२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाईजात्रा : पोखरामा प्रचलित तायामचाः को सांस्कृतिक महत्व



अ+ अ-

पोखरा । पर्यटकीय नगरी पोखरा प्राकृतिक सुन्दरता मात्रै नभई कला संस्कृति र रीतिरिवाजले पनि उत्तिकै सम्पन्न छ । यस्तै सांस्कृतिक महत्व बोकेको पर्वका रुपमा पोखराका नेवार समुदायमा प्रचलित तायामचाः नृत्य पनि एक हो । 

यसलाई यहाँका नेवारी समुदायको मृत्यु संस्कारमा आधारित पर्वका रुपमा पनि लिइन्छ । कोरोना महामारीका कारण यहाँ गत वर्ष र यस वर्ष पनि धुमधामका साथ मनाउन नसकिएको यस गाइजात्रा पर्वको ऐतिहासिक र सांस्कृतिक महत्व रहेको जानकारहरु बताउँछन् । 

सनातन धर्म सेवा समितिका अध्यक्ष रवीन्द्र माकाजुका अनुसार नेवारहरू यस पर्वलाई  ‘साँपारु’ पनि भन्दछन् । भनिन्छ– राजा प्रताप मल्लले पुत्रशोकमा डुबेकी महारानीलाई सान्त्वना दिन गाईजात्रा पर्वको थालनी गर्न लगाएका थिए । त्यसबेला शुरू भएको यो जात्रा आज पनि मृतक संस्कारमा आधारित भएरै चल्दै आइरहेको माकाजुले लेख्नुभएको पोखरामा केही जात्रा पत्र पुस्तकमा उल्लेख गरिएको छ ।

मान्यताअनुसार यस दिन धार्मिक कर्म ग¥यो भने मृतकलाई स्वर्गलोक प्राप्त गर्न सहज हुन्छ भन्ने जनविश्वास रहिआएको छ । यो दिन दिवङ्गत भएका आफन्तको गुणगान र उनीहरुप्रति श्रद्धाञ्जलिका साथै हाँसो, ठट्टा र व्यङ्ग्य गर्दै आनन्द लिने पनि गरिन्छ । धर्मशास्त्रमा उल्लेखअनुसार जसरी मर्नुअघि गाईको पुच्छर समातेर वैतरणी गरे स्वर्ग पुगिन्छ भन्ने शास्त्रीय मान्यता छ, त्यसरी नै मृतकलाई यस कार्यबाट स्वर्गमा पुग्न सहयोग पुग्न सक्दछ भन्ने आस्था रहिआएको उक्त पुस्तकमा उल्लेख छ । 

गाईजात्राको दिन ९श्रावण शुक्ल पूर्णिमाको भोलिपल्ट० मृतकको सम्झनामा गाई निकाल्ने गरिन्छ । डोको भित्र मान्छे पसेर मृतकको फोटो सजाएर बाँसको लिङ्गलाई गाईको सम्झना गरिन्छ । यसरी सम्झना गर्दा आफ्नो घरमा मात्र नभई अरुको घरमा घटेको घटना पनि थाहा हुने सहानुभूति र सान्त्वनाको सञ्चारमा हुने गरेको पाइन्छ । 

संस्कृतिकर्मी तीर्थ श्रेष्ठले पोखरामा नेवार समुदायको बस्ती शुरु भएदेखि नै यस पर्वको शुरुआत भएको हुनसक्ने बताउनुहुन्छ । उहाँका अनुसार तत्कालीन बाइसेचौबिसे राजा सिद्धिनारायाण शाहले विसं १८२५ अगाडि नै भक्तपुरबाट २६ घर नेवार ल्याए विन्ध्यवासिनीदेखि गणेश टोलसम्म बस्ती बसाए जसलाई २६ कुरिया नामकरण गरियो । पछि बगाले टोल, रामकृष्ण टोल, गणेश टोल, भीमसेन टोल, मोहरिया टोल लामाचौतारा हुँदै नाम परिवर्तन हुँदै आयो । त्यसयता नै पोखरामा यस पर्व मनाउन थालिएको हुनसक्ने उहाँको अनुमान छ ।  

यस पर्वको शुरुआतका सन्दर्भमा संस्कृतिकर्मी श्रेष्ठ भन्नुहुन्छ, “मृत्यु संस्कारमा आधारित यस पर्व राजा प्रताप मल्लले आफ्नी रानीलाई सान्त्वना दिने उद्देश्यका साथ यस्ता घटना अरुको पनि हुन्छन् भनेर देखाएर रानीको मन भुलाउन प्रारम्भ गरेको पाइन्छ ।” श्रेष्ठले  ख्याली बनाई हसाउने प्रयत्न गरेको, एउटा मनोवैज्ञानिक समस्या समाधानको उपाय खोजी पनि यस पर्वमा जोडिएको साथै अर्कातर्फ यस पर्वले वर्षभरि शहरमा कति मानिसको मृत्यु भयो भनेर तथ्याङ्क सङ्कलन गर्न पनि सहज हुने गरेको बताउनुभयो । 

पछिल्लो समय प्रविधिको प्रयोग र अनेक उत्सव महोत्सवले गाइजात्राको महत्वलाई घटाए पनि ऐतिहासिक सांस्कृतिक पक्षबाट हेर्दा यो पर्वको महत्व निकै रहेको उहाँको भनाइ छ । यसरी शुरू भएको यो महत्वपूर्ण जात्राका दिन पोखरामा सक्नेले मृतकको सम्झनामा रामायण प्रदर्शनसमेत गर्ने परम्परा रहिआएको छ । रामायण प्रदर्शन मा भगवान् रामको जीवन झल्काउने गरी झाँकी प्रदर्शन गरिन्छ । प्रदर्शनमा विशेषगरी आफ्नै सन्तानलाई राम, लक्ष्मण र सीताको भेष धारण गर्न लगाइन्छ । अर्कातिर हनुमान, जाम्बवान, नारद, राधाकृष्ण, शिव, पार्वती आदिका झाँकी बनाएर भजन कीर्तन गर्दै नगर परिक्रमा गराइन्छ । यसरी प्रदर्शन गर्नाले मृतकले स्वर्गमा स्थान प्राप्त गर्दछन् भन्ने जनविश्वास रहेको छ । 

नेवाःखलः कास्कीका अध्यक्ष अशोक पालिखेका अनुसार गाइजात्रा अर्थात् तायामचाः प्रतियोगिता विसं २०५२ बाट निरन्तररुपमा गरिँदै आइएको छ । त्यसअघि विभिन्न अवसरमा गाईजात्रा देखाउँदै आए पनि २०५२ सालदेखि निरन्तर प्रतियोगिता हुँदै आएकामा गत वर्ष र यस वर्ष कोरोनाका कारणले प्रतियोगिता भएन । मृतकका घरमा गाई निकाल्ने कार्य भने हुँदै आएको छ । यस पर्वमा चार परी र एक जोकर नचाइन्छ भने झ्याली, खिं र शहनाई बजाइन्छ । पोखरामा प्रदर्शन गरिने यो तायामचा हेर्न गाउँगाउँबाट पनि मानिस आउने गरेको पालिखेको भनाइ छ । “लोप हुँदै गएको यो संस्कृतिलाई बचाउन हरेक वर्ष प्रतियोगितात्मकरूपमा आयोजना गर्दै आएकामा कोभिड– १९ को महामारीका कारण गत वर्ष र यस वर्ष निरन्तरता पाउन सकेन”, पालिखेले भन्नुभयो । निकै पुरानो इतिहास बोकेको कास्कीमा प्रचलित विभिन्न पर्वमध्येको एक गाईजात्रा पर्व अर्थात् तायामचा पनि हो । उहाँका अनुसार पहिला पाँच सात टोलमा मात्र हुने यो प्रतियोगिता पछिल्लो समय ३३ वटा टोलमा हुँदै आएको थियो ।  

नयाँबजार सांस्कृतिक समितिका अध्यक्ष शम्भुलाल श्रेष्ठ धार्मिक परम्परा र व्यङ्ग्यात्मकरूपमा यो नाचको महत्व दर्शाउनु हुन्छ । उहाँका अनुसार मान्छेलाई सिङ बनाई महिलाका लुगा दुपट्टा, तास, ढाका र अन्य चोलो डोकोमा बेरी गाईलाई पूजा गर्दै बजार परिक्रमा गराइन्छ । नृत्यमा चारजना परी र एक जना नाङ्गेच्यालाई बाजाको तीन तालमा नचाउने गरिन्छ । नेपाली संस्कृति संरक्षणका लागि हुँदै आएको यस्ता गाईजात्रा पर्वले नयाँ पुस्तालाई यसको ऐतिहासिक सांस्कृतिक महत्व बुझ्न अवसर मिल्दै गएको उहाँको भनाइ छ । (रासस,  जमुना वर्षा शर्मा)