१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई



अ+ अ-

कास्की । विश्व पर्यटन दिवसका सन्दर्भ पारे आज पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि गोरखाको सुलिकोट गाउँपालिकाका निरोज भट्ट क्षेत्रीले जित्नुभएको छ ।

पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीमा मानवनिर्मित विश्व शान्ति स्तुप, पुम्दीकोट विशाल महादेवको मूर्ति तथा बुद्ध उद्यान लगायतका पर्यटनका सम्भावना रहेका गन्तव्यको थप प्रवद्र्धनका लागि पोखरा क्लिक प्रालिले दौड आयोजना गरेको हो ।

खुला पुरुषतर्फ उपाधि विजेता भट्टले निर्धारित आठ किमी दौड ३८ मिनेट २३ सेकेण्डमा पूरा गर्नुभयो । उहाँले उपाधि सहित नगद रु २५ हजार, मेडल र प्रमाणपत्र पुरस्कार पाउनुभयो । यसैगरी सल्यानको कुमाख गाउँपालिकाका रुद्र बुढाथोकी निर्धारित दूरी ४१ मिनेट २२ सेकेण्डमा पूरा गरी द्वितीय हुनुभयो । उहाँले रु १५ हजार पुरस्कार पाउनुभयो । पोखरा–१७ का प्रकाश थिकले तोकिएको दूरी ४२ मिनेट ४२ सेकेण्डम पूरा गरी तृतीय हुनुभयो र रु सात हजार पुरस्कार पाउनुभयो ।

यसैगरी महिलातर्फ निर्धारित दूरी ५५ मिनेट २१ सेकेण्डमा पार गरी काभ्रेको चौताराका नितु तामाङले उपाधि जित्नुभयो । उहाँले रु सात हजार पुरस्कार पाउनुभयो ।

यसैगरी १६ वर्षमूनिको दौडमा पोखरा–१२ का सागर देवकोटा पहिलो हुँदै रु सात हजार र मेडल पुरस्कार पाउनुभयो । पोखरा–२२ स्तरीय दौडमा सुजिल परियारले ५३ मिनेट छ सेकेण्डमा दौड पूरा गरी रु सात हजार सहित उपाधि जित्नुभयो । पोखराको विश्व शान्ति स्तुपदेखि सुरु भइ पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी वडा कार्यालय हुँदै बुद्ध पार्क (निगाले डाँडा) सम्म पुगेर दौड समापन गरिएको थियो ।

विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका पूर्वअर्थमन्त्री रामजीप्रसाद बराल, पोखरा–२२ का वडाध्यक्ष हिमलाल बराल, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, प्रतियोगिता संयोजक दीननाथ बराल लगायतले पुरस्कार वितरण गर्नुभएको थियोे ।
यसअघि प्रतियोगिताको शुभारम्भ राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले गर्नुंभएको थियो ।

सो अवसरमा पर्यटन उद्यम र समाजसेवा क्षेत्रबाट विशेष योगदान गर्ने समाजसेवी तथा उद्यमी चन्द्रकान्त बराल र मलेसियाको माउन्ट किनाबालु हाफ म्याराथनमा ह्याट्रिक गर्न सफल अन्तर्राष्ट्रिय धावक कुसान गुरुङलाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रम संयोजक दीननाथ बरालले पर्यटनको अथाह सम्भावना रहेको र पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको पुम्दीभुम्दीको दौड मार्फत थप प्रवद्र्धन गर्ने खेलकुदमार्फत समग्र पोखराको आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनका लागि प्रतियोगिता गरिएको बताउनुभयो ।