• २९ असार २०८१, शनिबार
  •      Sat Jul 13 2024
  •   Unicode
Logo

प्रमिश ! मैले जीवनको परिभाषा जानिन



जीवन दर्शनको एक श्लोक मलाई बाल्यकालमा अग्रजले भनेको याद आउँछ– “आसनम् उचनम् चैव , परस्त्री च पर–पर , जागृतीम् न भए नाश्ती, पहिले रिस क्षमा गर“ बाल्यकालमा सुनेको भएकाले श्लोक नमिल्न सक्छ माफ गर्नुहोला तर यसलाई अहिले बुझ्ने प्रयास गर्दा बस्नु अगाडी आफू कस्तो ठाँउमा बसी रहेको छु हेक्का पुर्‍याएर मात्र बस्नुपर्ने भनेको रहेछ । पररस्त्रीसँगको सम्बन्धले परिवार, इज्जत सबै सखाप हुने रहेछ, अनि रिसले शरीरलाई पनि हानी, सम्बन्धलाई हानी इष्टमित्र सबै सकाउने रहेछ । जीवन के हो त, होश हवासमा बस्नुनै जीवन हो त ? पाठकलाई यो लेखकले किन शीर्षकनै अंग्रेजी शब्दबाट शुरु गर्‍यो भन्न लाग्न सक्ला ।

प्रमिशको नेपाली शब्दनै थाहा नभएको व्यक्तिले के लेख्ने प्रयास गरेको होला, मनमा लाग्ला पाठकवृन्दलाई कि यो लेखक अंग्रेजी शब्द प्रयोग गरेर आफूलाई आधुनिक स्थापित गर्न खोज्दैछ । तर विनय अन्यथा नलिइयोस् आजकाल धेरै अंग्रेजी शब्द जनबोली भएका छन । त्यही जनबोलीको लहरलाई टपक्क टिपेर यो लेखकले एउटा अंग्रेजी शब्दलाई सापट लिने दु:साहस मात्र गरेको हो । प्रमिश ! नेपाली शब्द होला कसम वा माफ गर्नुहोला ।

यथार्थमा यो जीवन कति गहन अनि कति गम्भीर चीज रहेछ बस्तवमै म जस्तो अल्पवुद्धिले के बुझोस । एक सिद्ध तपस्वी तथा फकिरले बुझ्न नसकेको गहन अनि अतिनै गम्भीर तत्व जीवन वास्तवमा के होला ? झन बुझ्यो झन कठिन व्यक्ति पिच्छे यसको परिभाषा फरक अनि सोच फरक पाउँछु ।

मानिस जन्म लियो तत्पश्चात शुरु भयो यात्रा अनन्त , मिलन विछोड, योग संयोग, दु:ख-सुख, आरोह-अवरोह, प्रयत्न लगनशीलता, ठक्कर-अड्चन, विरोधी-सहयोगी, मित्र-शत्रु , धोकेबाज-हितैषी, प्रेम-धोका, लाभ-हानी, यात्रा-बैरागी यस्तै यस्तै चीजमै रुमलिएको अनि तत्वदर्शीहरुले भन्ने गरेको योगमायाको जालोमै रुमलिएर दिन अनि रातका सेतो अनि कालो मुसाले कुटु-कुटु खाईरहेको हाम्रो समय अनि हेर्दा हेदै वालापनबाट जवान बयस्क अनि वृद्ध, केही गर्ने, कमाउने, मान प्रतिष्ठा आर्जन गर्ने हुटहुटी यस्तै यस्तै मानिसको जीवन कस्तो अचम्म चीज कस्तो अद्भुत तत्व हो । फेरि अंग्रेजी शब्द सापट लिँदा प्रमिश ! मैले जीवन के हो यसको सारनै थाहा पाइन, परिभाषा नै जानिन् ।

जीवन के हो ? प्रसिद्ध लेखकको शब्द सापट लिँदा काँडा कि फूल ! काँडा सम्झिऊँ यति सुन्दर छ फूल सम्झिऊँ अनेकन कठिनाइ मात्र छन् । कुनै चीज मैले पाउँदिन भन्ने थाहा छ तर लालसा उत्कण्ठ छ, हाँसिल गरि छाडने हुटहुटी छ । गन्तव्य नभएको मानिस अनि विष नभएको सर्पको के अर्थ । मानिस भएपछि महत्वकांक्षा हुनुपर्छ नत्र जीवन के जीवन अरे समाजको मानिसलाई अघि बढने प्रेरणा दिने उदबोदन यी अनि यस्तै हुन्छन् । अर्को वाक्य एउटा जवान केटा वा केटी आफूले मन पराएको व्यक्ति कोही अरुसंग प्रणयमा छ तर त्यो उसलाई हाँसिल गर्छु भन्ने व्यक्ति अठोटका साथ भन्ने गर्छ खाली पोष्टमा के गोल हान्ने किपर होस् उसलाई हटाएर आफूले चाहेको चीज पाउनु पो जीवन ।

नवयुवकलाई हेर्दा जीवन प्रेम प्राप्ति रहेछ भान हुन्छ । अनि केही मानिस भन्छन् सहजै पाउने चीजको के महत्व जुन चीज पाउन गार्‍हो छ त्यो चीज हाँसिल गर्नु पो वास्तवमा जीवनको सार हो । कता कता यथार्थ यस्तै होकी जस्तो पनि लाग्ने । जे कुरालाई बढी महत्व दियो त्यो चीज गुमेर जाने रहेछ अनि ठिक्क महत्व दिएर अनवरत प्रयत्न हुँदा त्यो चीज पाइने रहेछ । भने पछि के जीवन भनेको उपलब्धि हो त जस्तो लाग्छ । सफलता मात्र जीवनको सार हो त ? पक्कै होइन । असफलता त आउँछ नै । फेरि पनि त जीवन जीउनै पर्ने रहेछ नि । आफ्नो अमूल्य चीज वा व्यक्ति वा पद गुम्दा पनि सहजै लिएर बाँच्नुपर्ने रहेछ, हाँस्नुपर्ने रहेछ के यही जीवन हो त ?

विदेश प्रयास गर्ने मनुवाको भिषा लाग्यो , पशुपतिमा आफ्नो नाममा आरती , भिषा लागेन गम्भीर मुद्रामा मन्दिर पारी गएर एकान्तमा रमन गर्ने । आफूले सोचे जस्तो सबै कुरा भयो भगवानमा धन्यवाद , पूजा पाठ, ध्यान चिन्तन, हवन , मन्दिर भ्रमण अनि भने जस्तो भएन नाश्तिकपन, निराशा, डिप्रेशन वास्तवमा जीवन के हो ? म कार्यालयबाट फर्किँदा गोठाटार सनसिटी हुँदै फर्किन्छु । खोला किनारमा धेरै बटुवा कोही सन्ध्याकालीन वाक कोही बागमती किनारमा यसो साँझको आनन्द लिइरहेको हुन्छन् ।

मेरो आँखा सधैं त्यो मकै बेच्ने दिदीको अनुहारमा पुग्छ, दिनभरि त्यो तातो आगोमा मकै बेचेर कमाएको पैसा औलामा थुक लगाउँदै गनेको अनि त्यो अनुहारमा चमक अहा कस्तो दिनभरिको पीडा कता हरायो हरायो पैसा गन्दै आज चाँही यति व्यापार गरे अनि मनमा सोच्दिहुन् ती दिदी कुनै सपना होला, बेलुका सन्तानका लागि मीठो खानाका परिकार किनेर लैजाने वा नाना किनेर लैजाने । त्यो देख्दा जीवन त वास्तवमा आनन्द पो रहेछ जस्तो लाग्छ । तराईको तातो हावामा दिन भरि चर्को घाम नभनि अनुहारमा अनि मनमा आफनो सन्तान वा काम नगरि बेलुका कसरी छाक टार्ने भन्ने सोचे भारी बोकेर दिनचार्य गरेका वा बाटोमा जुत्ता पालिस लगाएकाले साँझ पैसा गन्दै मन्द मन्द मुस्कान अनुहारबाट प्रवाह गर्दा जीवन जे छ आफूसंग त्यसमै रमाउन सक्नुनै पो रहेछ जसतो प्रतित हुन्छ ।

फेरि हेर्छु चिल्ला गाडीमा, सुटेड बुटेड लवज फरक चाल ढाल फरक, खान पिन फरक सबैको आर्कषणको केन्द्र बनेका व्यक्तिहरुको रहन सहन पो वास्तवमा जीवन रहेछ जस्तो लाग्छ । त्यो लुम्रेझुम्रे लुगा लगाएको मानिसलाई बाटोको कुकुरहरुले झम्टेको अनि सुटेड बुटेड मानिस हिँडदा कुकुरसमेत लुरुक्क परेको देख्दा यो जनवारले समेत कति विभेद जानेको है भन्ने मनमा लाग्छ । मृत्युको मूखबाट फर्किएकाहरुको लागि जीवन अर्को चोला हुने रहेछ । यो लेखकसमेत अर्को जुनी पाएकोले जीवन फगत अमूल्य तत्व अनि इश्वरको देन रहेछ एक मनले भन्छ तर गर्दै जाँदा हेर्दै जाँँदा फेरि रनभूल्ल हुन्छ ।

दमकको एक अस्पतालमा स्नातक सकिने वित्तिकै सरदर २३–२४ वर्षको उमेरमा काम गर्दा गर्मीको बेला गर्मी छल्न भेडेटारको चिसोको मज्जा लिन त्यता गएको फकिँदा जीवन मरणको अनुभव दिने एक कार चालकबाट आफू चढेको सवारी हेर्न लायक नछोडी मलाई कैयन बल्डयांङ्ग तल झारेर बेहोसी अवस्थामा प्रतिष्ठान पुगाएर टाउकोमा लागेको चोटमा टाँका लगाउँदा बल्ल होस आउँदा मरणलाई नजिकबाट नियालेर फकिएको अनुभुति पाएको अनि होसमा आउँदा लगाएको पाइन्ट सबै च्यातिएको अवस्था तर गोजीबाट भर्खरै लिएको आइ.फोन ५ एस कसैले झिकेको सम्झिदा संसार कसतो अनि जीवन के रहेछ अचम्म लाग्छ । कोही व्यक्ति दुर्घटनामा परेको छ कसैको जीवनको लक्ष्य त्यो व्यक्तिको सामाग्री हात पार्नेमा छ । केही आभावलेनै त होला मानिसलाई त्यसतो गराउने । जसो तसो चोरेर ढाँटेर जसरी हुन्छ केही गर्ने उत्साहठ अनि लहठनै जीवन हो वा के हो जीवन प्रमिश मैले बुझनै सकिन ।

आज आफूलाई सम्झेर हेर्दा मृत्युको मुखबाट फर्केर पाएको नयाँ जीवन महत्वकांक्षाले भरिपूर्ण छ, अतृप्त छ , केही गर्ने उत्कंठा छ , दु:ख सुख सिक्काका दुई पाटा हुन सहज रुपमा लिएर धीरज भएर लक्ष्य प्राप्ती गर्नु छ आफूले चाहेको कुरा जसरी भए पनि पाउनु छ भन्ने लहडमै आज भोलि गर्दै उर्जावान भएर जिन्दगीको रथ दौडाइने रहेछ । जे आफूसँग छ त्यतिले काँहा पुग्ने रहेछ र अझै धेरै गरौं अझै धेरै कमाई, सबैले चिन्ने बनुम, प्रतिष्ठित बनुम् सफल बनुम् यस्तै यस्तैमा जीवनरथले बेग पकडने रहेछ । कहिले बालापन छोडियो पत्तो भएन, हे्दै दौडिदै जीवनले आफ्नो गति नछोडने हेर्दा जीवन समय पो रहेछ कि के हो जसतो लाग्छ । जसले समयको बेगमा आफूलाई दौडाउन सक्यो उसले जित्यो , जो अल्छी भयो भोलीवादी भयो उसले जीवन हार्यो । भने पछि समयको बेग अनुसार चल्न सक्नु पो जीवन रहेछ कि के हो ?

कोही मनोरन्जननै जीवन ठान्छन , कोही भोग विलासनै जिवन ठान्छन । कोही परमतत्वको खोजीमा लाग्नु जीवन ठान्छन । यहाँ कोही कोहीसंग खुसी छैन । एकै आमा बुवाका सन्तान एक अर्कासंग खुसी हुन्दैनन अरुको त के कुरा गर्नु । ईष्या, जलन, प्रतिशोध, धोका, स्वार्थ त सामन्य व्यवहार भएको छ मानवहरुमा अनि जीवन मानवमा मानवता हराउँदै गएकाले स्वार्थभाव बढदै गएकाले झन सकसपूर्ण हुँदै गएको हो त मनमा प्रश्न उठछ ।

सत्य हराउँर्दै गएको छ अरे अनि मानिसलाई विश्वास गर्न एकदमै गार्‍हो हुँदै जाँदै छ अरे, आधुनिकीकरण अनि जेनेरेशन परिवर्तनसँग मानवीय मूल्यता हराएर स्वार्थपन, नाश्तिकपन, देखासेखी अनि दानवियपन बढ्दै गएको अनि अहिलेको पुस्ताले जीवन मनोरन्जन मात्र बुझन थालेको हो त ? सबैलाई एउटै घानमा हाल्नु दुभाग्यपूर्ण होला अनि पूर्वाग्रह होला तर १८–२० वर्षको जवान लठ्ठ नसामा हरेक दिन जसतो संगत फेरि फेरि कहिले काँहा कहिला काँहा देखिनु , जीवनमा कुनै लक्ष्य छैन , पढाई लगभग बिट मार्ने अवस्थामा पुगेको अनि क्लेज गए पनि अभिभावकको करकापमा अनि अधिकांश विषयमा फेल भएको रिजल्ट नेपालका धेरै विश्वविद्यालयको परीक्षाफलको तथ्यांकबाट पाउन सकिन्छ । गतिहिन तवरमा मोटरसाइकल हाँक्ने अनि हरदम नसामा झुम्ने जीवननै के वास्तवमा आनन्दमय जीवन हो त ? प्रमिश हजुर यो अकिन्चन मन्दवुद्धि लेखकले जीवनको अर्थनै बुझिन ।

शान्त सोच, सत्यको संगत अनि असल व्यक्तिको पहिचान तथा सहकार्य, नि:स्वार्थ भाव, अथक लगनशीलता अनि शान्त मन, वुद्धि, चित्त साथै सुखमा नमातिने दु:खमा नआतिने समभाव समदृष्टि करुणा, प्रेम, सदभाव, अनवरत स्वच्छजीवनशैली, शुद्ध आहार, सात्विक विचार, अठोट अनि गतिशील व्यवहारनै जीवन हो या अन्य केही हो कृपया मैले जीवनको भाष्य बुझिन । “प्रमिश ! मैले जीवनको परिभाषा बुझिन । “