• १० श्रावण २०८१, बिहीबार
  •      Thu Jul 25 2024
  •   Unicode
Logo
Latest
★   हामी बिरुद्ध षड्यन्त्रका तानाबाना बुनिँदैछन्: अध्यक्ष नेपाल ★   विमान दुर्घटनाबारे गहन अध्ययन गर्न र मृतक परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग नेकपा एसको माग ★   सडक स्तरोन्नति सुरु भएसँगै कोदारवासी खुसी ★   डेङ्गीका बिरामी बढेपछि सङ्खुवासभाका अस्पतालमा शय्या अभाव ★   राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक जारी ★   पेरिस ओलम्पिक: खेल बराबरमा सकिएको दुई घण्टापछि मोरक्कोसँग अर्जेन्टिना पराजित ★   स्वास्थ्य मन्त्रीद्वारा सौर्य एयर दुर्घटनाप्रति दु:ख व्यक्त ★   सिमलताल दुर्घटना: कार्यदलले ११ दिनमा पनि सकेन काम, थप सात दिन माग ★   काँकडभिट्टाबाट आठ करोडको जडीबुटी निर्यात ★   एकैदिन २४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

भक्तबहादुरको जीवनः साइकल मर्मतमै ३७ वर्ष



सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचास्थित विराटचोकका भक्तबहादुर घिमिरे विगत ३७ वर्षदेखि साइकल बनाउने व्यवसायमा सक्रिय हुनुहुन्छ ।

यसैबाट जीविकोपार्जन गर्दै आउनुभएका भक्तबहादुर अहिले पनि बिहानैदेखि साइकलको ‘फ्रेम’ जोश जाँगरका साथमा समाउनुहुन्छ । उहाँको विराटचोकमा विगत ३७ वर्षदेखि एउटा सानो पुरानो झुप्रोमा भक्त साइकल स्टोर रहेको छ ।

सुरुमा यस क्षेत्रमा उहाँको बाहेक अरू कसैको साइकल बनाउने ठाउँ थिएन । अहिले भने यस क्षेत्रमा एक दर्जनभन्दा बढी साइकल मर्मत गर्ने ठाउँ रहेका छन् । कर्मका पुजारी तथा मेहनती भक्तबहादुरको जिन्दगी हिजोआज साइकल मर्मतबाटै बाँचेको छ । उमेरले सात दशकको घामपानी खेप्नुभएका भक्तबहादुर अहिले पनि १६ वर्षे जोश जाँगर लिएर साइकल बनाउने पेसामा रमाइरहनुभएको छ । उहाँको साइकल मर्मत गर्ने कामबाहेक जीविकोपार्जनको लागि अरु कुनै पेसा छैन ।

“देश विदेश गएर काम गर्नुभन्दा केही राम्रो सीप सिकेर आफ्नै देशमा आयआर्जनमूलक काम गर्नु राम्रो हुन्छ”, भक्तबहादुर बताउनुहुन्छ । केही सीप नभएको मान्छे समाजमा काम लाग्न नसक्ने उहाँको भनाइ छ ।

भक्तबहादुर विगत चार दशकअघि सोलुखुम्बुबाट मधेस झर्नुभएको थियो । उहाँ सुरुमा साविक हरैँचा गाविसमा बसोबास गर्नुहुन्थ्यो । “ सुरुमा हरैँचा सानो बजार थियो । विसं २०४५ तिर विराटचोकमा त झन केही नभएको पातलो बस्ती थियो, झुप्रा घर मात्रै थियो”, भक्तबहादुर बताउनुहुन्छ ।

भक्तबहादुरलाई मधेस झरेर हरैँचा आउँदा सुरुमा के काम गरेर परिवार पाल्नु भन्ने चिन्ता आइलाग्यो । सामान्य परिवारमा जन्मिनुभएका भक्तबहादुर साउँ अक्षर मात्र चिन्ने साथै कुनै पेसा व्यवसाय नभएका व्यक्ति हुनुहुन्थ्यो । उहाँले केही समय घुमफिर गरी बिताएको तथा मेकानिकका साथमा लागेर साइकल बनाउने काम भने सिक्नुभएको थियो । भक्तबहादुरले पछि साइकल बनाउने पेसालाई नै जीवनचर्या बनाउन पुग्नुभयो । “यही मेरो स्थायी काम भयो”, उहाँले सुनाउनुभयो ।

जुँघा पाल्नुभएका भक्तबहादुर प्रायःजसो विराटचोक बजार आसपासमा खाली खुट्टा हिँडेको भेटिनुहुन्छ । “बाघको जस्तो जुँघा पाल्नु मेरो सोख हो, खाली खुट्टा हिँड्नु स्वास्थ्यको लागि फाइदाजनक र राम्रो हो”, उहाँ बताउनुहुन्छ । निरोगी तथा हृष्टपुष्ट शरीर भएकाले भक्तबहादुर अझै तगडै देखिनुहुन्छ । उहाँको घरमा पहिले छ जनाको परिवार थियो । दुई सन्तानको विवाह गरेपछि चार जनाको परिवार अहिले साइकल बनाउने पेसाबाट पाल्ने गरेको साथै अरु कुनै पैसा आउने बाटो नभएको भक्तबहादुरले उल्लेख गर्नुभयो ।

भक्तबहादुर अहिले साइकल मर्मतको कामबाट दुःख गरेर मासिक रु १५ हजार जति कमाउनुहुन्छ । यसैबाट घर परिवार चलाउनुहुन्छ । उहाँले सुकुम्बासी टोलमा बाँसको सानो घर बनाउनुभएको छ । भक्तबहादुर त्यही घरमा दुःख सुख बस्नुहुन्छ । मनमा कुनै छलकपट नभएको तथा खुला दिल भएको भक्तबहादुर सानो ठूलो कसैको भेदभाव नगरी राम्रो व्यवहार गर्न रुचाउनुहुन्छ । “मरेर लानु केही छैन, सबैसँग राम्रो बोली वचन गर्नुपर्छ, साधा जीवन उच्च विचार नै असल व्यक्तिको गुण हो”, उहाँ भन्नुहुन्छ ।

लामो समयदेखि साइकल मर्मतको सीपमा लाग्नुभएका भक्तबहादुर साइकलको फ्रेम फिटिङ गर्ने, पम्चर टाल्नेलगायतका साइकलसँग सम्बन्धित सबै काम दिल दिएर गर्नुहुन्छ । चिनेजानेका सबै उहाँको पसलमा राम्रो साइकल बनाउने बाजे भन्दै धाएर आउनुहुन्छ ।

पहिला साइकल किनेर चढ्ने तथा साइकल बनाउन आउनेले अहिले आधुनिक समयसँगै मोटरसाइकल तथा कार किनेको उहाँ उल्लेख गर्नुहुन्छ । साइकल बनाउन सारोगाह्रो केही नभएकाले आफ्नो ध्यानै यसैमा भएको भक्तबहादुरले उल्लेख गर्नुभयो । भक्तबहादुर पुस्तक पत्रपत्रिका पढ्नसमेत रुचाउनुहुन्छ । उहाँको भक्त साइकल स्टोरमा प्रायः सबै खालका पत्रपत्रिका आउछ । रासस