• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए ★   लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने ★   नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार ★   हरेक निर्वाचन क्षेत्रमा कम्तिमा ३ र बढीमा ४ योजनामा बजेट विनियोजन गर्नेगरी नीति बनाउनुपर्छः भगवती…

भन्सार नाकामा छैन विषादी परीक्षण गर्ने प्रयोगशाला



दोधारा चाँदनी । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ । भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गर्न कार्यालयको आफ्नै प्रयोगशाला नहुँदा समस्या हुने गरेको हो ।

विषादी परीक्षणका लागि कैलालीको अत्तरिया धाउनुपर्ने बाध्यता रहेको जनाइएको छ । कार्यालयका सूचना अधिकारी परमानन्द जोशीले भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण गनुपर्ने भए पनि प्रयोगशाला र प्राविधिक नहुँदा परीक्षणका लागि ४२ किलोमिटर टाढा अत्तरिया जानुपर्ने बाध्यता रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार विषादी परीक्षणका लागि नमूना पठाए पनि रिपोर्ट आउन एक/दुई दिनसम्म समय लाग्ने गरेको छ । “विषादी परीक्षणका लागि न प्रयोगशाला छ न प्राविधिक नै छन् ।” उहाँले भन्नुभयो, “रिपोर्ट आउन कम्तीमा एक दिन लाग्छ छिटो भयो भने बिहान आएको गाडी साँझसम्म पठाउँछौँ ।” उहाँले अत्तरिया प्रयोगशालामा पनि प्राविधिक कम भएका कारण कहिलेकाहीँ समय बढी लाग्ने गरेको बताउनुभयो । “परीक्षण गर्न टाढा पठाउनु पर्दा समय लाग्छ सेवाग्राहीले गुनासो गर्ने गरेका छन् ।” उहाँले भन्नुभयो, “रिपोर्ट आउन समय लाग्दा भारतबाट आएका तरकारीका गाडी एक/दुई दिन नाकामै रोकिनुपर्ने बाध्यता छ ।”

सब्जीमण्डी व्यवसायी समितिका अध्यक्ष विशाल सुनारले भन्सार कार्यालयले भारतबाट आउने तरकारी परीक्षणमा कडाइ गनुपर्ने बताउनुभयो । “भन्सार कार्यालयमा प्रयोगशाला हुन जरुरी छ विषादी परीक्षण नगरी तरकारी आयात हुन दिनुहुँदैन ।” उहाँले भन्नुभयो, “परीक्षणकै लागि नाकामा लामो समय तरकारीका गाडी रोकेर राख्नुपर्ने बाध्यता छ ।” उहाँले गड्डाचौकी भन्सार कार्यालयमा प्रयोगशाला भएर व्यवसायीलाई सहज हुने बताउनुभयो ।

पछिल्लो केही वर्षयता कञ्चनपुरमा भारतबाट आउने तरकारीमा कमी आएको अध्यक्ष सुनारले जानकारी दिनुभयो । अहिले डडेल्धुराबाट तरकारी आयात हुने गरेको व्यवसायी बताउँछन । “आलु र प्याज मात्रै भारतबाट आउने गरेको छ ।” सब्जीमण्डीका तरकारी व्यवसायी सन्तोष महरले भन्नुभयो, “७० प्रतिशत स्थानीय उत्पादन छ ३० प्रतिशत मात्रै बाहिरबाट आउँछ ।” सिजनको बेला स्थानीय उत्पादन प्रशस्त हुने भए पनि शीतभण्डारको अभावका कारण अफ सिजनका बेला भारतबाट तरकारी आयात हुने गरेको व्यवसायीका बताउँछन् ।