११ श्रावण २०८३, सोमबार
,
Latest
यमनका हुथी विद्रोहीद्वारा साउदी अरबको ड्रोन खसालेको दाबी, लाल सागरमा जहाज लक्षित आक्रमण स्पेनमा डढेलोको भीषण संकटः दशौँ हजार नागरिक विस्थापित दक्षिण चीन सागरमा भियतनामी जहाज दुर्घटनाः ४६ चालक दलका सदस्यको सफल उद्धार इराक र लेबनानका प्रधानमन्त्रीबीच भेटवार्ताः क्षेत्रीय स्थिरता र द्विपक्षीय सहयोगमा जोड हेटौँडाका शिवालयमा साउनको दोस्रो सोमबार भक्तजनको घुइँचो झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन कोदारी राजमार्गमा दुई मन्त्रीको जम्बो निरीक्षण, राजमार्ग खुल्न भने अनिश्चित साउनको सोमवार देवघाटमा श्रद्धालुको उपस्थिति न्युन एनभिएल अक्सनमा १४ खेलाडी सर्वाधिक मूल्यमा, सबैभन्दा बढी रुचाइए चिरञ्जीवी र सनोज
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले जित्यो केन्याविरुद्धको सिरिज



अ+ अ-

काठमाडौं । नेपालले घरेलु टोली केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज हात पारेको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको पाँचौं तथा अन्तिम खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज ३–२ ले आफ्नो पोल्टामा पारेको हो ।

नेपालले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको केन्याले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन मात्र बनाउन सक्यो ।

केन्याका लागि नेहेम्याह ओधियाम्बोले सर्वाधिक ३७ रन बनाए । यस्तै इरफान करिमले २८ रन बनाउँदा कोलिन्स ओबुयाले २३ रन जोडे ।

कप्तान शेम एन्गोचे ३३ रनमा अविजित रहँदा नेल्सन ओधियाम्बो १३ रनमा अविजित रहे । नेपालका सन्दीप लामिछाने र वसिर अहमदले २/२ विकेट लिए । यस्तै करण केसी, आदील आलम र दीपेन्द्र सिंह ऐरीको नाममा १/१ विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले अर्धशतकीय इनिङ्स खेले । उनले ४४ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्दै ५९ रन जोडे । यसैगरी रोहित पौडेलले २५ बलमा ४७ रन जोडे । उनले सात चौका प्रहार गरे ।

यस्तै, अर्जुन साउदले २१ बलमा २९ रन, दिपेन्द्र सिंह ऐरीले १८ बलमा २२ रनको योगदानी दिए । केन्याका शेम एन्गोचे, भिराज पटेल र नेहेम्याह ओधियाम्बोले २/२ विकेट लिए भने लुकास ओलुओचले १ विकेट लिए ।

अब नेपालले केन्यासँग एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।