६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले



अ+ अ-

काठमाडौं: गत भदौ २३ र २४ गतेका दिन नवयुवा (जेन जी) समूहले गरेको आन्दोलनबाट देशमा ठूलै जनधनको अपूरणीय क्षति भयो । यो आन्दोलन खासगरी मुलुकमा व्याप्त भ्रष्टाचार, बेथिति र अराजकताको अन्त्यको मागमा केन्द्रित थियो । आन्दोलन समाप्त भएर उनीहरूकै सुझाव र माग अनुसार नयाँ सरकार पनि गठन भयो तर अपेक्षाकृत जेन जी ले उठाएका माग पूरा नभएका गुनासा आइरहेकै छन् ।

यसबीच जेन जी को एक समूहले सरकारसँग सम्झौता पनि गरिसकेको छ तर अर्को समूह त्यो सम्झौता धोका हो भन्दै आन्दोलनमा छ । यहाँ प्रस्तुत जेन जी कै एक समूहले तयार पारेको साझा एजेन्डा हो । यसकै सेरोफेरोमा पुन: आन्दोलन गर्ने प्रयत्न भइरहेको छ जसको नेतृत्व मिराज ढुंगाना, लेनिन बिस्ट, अजय सोडारी, लगायतका युवाले गर्न थालेका छन् ।  प्रस्तुत छ लेनिन बिष्टले सामाजिक संजालबाट सार्वजनिक गरेको उनीहरूको एजन्डाको पूर्ण पाठ ।

१. परिचय

देशको वर्तमान राजनीतिक अवस्था अत्यन्तै असामान्य र अनिश्चित छ । प्रतिनिधिसभा विघटन, अन्तरिम सरकार गठन, र नयाँ पुस्ताको आन्दोलनका बीच मुलुकलाई संविधानको दायरामा फर्काउने तथा समयमै निर्वाचन गर्ने अपेक्षा क्रमशः कमजोर हुँदै गएको छ । सरकारले नयाँ पुस्ताको माग सम्बोधन गर्न देखाएको अनिच्छा, निर्वाचनका लागि स्पष्ट कार्ययोजनाको अभाव, कमजोर सुरक्षा अवस्था, प्रमुख दलहरूबीचको अविश्वास, र समन्वयहीनताले समयमै चुनाव हुने सम्भावना घट्दो छ । यदि दलहरूबीच विश्वास पुनः स्थापित हुन सकेन र नयाँ पुस्ताको एजेन्डालाई सम्बोधन गर्ने पहल तुरुन्त भएन भने देश दीर्घकालीन अस्थिरतामा फस्नेछ । यसो हुन नदिन समयमै विकल्पको खोजिगरिनु बान्छनिय हुन्छ । यस्तो परिस्थितिमा राष्ट्रपतिसँग तीन सम्भावित विकल्प देखिन्छन्ः

(क) सीमित कार्यादेशसहितको हालको सरकारलाई नै समय थप गर्ने,

(ख) दलहरू तथा आन्दोलनरत पक्षहरूको सहमतिमा राष्ट्रीय सहमतिको सरकार गठन गर्ने, वा

(ग) संसद पुनःस्थापना गर्ने ।

संसद पुनःस्थापना सैद्धान्तिक रूपमा सम्भव भए पनि आन्दोलनको मूल माग नै “संसद विघटन” भएकाले सो कदमले आन्दोलनको सार कमजोर पार्न सक्छ । त्यसैले नयाँ जन–म्यान्डेट नै दीर्घकालीन समाधान हुन्छ । राजनीतिक परिस्थिति द्रुत गतिमा परिवर्तनशील भएकाले राष्ट्रपतिको कार्यालयले सबै विकल्पका लागि पूर्वाधार तयार गर्न आवश्यक देखिन्छ । यही यथार्थलाई ध्यानमा राख्दै, वर्तमान राजनीतिक गतिरोधको समाधान र नयाँ पुस्ताको मागलाई संस्थागत रूपमा कसरी सम्बोधन गर्ने भन्ने उद्देश्यले यो राजनीतिक मार्गचित्र प्रस्तुत गरिएको छ ।

२. आन्दोलनप्रतिको बुझाइ

गत भदौ २३–२४ मा भएको जनआन्दोलनलाई केवल तोडफोड वा हिँसाको रूपमा मात्र व्याख्या गर्नु गलत हुन्छ । यो आन्दोलन खासगरी परम्परागत राजनीतिक सोच, भागबण्डा–केन्द्रित शासकीय अभ्यास, र दलहरूको अभिजात्य शैलीविरुद्धको नयाँ पुस्ताको ऐतिहासिक प्रतिक्रिया थियो । यो आन्दोलनले मुलतः लोकतन्त्र जनताको विश्वासमा होइन, दलहरूको सौदाबाजीमा चलेको छ, राज्यका नियमनकारी र जवाफदेहि संरचना खोक्रो बनेका छन्, राजनीतिक शक्ति केही व्यक्तिहरू र गुट उपगुटमा एकीकृत भएको छ भन्ने तथ्य स्थापित गरेको छ । साथै यसले पुरानो पुस्ताको राजनीतिक मूल्य–मान्यता, औचित्य र नेतृत्व क्षमतामाथि प्रश्न उठाउँदै नयाँ पुस्ताले अब स्वयं नेतृत्व लिन चाहेको स्पष्ट सङ्केत गरेको छ । त्यसैले यसलाई “षड्यन्त्र” वा “विदेशी चलखेलको” जामा ओढाउनु गम्भीर भूल हुनेछ । यो आन्दोलन विगत लामो समयदेखि जम्मा हुँदै आएको सामाजिक, आर्थिक र राजनीतिक अव्यवस्था विरुद्धको समष्ठिगत विष्फोट हो भनेर बुझ्नु नै नेपाल र नेपालीको हितमा हुने छ ।

३. नयाँ पुस्ताको चाहना

नयाँ पुस्ताको मुख्य मागहरू निम्नानुसार रहेको मान्न सकिन्छ ।

३.१ प्रणालीगत रूपान्तरण

  •   शक्ति, स्रोत र अवसर केही सीमित हातमा केन्द्रित हुने प्रवृत्तिको अन्त्य,
  •  भ्रष्टाचारविरुद्ध कठोर तर निष्पक्ष कदम, र
  •  समान अवसर, समान पहुँच र समान व्यवहार ।

३.२ जवाफदेहिताको पुनस्र्थापना

  • सार्वजनिक निर्णय प्रक्रियामा पारदर्शिता,
  •  सार्वजनिक पदाधिकारीको वास्तविक जवाफदेहीता,
  •  युवा प्रतिनिधित्वको सुनिश्चितता,
  •  दल वा नेताकोसिफारिस र पहुँचका आधारमा हुने नियुक्तिको अन्त्य, र
  •  दक्ष, योग्य र इमानदार युवालाई अवसर ।

३.४ लोकतन्त्रको पुनर्परिभाषा

नयाँ पुस्ताका लागि लोकतन्त्र केवल “निर्वाचन” नभई राज्य र नागरिकबीचको भरोसा, न्याय, समावेशीता र इमानदारीमा आधारित शासन प्रणाली हो भन्ने नयाँ पुस्ताको बुझाई रहेको छ । त्यसैले राजनितीले पनि लोकतन्त्रलाई यसरी नै बुझोस भन्ने उनीहरु चाहन्छन् ।
४. अबको बाटो
४.१ संविधान सुधार
हालको अन्तरिम सरकार केवल “चुनाव गराउने” म्यान्डेट लिएर बसेको देखिन्छ । तर अहिले देखिएको राजनीतिक–सामाजिक असन्तोष केवल चुनावले समाधान गर्न सक्दैन । त्यसैले तत्काल देहाय बमोजिम कामहरु गर्नु पर्ने देखिन्छ ।
  •  उच्चस्तरीय संविधान सुधार आयोग गठन,
  •  राजनीतिक, संरचनागत, संस्थागत, आर्थिक तथा निर्वाचन सुधारको पूर्ण खाका, र
  •  आयोगका सुझावका आधारमा संविधान संशोधन ।
संविधान संशोधनबिना नयाँ पुस्ताको माग जस्तैशक्ति र स्रोत केन्द्रिकरण, भ्रष्टाचार नियन्त्रण, शासकिय सुधार र न्यायिक सुधार जस्ता संस्थागत सुधार हुन सक्दैन ।
४.२ सरकारको कार्यादेश विस्तार
बाँकी ३ महिनामा चुनाव सम्भव छैन । त्यसैलेसरकारको कार्यकाल कम्तिमा १ वर्ष थप्नेर २०८३ मंसिरमा नयाँ निर्वाचनको स्पष्ट खाका तयार गरी सार्वजनिक गर्ने । साथै यो १ वर्षलाई आन्दोलनका मुद्दा सम्बोधन, संविधान सुधार, सुशासन पुनस्र्थापनाका लागि प्रयोग गर्नुपर्ने देखिन्छ । सरकारले यो अवधिमा देहायका आधारभूत समस्या समाधानमा ध्यान दिनुपर्छ ।
  •  राज्य–नागरिक बिच विश्वासकोपुनस्र्थापना,
  •  भ्रष्टाचार नियन्त्रण,
  •  शक्ति–स्रोतको विकेन्द्रीकरण,
  •  सबै राजनीनिक नियुक्ति खारेजी,
  •  योग्यता क्षमताको आधारमा निष्पक्ष, स्वतन्त्र र पारदर्शि नियुक्ति प्रक्रियाको सुनिश्चितता, ड्ड राज्य शक्तिको दुरुपयोगको अन्त्य, र ड्ड निर्वाचन प्रणालीसहित राज्य संरचनामा सुधार ।
४.३ सरकारको पुनर्गठन
४.३.१ पहिलो विकल्प —मन्त्रीपरिषदको पुनर्गठन
यदि सरकारले नै निर्वाचन गराउने ईच्छाशक्ति देखायो भने पहिलो प्राथमिकता त्यसैलाई दिनु पर्छ । तर त्यसको लागी सरकारले प्रमुख दलहरूको विश्वास जित्न र उनिहरुसंग समेत औपचारिक साझेदारी गर्ने, आन्दोलनरत समूहलाई पनि सहभागी गराउने र संविधान बाहिर रहेर यो संविधानको विपक्षमा उभिएका समुहलाई समेत सहमतिमा लिनु पर्दछ । यसले मात्र यो सरकारलेराजनीतिक वल प्राप्त गर्नेछ । अन्यथा यहि अवस्थाको निरन्तरताले मुलुकलाई थप अस्थिरता तर्फ धकेल्ने छ ।
४.३.२ दोस्रो विकल्प — राष्ट्रिय सहमतिको अन्तरिम सरकार
यदि वर्तमान सरकारले सवै सरोकावालाहरुको विश्वास जित्न सकेन भने देशलाई अर्को अस्थिरताको चक्रबाट जोगाउन राष्ट्रिय सहमतिको सरकार बनाउनुको दोस्रो विकल्प देखिदैन । त्यसो गर्दा, प्रमुख दल, नयाँ पुस्ताका प्रतिनिधि, संविधान बाहिरका जनसमर्थनयुक्त समूह, आन्दोलनरत पक्ष—सबैलाई समावेश गराएर नयाँ अन्तरिम सरकार गठन गर्नु उपयुक्त हुन्छ । यसरी बन्ने सरकारले नयाँ पुस्ताको ऊर्जा, पुरानाको अनुभव र सतावाहिर रहेर आन्दोलन गरिरहेकाको भूईतहका मानिसहरुको प्रतिनिधित्व गर्न सक्नेछ र मुलुकलाई पुनः संविधानको दायरामा ल्याउन सकिने छ ।
५. कार्यनीति
५.१ भ्रष्टाचार नियन्त्रण
भ्रष्टाचार अहिले सामान्य घुस भन्दा धेरै पर संस्थागत र राजनीतिक रूपमा व्याप्त छ । त्यसैले यसलाई संबोधन गर्न निम्न उपाय अपनाउन आवश्यक देखिन्छ ।
(क) अख्तियारको दुरपयोग अनुसन्धान संरचनागत पुनर्संरचना
यो आयोग अधिकशक्ति, कमजोर अनुसन्धान क्षमता र राजनितिक निर्देशनमा चल्ने नेतृत्वको सिकार भएको छ । त्यसैले यसको पुनसंरचना अनिवार्य बन्दै गएको छ । यसको निम्ति देहाय बमाोजिम सुधार गर्नु पर्ने देखिन्छ ।
  •  संवैधानिक परिषदबाट आयुक्तको नियुक्ति गर्ने व्यवस्था हटाएर राजनीतिकरणको अन्त्य गर्ने,
  •  आयुक्तहरुकोचयन प्रक्रिया स्वतन्त्र, खुला र पारदर्शी बनाउने,
  •  आयोगलाई प्रहरीलाई जस्तै अनुसन्धानको अधिकार मात्र दिने, र
  •  अभियोजन सरकारी वकिलले नै गर्ने ।
साना कर्मचारीमाथि मात्र कारबाही गरेर भ्रष्टाचारको अन्त्य हुन सक्दैन । यसका लागी ठूला मुद्दाहरु जस्तै राजनीतिक सौदावाजी र नियुक्तिमा हुने भ्रष्टाचार, विभिन्न लाईसेन्स वा ईजाजत दिँदा वा उद्योग व्यापार लगानीमा हुने भ्रष्टाचार, बजेट निमार्णमा हुने भ्रष्टाचार, नीति निर्माणमा हुने भ्रष्टाचार लगायतका विषयमा जाँचबुझ र अनुसन्धान गर्ने तर मुद्दा चलाउनका लागी मुद्दा नचलाउने आयोग बनाउनु पर्दछ । यसका अतिरिक्त वर्तमान युवा पुस्ताको मागलाई हेरेर राजनितिक तहमा भएको भ्रष्टाचारको छानविन गर्न एक छुट्टै स्वतन्त्र आयोग पनि बनाउन सकिन्छ ।
५.२ संविधान सुधार सुझाव आयोग
देहायका बिषयमा संविधान सुधार गर्न एक उच्च स्तरिय संविधान सुधार आयोग गठन गर्न आवश्यक देखिन्छ ।
  •  संघीयता,
  •  संसदीय शासन प्रणाली र शासकिय स्वरुप,
  •  न्यायिक संरचना, स्वतन्त्रता र जवाफदेहिता,
  •  संवैधानिक आयोग र यसको नियुक्ति प्रणाली,
  •  शक्ति र स्रोतको वितरण, र
  •  निर्वाचन प्रणाली
यस्तो आयोगको प्रमुखमा पुर्व प्रधान न्यायाधिश, सदस्यहरुमा विशेषज्ञ, प्रमुख दलका प्रतिनिधि, नयाँ पुस्ताका प्रतिनिधि, नागरिक समाज, संविधानविद लगायत सबैलाई सबैलाई सहभागी गराउनुपर्दछ ।
५.३ न्यायपालिकाको पुनर्संरचना
  •  न्याय परिषद्को पुनसंरचना गर्ने ,
  •  न्यायाधीश नियुक्तिलाई स्वतन्त्र र पारदर्शी बनाउने
  •  सर्वोच्च अदालतको क्षेत्राधिकारमा पुर्नविचार गर्ने,
  •  राजनितिक आधारमा भएका वहालवाला न्यायाधिशहरुको पुनर्नियुक्ति गर्ने, ड्ड मुद्दाको कारवाहिमा ढिलाइ र न्यायमा पहुँच असमानतामा अन्त्य गर्ने, ड्ड उच्च अदालत र जिल्ला अदालतमा संरचनागत सुधार ।
५.४ अर्थतन्त्रमा सुधार
नयाँ पुस्ताको असन्तोषको मूल कारणमध्ये एक आर्थिक अवसरको अभाव हो। त्यसैले यसमा सुधार नगर्दा सम्म त्यो असन्तुष्टि समाप्त हुन सक्दैन । त्यसको लागी सरकारले देहायका कार्यहरू गर्नु पर्दछ ।
  •  रोजगारी सिर्जना,
  •  लगानीकोवातावरण निर्माण,
  •  ठूला ठेक्का र सार्वजनिक खर्चमा पारदर्शिता,
  •  कर प्रणालीमा सुधार,
  •  युवालाई उद्यममा प्रोत्साहन,
  •  डिजिटल अर्थतन्त्रकोविस्तार,
  •  प्रादेशिक आर्थिक क्षमता विस्तार,र
  •  वैदेशिक रोजगार सुधार (सुरक्षित र आयमुखी)
५.५ राज्य शक्तिको दुरुपयोग रोकथाम र जवाफदेहीता सुनिश्चितता
  •  प्रहरीमाथि नागरिक निगरानी प्रणाली
  •  बल प्रयोगसम्बन्धी स्पष्ट कानुनी दिशा–निर्देश
  •  सुरक्षा निकायमा राजनीतिक हस्तक्षेप पूर्ण निषेध
  •  मानवधिकार उल्लंघनको स्वतन्त्र छानबिन
  •  नागरिकको सुरक्षाभाव पुनस्र्थापना
निष्कर्ष
हामी यतिवेला एक निर्णायक मोडमा छौं । यो अवस्था पुरानो राजनीतिक सोचको विस्थापन र नयाँ पुस्ताको उदयको बीचको संक्रमण हो। यदि सरकारलेसंविधान सुधार, भ्रष्टाचार नियन्त्रण, सुशासन, समावेशी सहभागीता,र विश्वसनीय निर्वाच प्रति वास्तविक प्रतिबद्धता देखायो भने देशले स्थायित्व र समृद्धितर्फ नयाँ यात्रा सुरु गर्न सक्छ । नत्र, मुलुक फेरि अस्थिरताको चक्रमा फस्नेछ ।

संयोजन समिति