९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

सहरलाई गाउँसँग जोड्दै बाँकेका होमस्टे

सहरलाई गाउँसँग जोड्दै बाँकेका होमस्टे
अ अ+ अ-

राँझा । बाँकेका गाउँवस्तीमा व्यावसायिकरुपमा सञ्चालित होमस्टे (घरवास)ले ग्रामीण पर्यटकको सङ्ख्या बढेको छ । शहरको व्यस्त दिनचर्यालाई गाउँका होमस्टेको शान्त वातावरण र ग्रामीण परिवेशसँगै स्थानीय परिकारले नयाँपन दिने गरेको छ । होमस्टेमा खान, बस्न र घुम्न आउने सबैजसो पाहुना शहर बजारका हुने गरेको बाँकेको बैजनाथ–१ स्थित गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बताउनुभयो ।

आफ्नो ठाउँ, परिवेश, माटो सुहाउँदो आफ्नो मौलिक, भूगोलअनुसार पूर्वाधार तयार गरेर होमस्टे सञ्चालन हुँदै आएकाले होमस्टेमा आउने पाहुनाले गाउँले जीवन, परिवेशको जानकारीसँगै स्थानीय परिकारको स्वाद लिँदा नयाँ अनुभव हुने गरेको चौधरीको भनाइ छ ।

शहरका रेष्टुरेण्ट र होटलमा हुने जन्मदिन उत्सवलगायतका सानातिना कार्यक्रमदेखि सरकारी तथा गैरसरकारी सङ्घ–संस्थाका बैठक र कार्यक्रम पनि अहिले होमस्टेमा हुने गरेका छन् । गाउँमा गएर बैठक तथा कार्यक्रम गर्दा नयाँ अनुभव हुनुका साथै सहभागीलाई समेत उत्साह मिल्ने गरेकाले आफूहरुले अधिकांश वैठक तथा कार्यक्रम होमस्टेमा गर्दै आएको नेपालगञ्ज जुनियर जेसिजका अध्यक्ष शिवकुमार मौर्यले बताउनुभयो ।

गाउँमा सञ्चालन भएका होमस्टे शहरलाई गाउँसँग जोड्ने माध्यम भएको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक–३२५ बी २ का पूर्व गभर्नर मधुसुदन शर्मा बताउनुहुन्छ । उहाँले होमस्टेमा घुम्न आउने पाहुनालाई मनोरञ्जनको लागि लायन्स पार्क, वनभोज स्थललगायत रु। १० लाख बढीको पूर्वाधार निर्माणमा लायन्सले सहयोग गरेको जानकारी दिनुभयो । अहिले गाभर होमस्टे पुग्ने पाहुनाहरु लायन्स पार्कमा पुगेर रमाउने गरेका छन् ।

गाउँमा स्थापना भएका होमस्टेले शहरलाई गाउँसँग जोड्नुका साथै गाउँमा रोजगार पनि सिर्र्जना गरेको छ । गाउँमा उत्पादन हुने स्थानीय जातका मासुजन्य र दूग्धजन्य पदार्थको खपत गाउँमै भएको छ । गाउँका युवाले गाउँमै काम पाउने अवस्था भएको छ ।

समुदायमा स्वरोजगार तथा रोजगारको सिर्जना भएको छ । काम गर्न चाहने युवाहरु गाउँमै रोजगारमा संलग्न हुने वातावरण बन्दै गएको छ । जिल्लाभरिका होमस्टेमा वार्षिक रु। एक करोड बढी आम्दानी हुने गरेको होमस्टे महासङ्घका केन्द्रीय महासचिव एवम् बाँकेको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

“हामीले केवल जीविकोपार्जन मात्रै नभई आयआर्जन, संस्कृतिको प्रवद्र्धन, प्रकृतिको संरक्षण र पर्यटनको अवधारणा अघि सारेका छौँ”, खड्कवार नमूना सामुदायिक होमस्टेका अध्यक्ष लालबहादुर रानाले भन्नुभयो, “गाउँमा होमस्टे स्थापनापछि गाउँलेको बोलीचाली, रहनसहनदेखि आर्थिक स्रोतमा नै उल्लेख्य परिवर्तन आएको छ ।” बाँके निकुञ्जसँगै जोडिएको खड्कवारमा “संस्कृति र प्रकृति”को संरक्षण, सम्बद्र्धन र विकासका लागि होमस्टेले अभियान सञ्चालन गरेको अध्यक्ष रानाको भनाइ छ । तीन वटा घरबाट करिब पाँच वर्षअघि सुरु गरिएको होमस्टे अहिले सात घरमा सञ्चालन भएको छ ।

स्थानीय उत्पादन भएको तरकारी, खाद्यान्न र लोकल कुखुरा तथा खसीको मात्रै प्रयोग गरिनु खड्कवार होमस्टेको विशेषता हो । थारु, जनजाति, बाहुन क्षेत्रीको मिश्रित वस्ती रहेको खड्कवारमा आउने पाहुनालाई थारु संस्कृति र परम्परागत राप्ती भेगमा गाइने टप्पा गीत तथा नाचहरु देखाएर ग्रामीण रहनसहन र संस्कृतिबारे जानकारी गराउने गरिएको अध्यक्ष रानाले बताउनुभयो ।

नेपालगञ्जबाट करिब २५ किलोमिटरको दूरीमा रहेको राप्ती सोनारी गाउँपालिका–८ मा नयाँगाउँ होमस्टे २०७२ सालमा सञ्चालनमा ल्याइएको थियो । सुरुमा सात घरमा सञ्चालन गरिएको होमस्टे अहिले १३ घरमा सञ्चालनमा आएको छ । राजमार्गसँगै जोडिएको र पर्याप्त घुम्ने ठाउँहरु भएकाले नेपालगञ्ज, कोहलपुरलगायतका क्षेत्रबाट यहाँ दैनिकजसो पाहुना जाने गरेका छन् ।

पूर्व–पश्चिम राजमार्गदेखि सय मिटर दक्षिणमा रहेको नयाँगाउँ होमस्टे नजिकै वनस्पति उद्यान, ढकेरी वनभोज स्थल र बाँके राष्ट्रिय निकुञ्जको हात्तिसार पनि छ । आफूकहाँ आउने पाहुनालाई आफ्नै उत्पादनले सेवा गर्ने गरेको नयाँगाउँ होमस्टेका अध्यक्ष मङ्गल थारुले बताउनुभयो ।

होमस्टेमा बस्नका लागि आउने पाहुना विभिन्न सङ्घसंस्थाका सदस्य र विदेशी पनि हुन्छन् । होटलभन्दा सस्तो र गाउँको अर्गानिक खाना पाइने भएकाले विभिन्न स्थानको अध्ययन अवलोकनका लागि आउने सङघ–संस्थाका सदस्यको रोजाइ प्रायः होमस्टे हुने गरेको गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य धर्मलाल रोकाय बताउनुहुन्छ ।

निकुञ्ज तथा वनमा घुमघाम र अध्ययनका लागि जानेहरू पनि धेरै होमस्टेका पाहुना हुने गरेका छन् । नेपालका धेरैजसो होमस्टे पर्या–पर्यटन लक्षित गरेर सञ्चालन गरिएकाले पनि पाहुनाको कमी नहुने केन्द्रीय सदस्य रोकायको भनाइ छ । बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रमा सञ्चालित बैजनाथको गाभर भ्याली होमस्टे, कोहलपुरको खड्कवार र राप्तीसोनारी–८ को नयाँगाउँ होमस्टेले अहिले स्थानीय गाउँवस्तीलाई नगर तथा शहरी क्षेत्रमा चिनाउन र यस ठाउँको विकास र समृद्धिका लागि टेवा पुगेको राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले बताउनुभयो ।

होमस्टेलाई संस्कृति र प्रकृतिको संरक्षणसँगै आर्थिक रुपमा सबल बनाउन आवश्यक समन्वय गर्दै आएको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिनुभयो । बाँके निकुञ्जमा पर्यटनको सम्भावनालाई चिनाउन प्रचारप्रसार र प्रकृतिमा आधारित पर्या–पर्यटन प्रवद्र्धनमा जोड दिन थालिएको छ । होमस्टेमा आउने पाहुनालाई निकुञ्जका मध्यवर्ती क्षेत्रमा जिप सफारी, हात्ती सफारी, जङ्गल वाक, चरा अवलोकन, क्याम्पिङ, हाइकिङ, ¥याफ्टिङलगायतका प्याकेजले बाँके राष्ट्रिय निकुञ्जमा आन्तरिक पर्यटन प्रवद्र्धन हुँदै गएको उहाँको भनाई छ ।

होमस्टेले बढायो आम्दानीसँगै चेतना

बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालनमा आएका होमस्टेले आम्दानीसँगै समुदायमा चेतना समेत जगाउने काम गरेको छ । होमस्टेमा आउने पाहुनालाई स्वागत सत्कारदेखि खुवाउने बसाउनेदेखि संस्कृतिको समेत विकास भएको कोहलपुर नगरपालिका–१३ मा सञ्चालित खड्कवार होमस्टेका सञ्चालक यज्ञबहादुर राना बताउनुहुन्छ ।

घरमा सञ्चालित खड्कवार नमूना सामुदायिक होमस्टेमा आउने पाहुनालाई स्वागत सत्कारदेखि खुवाउने बसाउने कार्यमा राना परिवारको दिनचर्या बित्ने गरेको छ । “होमस्टे सञ्चालन भएपछि घरको सबै परिवार यसैमा व्यस्त हुने गरेका छौँ”, रानाले भन्नुभयो,“घरका सबै परिवारलाई काम पुग्ने गरेको छ, कमाई पनि हुने गरेको छ ।”

रानाको परिवार जस्तै अहिले जिल्लाका ग्रामिण क्षेत्रमा खुलेका होमस्टे स्वरोजगारीसँगै आयआर्जनको माध्यम बनेको छ । रानाले होमस्टेमा आउने पाहुनाका कारण आफूहरुको आम्दानीको स्रोत बढ्दै गएको बताउनुभयो । आम्दानीको स्रोत बढेपछि जीवनमा परिवर्तन आएको र दिनचर्या पनि बदलिएको उहाँको भनाइ छ ।

राप्ती सोनारी गाउँपालिका–८ नयाँगाउँ होमस्टेकी शोभी थारूलाई घर चलाउन मात्र होइन, कपडा, चुरापोतेलगायत आफूलाई आवश्यक पर्ने सामान किन्न आफैँ सक्षम हुनुभएको छ । आफूलाई मन लागेको सामान र छोराछोरीको कापी–कलम, विद्यालयको शुल्क तिर्न श्रीमानसँग हात पसार्नु पर्दैन । होमस्टे सञ्चालन भएका गाउँका महिलाको चेतना र आय बढेको छ । अहिले कसैको घरमा फोहोर भेटिंदैन । उनीहरु विभिन्न ठाउँबाट आउने मानिससँग कुरा गर्न र खुवाउन सिकेका छन् ।

घरमा सञ्चालन गरेको होमस्टेले गाउँले जीवनमा ठूलै परिवर्तन ल्याएको छ । होमस्टेमा पाहुना आउँदा घरका सबै परिवारले काममा सघाउने गरेका छन् । अरू बेला मेलापातको काम सकिएपछि फुर्सदिला हुने महिलाहरू होमस्टे सञ्चालन भएपछि वेफुर्सदिला भएको राप्ती सोनारी गाउँपालिका–८ का वडाध्यक्ष शालिकराम डाँगीले बताउनुभयो ।

बाँके राष्ट्रिय निकुञ्जको स्थापनासँगै मध्यवर्ती क्षेत्रमा पर्यटकलाई लक्षित गरेर होमस्टे खुल्ने क्रम बढ्दै गएको छ । निकुञ्जमा बाघ हेर्न तथा शान्त वातावरणमा रमाउन स्थानीयको आकर्षण होमस्टेमा बढ्दै गएपछि होमस्टे सञ्चालक उत्साहित बनेको डाँगीको भनाइ छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाबाट सहजै पुग्न सकिने भएकाले बाँकेका सामुदायिक होमस्टेमा आन्तरिक पाहुनाको चहलपहल बढ्दो रहेको छ । यहाँका होमस्टे र ठूलो लगानीका आरामदायी होटल समेत थपिएको केन्द्रीय महासचिव चौधरीले बताउनुभयो ।

उहाँका अनुसार गाभर भ्याली सामुदायिक होमस्टेकै च्यामा क्षेत्रका रुपमा अहिले च्यामामा पनि होमस्टे विस्तार भएका छन् । च्यामामा करिव रु एक करोडको लगानीमा गणेश चौधरीले सुविधा सम्पन्न होमस्टे सञ्चालनमा ल्याउनुभएको छ । विसं २०७० मा शुरु भएको बाँकेको गाभर भ्याली सामुदायिक होमस्टे अहिले नेपालकै नमूना घरवासका रुपमा चिनिन्छ । बाँकेमा सञ्चालित होमस्टे जीविकोपार्जन मात्रै नभई आयआर्जनको माध्यम बनेको गाभर भ्याली सामुदायिक अध्यक्ष चौधरीले बताउनुभयो ।

होमस्टे व्यवसायले थारू महिलाको चेतना धेरै माथि उठेको छ । आफ्नो समुदायबाहेक अरूसँग बोल्न डराउने, गाउँबाट अन्यत्र नजाने उनीहरू अहिले होमस्टेमा आउने पाहुना र उनीहरूसँगको घुलमिलले विभिन्न ठाउँको संस्कृति र मानिसलाई चिन्ने मौका पाएको चौधरीको भनाइ छ । बाँकेका पाँच सामुदायिक होमस्टेमा ५० घरपरिवार आबद्ध छन् । रासस