२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई लाखले गरे चितवन निकुञ्जको भ्रमण, उठ्यो एघार करोडको राजस्व



अ+ अ-

नवलपुर । आर्थिक वर्ष २०७८/७९ मा झण्डै दुई लाख व्यक्तिले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् । गत आवमा आन्तरिक र बाह्य गरी एक लाख ९० हजार ४५८ जनाले निकुञ्जको भ्रमण गरेका छन् ।

निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार गत आवमा एक लाख ५५ हजार ६७१ आन्तरिक तथा १९ हजार ९८९ सार्क मुलुकका र १४ हजार ८०८ विदेशी नागरिकले निकुञ्जको भ्रमण गरेका थिए । एक वर्षको अवधिमा ७५ हजार २७७ महिला र ८० हजार ३४९ पुरुष (आन्तरिक पर्यटक)ले निकुञ्जको भ्रमण गरेका थिए । सार्क मुलुकका नौ हजार १३० महिला र १० हजार ८४९ पुरुष तथा विदेशी ६ हजार ७८० महिला र आठ हजार २८ पुरुषले निकुञ्जको भ्रमण गरेको तिवारीले जानकारी दिनुभयो ।

गत आवको चैतमा सबैभन्दा बढी पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए । चैतमा २६ हजार २१८ जनाले निकुञ्जको भ्रमण गरेका थिए । चैतमा २० हजार ८६९ नेपाली, दुई हजार २४८ सार्क मुलुकका र तीन हजार १०१ विदेशी नगारिकले निकुञ्जको भ्रमण गरेका थिए । निकुञ्ज नवलपुर, नवलपरासी, चितवन, मकवानपुर र पर्सा जिल्लामा पर्ने भए पनि जिप सफारीका लागि चितवन र नवलपुरबाट मात्रै स्वीकृति प्रदान गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा विभिन्न शीर्षकबाट रु ११ करोड ४९ लाख ९७ हजार राजस्व सङ्कलन गरेको छ । सूचना अधिकारी तिवारीका अनुसार निकुञ्जले सबैभन्दा बढी राजस्व पर्यापर्यटन शीर्षकबाट प्राप्त गरेको छ । निकुञ्जले पर्यापर्यटन शीर्षकबाट रु १० करोड २३ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ ।

निकुञ्ज प्रवेशवापत प्रतिव्यक्ति नेपालीले रु १५०, सार्क मुलुकका पर्यटकले रु एक हजार र विदेशीले रु दुई हजार राजस्व बुझाउने गर्दछन् । गत वर्ष निकुञ्जले पर्यटकबाट रु सात करोड २९ लाख ४५ हजार, जिप सफारीबाट रु दुई करोड ७८ लाख ८० हजार तथा डुङ्गा सफारीबाट रु १५ लाख ७३ हजार राजस्व सङ्कलन गरेको तिवारीले बताउनुभयो ।

त्यस्तै निकुञ्जले गैरकाष्ठ वन पैदावर (ढुङ्गा, गिट्टी तथा बालुवा) बिक्रीबाट रु ६९ लाख ४९ हजार, दण्ड सजायबाट रु ३२ लाख ११ हजार, काठ र दाउरा बिक्रीबाट रु सात लाख १७ हजार तथा अन्य शीर्षकबाट रु १७ लाख २० हजार राजस्व सङ्कलन गरेको थियो ।