलले बैठकलाई जानकारी गराएको बताए ।

बैठकमा सङ्घीयतर्फ एक सय १० र प्रदेशतर्फ दुई सय २० उम्मेदवारको सूची बनाउन विभिन्न मापदण्ड बनाउने, समावेशितालाई ध्यानमा राखेर क्लस्टरवाइज ध्यान दिँदै मापदण्ड बनाउनेबारे छलफल भएको उनले बताए ।

यस्तै, बाढीपहिराका कारण अछाम जिल्लामा भएको जनधनका क्षतिका बारेमा छलफल गर्दै सरकारलाई तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न माग गर्ने निर्णय गरेको छ । साथै घटनाप्रति पार्टीले गहिरो दुःख व्यक्त गरेको उनले जानकारी दिए । बैठकले पाकिस्तानमा आएको बाढीले पुर्याएको क्षतिप्रति पाकिस्तानी सरकार र जनताप्रति गहिरो दुःख व्यक्त गरेको छ ।