• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध



file

गलकोट । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षाका कारण बागलुङ नगरपालिका–१० दबल्याङमा सडक अवरुद्ध भएको छ भने करिडोरकै फुस्रेखोलामा निरन्तररूपमा सडकमाथिबाट ढुङ्गा खसिरहेका छन् । बागलुङमा लगातारको वर्षाका कारण दक्षिण भेग जोड्ने सडक सम्बन्धविच्छेद भएको हो ।

दब्ल्याङ हुँदै बलेवा कुश्मिसेरा जाने सडक केही दिनदेखि बन्द भएपछि कालीगण्डकी करिडोरमार्फत सवारीसाधन सञ्चालनमा आएका थिए । निरन्तरको वर्षापछि करिडोर अवरुद्ध भए पनि वर्षा नरोकिएका कारण सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

करिडोरको दब्ल्याङमा बुधबारदेखि लगातार लेदो बगिरहेका कारण सवारी चल्न सकेका छैनन् भने बागलुङ–१३ फुस्रेखोलामा निरन्तर सडक माथिबाट ढुङ्गा खसिरहेकाले वर्षा रोकिएपछि मात्रै सडक खुलाउने योजनामा रहेको नगर उपप्रमुख राजु खड्काले बताउनुभयो ।

“बुधबार दव्ल्याङमा समस्या थिएन, सडकमाथिबाट फुस्रेखोलामा ढुङ्गा खसिरहेकाले दुर्घटना रोक्न बुधबार९हिजो० देखि नै सवारी सञ्चालनमा रोक लगाएका छौँ”, उपप्रमुख खड्काले भन्नुभयो, “पानी नरोकिँदासम्म दब्ल्याङको पहिरो पन्छाउन त सकिएला तर फुस्रेखोलामा ढुङ्गा खसिरहेकाले समस्या भयो, ढुङ्गा हटाउन नेपाली सेनालाई सहयोग मागिएको छ ।”

सडक अवरुद्ध हुँदा दुई दिनदेखि बागलुङको दक्षिण भेग जोड्ने बलेवा र जैमिनी नगरपालिका तथा बरेङ गाउँपालिकाको जिल्ला सदरमुकामसँगको सडक सञ्जाल टुटेको छ । दब्ल्याङको पहाड गहिरिएर पहिरो गएका कारण एक महिनादेखि बलेवा, भकुण्डे, कुश्मिसेरा र बरेङ जाने सवारीसाधन करिडोरको सडक प्रयोग गरेर सञ्चालनमा आइरहेका थिए ।