• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

अधिकांश ठाउँमा भीषण वर्षा, लगातार तीन दिन पानी पर्ने



काठमाडौं । देशभरको मनसुन थप सक्रिय भएको छ । आज बिहानैदेखि देशभरका अधिकांश स्थानमा पानी परिरहेको छ । कतिपय ठाउँमा त भिषण वर्षा भइरहेको हो ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले भीषण वर्षाको सम्भावना भएकाले पूर्वतयारी र आवश्यक सतर्कता अपनाउन भनेको छ । केही दिन मनसुनको न्यूनचापीय रेखा पूर्णरूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहने देखिएकाले आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने महाशाखाले जनाएको हो ।

महाशाखाले आजदेखि केही दिनसम्म लगातार पानी पर्ने सम्भावना रहेको जनाएको छ । आजदेखि तीन दिन अर्थात् आइतबारसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाकोे सम्भावना छ ।

गण्डकी प्रदेशका केही स्थानमा, कोसी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

महाशाखाले आजदेखि आइतबारसम्म नै मेघगर्जन र चट्याङ, भारी वर्षा, भूक्षय, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, नदी र खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ । सोहीअनुसार नियमितरूपमा अद्यावधिक गर्दै जाने जनाएको छ । महाशाखाले दैनिकरुपमा सबैलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन र यस महाशाखाबाट जारी हुने तीनदिने मौसम पूर्वानुमान बुलेटिन नियमित हेर्न अनुरोध गरेको छ ।