१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यु–२० च्याम्पियनसिपः उपाधि जित्ने नेपालको दाबी



अ+ अ-

काठमाडौं । भारतमा आयोजना हुन लागेको साफ यु–२० च्याम्पियनसिपमा नेपाली युवा टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले आफ्नो टोलीले उपाधि जित्ने दाबी गर्नुभएको छ ।

भुवनेश्वरमा आईतवार भएको प्रि– म्याच कन्फ्रेन्समा प्रशिक्षक केसीले नेपाली टोलीको सम्पूर्ण तयारी पूरा भएको र उपाधि जित्नेमा विश्वस्त रहेको बताउनुभएको हो । कोरोना महामारीका कारण पछिल्लो २ वर्षदेखि उमेर समूहका प्रतियोगिता नभएका कारण यसपटक मुख्य प्रशिक्षक मेघराज केसीले खुला प्रतिष्पर्धाबाट युवा टोली तयार गर्नुभएको छ । प्रतियोगिताका लागि टोलीले २ महिनादेखि तयारी गरेको र यस टोलीबाट आपूm धेरै आशावादी रहेको बताउँदै उपाधि जित्ने बताउनु भयो ।

यस्तै प्रि–म्याचमा कप्तान आयुष घलानले प्रतियोगिताका लागि आफ्नो टोली तयार भएको बताउनु भयो । उहाँले माल्दिभ्सबिरुद्ध हुने पहिलो खेलमा ३ अंकका लागि खेल्ने बताउनु भयो ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपालले मंगलवार माल्दिभ्ससँग प्रतिष्पर्धा गर्न लागेको हो । भुवनेश्वरको कालिंगा रंगशालामा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ४ बजे शुरु हुनेछ । उता पहिलो प्रतिद्वन्दीको रुपमा नेपालबिरुद्ध मैदान उत्रिन लागेको माल्दिभ्साका प्रशिक्षक अहमद शाकिरले नेपाली युवा टोली आफ्ना लागि नौलो रहेको कारण खेल्न कठिन हुने बताउनु भयो ।

उहाँले आफ्ना अधिकांश खेलाडी माल्दिभ्सको शीर्ष श्रेणीको लिग खेलिरहेको कारण नतिजा आफ्नो पक्षमा आउने विश्वास व्यक्त गर्नुभयो । यसअघि १९ र १८ वर्षको उमेर समूहमा हुँदै आएको यस प्रतियोगिता यस पटक २० वर्ष मुनिको उमेर समूहमा हुन लागेको हो । प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्ने तालिका छ । राउण्ड रोविन लिगपछि तालिकाको शीर्ष दुई टोलीबीच अगस्ट ५ मा फाइनल खेल हुनेछ ।