• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

न्यायपालिका सुधारको अभियानमा छौँ : कामु प्रधानन्यायाधीश कार्की



file

बझाङ । कायमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालत न्यायालय सुधारको अभियानमा जुटेको बताउनुभएको छ । उहाँले अब सेवाग्राहीलाई न्याय दिलाउने कुरामा ढिलाइ नहुने भन्दै सर्वोच्च सुधारको पक्षमा जुटेको बताउनुभएको हो ।

आज जिल्ला अदालत बझाङको भवन उद्घाटन कार्यक्रममा उहाँले न्यायमा ढिलाइ भए जनतास्तरमा गलत सन्देश जाने बताउनुभयो । “अदालतमा एक दुई जना सेवाग्राही आउनुभएको हुन्छ”, उहाँले भन्नुभयो, “एक दुई जनालाई पनि हामीले ढिलाइ गरेर राख्यौँ, समयमा काम गरिदिएनौँ, मुद्दा मामिला ढिलाइ ग¥यौँ भने ती सेवाग्राहीले समाजमा गएर गलत सन्देश म्यासेज सम्प्रेषण गर्नुहुन्छ ।” त्यसले न्यायालयबारे गलत गहिरो गलत सन्देश जाने उहाँले बताउनुभयो ।

“न्यायालयको बेवास्ताका कारण समाजले नै अदालतमा ढिलासुस्ती हुने रहेछ । अदालतमा त भनेको बेला काम नहुने रहेछ भन्ने गुनासो आउँछ । यस्ता सामान्य कुराले पनि समाजमा गलत सन्देश जान सक्छ”, कामु प्रधानन्यायाधीश कार्कीले भन्नुभयो ।

उहाँले अदालतमा आउने जो कसैलाई पनि झुलाउने प्रयास गर्न नहुने बताउनुभयो । उहाँले कर्मचारी तथा मातहतका न्यायाधीशलाई भन्नुभयो, “सेवाग्राहीको समस्या बुझिदिनुहोस् । अदालतका कर्मचारी पनि कोठामा बसेर, कुर्सीमा बसेर मात्रै होइन, आउने सेवाग्राही आउनुहुन्छ, बाहिरै बस्नुहुन्छ । उहाँको समस्या बुझ्नुस् । आएकालाई पनि तपाईंको समस्या के हो भनेर सम्बोधन गरिदिनुहोस् । त्यसपछि मात्रै जनतालाई न्यायालय भएको आभाष गर्नुहुन्छ ।”

उहाँले मातहतका सबै न्यायालयमा जान नसकिने भन्दै सबैले आ–आफ्नो दायित्व पूरा गर्नुपर्ने बताउनुभयो । “सबै ठाउँमा गएर सचेत गराउन सकिँदैन । सबैले आफ्नो दायित्व पूरा गरेमा जनताले राहत पाउनेछन् ।”

उहाँले तारिखका लागि एउटा पक्ष आउने र अर्को पक्ष नआएको थाहा पाए त्यसमा स्वार्थ भएको टिप्पणी गर्न सक्ने बताउनुभयो । “एक पक्ष आउने र अर्को पक्ष नआउँदा आएको पक्षले स्वार्थवश हामीलाई झुलाइरहेको छ भन्ने सोच्न सक्छ । उसलाई बुझाइ दिनुस् न । यो कारणले तपाईंको तारि ढिला भएको हो भनेर ।” सामान्य कुरा भए पनि यस्ता कुरामा गम्भीर हुनुपर्ने उहाँको भनाइ थियो । रासस