५ श्रावण २०८३, मंगलवार
,
Latest
बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रामिण सडक सञ्चालन नहुँदा खाद्यान्न अभावको सङ्केत



अ+ अ-

बैतडी । वर्षाका कारण बैतडीका ग्रामीण कच्ची सडक सञ्चालनमा हुन नसक्दा खाद्यान्न अभाव हुने सङ्केत देखिएको छ । लगातारको वर्षाका कारण सडक हिलाम्मे भएका र बेलाबेलामा खस्ने पहिराका कारण सवारी साधन सञ्चालनमा समस्या हुँदा ग्रामीण क्षेत्रमा खाद्यान्न अभाव हुने अवस्था सिर्जना भएको होे ।

जिल्लाको ढोल्यामोड– हाट, पाटन– पञ्चेश्वर, दुदिलाखान–गाँजरी, सिल्लेगडा–कटौजपानी, देहीमाण्डौँ–गिरेगडा सडकमा गाडी चलाउन निकै असहज भएको छ । यस्तै सिल्लेगडा–कटौजपानी, सतबाँझ–सुर्नया, अनारखोली–कैलपाल, सदरमुकाम–सेरा, खोचलेक–सित्तड, रिमलगायत सडकमा सवारीसाधन चलाउन निकै समस्या छ । ग्रामीण सडक सुधार हुन नसक्दा वर्षात्को समयमा जोखिम मोलेर पनि यात्रा गर्नुपर्ने बाध्यता रहेको दोगडाकेदार गाउँपालिका– ८ का लोकेश विष्टले बताउनुभयो । उहाँले भन्नुभयो,“नियमितरुपमा गाडी सञ्चालन हुदैनन्, यसले ग्रामीण क्षेत्रमा खाद्यान्न अभाव हुन थालेको छ ।”

यस्तै पुर्चौंडी नगरपालिकाको केन्द्र जोड्ने ढोल्यामोड–हाट सडक हिलाम्ये हुँदा यातायातका साधन सञ्चालनमा कठीनाइ भएको छ । ढोल्यामोडदेखि हाटसम्मको सडकको ठाउँठाउँमा पहिरो खस्दा जीप तथा बस सञ्चालनमा समस्या भएको स्थानीय लालबहादुर भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयोे,“सडक हिलाम्ये हुँदा गाडी फस्ने र यात्रुहरुले धकेलेर निकाल्नुपर्ने अवस्था छ यसले दुर्घटनाको जोखिमसमेत बढ्दै गएको छ ।”

ढोल्यामोड–हाट सडक पुर्चौंडी नगरपालिका जोड्ने मुख्य सडक समयमै स्तरोन्नति नहुँदा यात्रुहरुले सास्ती भोग्दै आएका छन् । जिल्लाको सतबाँझ–श्रीभावर–हाट सडकलाई प्रदेशको गौरवको आयोजनाको रुपमा राखिए पनि स्तरोन्नति सुस्तगतिमा रहेको छ । सो सडकको दुई ठाउँबाट स्तरोन्नति भइरहेको छ ।

सडकभर पहिरो, हिलो र खाल्डाखुल्डी हुँदा सवारी साधन चलाउन पनि समस्या भएको सम्बद्ध चालकले बताए । कच्ची सडकमा ठूलाठूला खाल्डाखुल्डी र ठाउँ ठाउँमा पहिरो जाने गरेकाले सवारी सञ्चालनमा समस्या हुने गरेको जीप चालक वीरेन्द्र महताले बताउनुभयो । वर्षात्को समयमा ग्रामीण कच्ची सडकमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताका साथै ग्रामीण क्षेत्रमा खाद्यान्न अभाव हुन थालेको हो ।