२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

विपद्को कहरः नदी तटीय क्षेत्र जलमग्न, जनधनको क्षति

विपद्को कहरः नदी तटीय क्षेत्र जलमग्न, जनधनको क्षति
अ अ+ अ-

काठमाडौँ: नेपाली समाजमा एउटा भनाइ छ, ‘विपद् बाजा बजाएर आउँदैन !’ हुन त जल तथा मौसम विज्ञान विभागले केही दिनअघि नै मौसममा बदली आउने र जोखिम निम्त्याउने भन्दै सचेत रहन आग्रह गरिसकेको थियो तर पनि यसपटक देशव्यापी रूपमा बाढी पहिरोले जनधनको क्षति पुर्‍याएको छ । विपद् बाजा बजाएरै आएजस्तो भएको छ यसपटक ।

विभागकानुसार यस वर्षको मनसुन करिब अन्त्यको चरणमा पुग्नै लाग्दा देशव्यापी रूपमा परेको अविरल वर्षाका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ । वर्षाका कारण यसपटक राजधानी काठमाडौँ उपत्यका पनि निकै प्रभावित भयो ।

यहाँ अधिकांश नदी तटीय क्षेत्र जलमग्न छन् । बागमती, विष्णुमति, हनुमन्ते, बल्खु, नख्खुलगायत खोलामा अत्यधिक जलस्तर बढ्यो । वर्षाका कारण पसल, घर तथा आवासस्थलमा बाढी पस्दा दिनचर्या अस्तव्यस्त बन्न पुगेका छ । आज साँझपख एकैछिन घाम लागे पनि प्रभावितमा खुसीको सञ्चार भयो ।

अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानले हजारौँ मानिस प्रभावित भई एकैपटक उद्धार गर्नुपर्दा सुरक्षाकर्मीलाई पनि हम्मेहम्मे नै भयो । उद्धार र राहतका लागि २० हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

बाढीका कारण उपत्यकाका नदी तटीय क्षेत्रका अधिकांश तरकारी बजार, सार्वजनिकस्थल, विद्यालय, सडक पूर्वाधार, बल्खु आसपासका अधिकांश थोक बजारमा बाढी पसेको छ । बिहीबार रातिदेखिको वर्षाका कारण यहाँको जनजीवन प्रभावित मात्रै भएको छैन, उपत्यका प्रवेश गर्ने सडक नाका, मुख्य राजमार्ग अवरुद्ध छन् ।

काठमाडौँ उपत्यकामा ३४ जनाको निधन भएको छभने १७ जना बेपत्ता छन् । यहाँ दुई हजार दुई सय ४१ घर डुबानमा परेका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीकानुसार ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा पाँच जनाको निधन भएको छ । काठमाडौँमा एक हजार तीन सय १५ जनाको उद्धार गरिएको छ । उद्धार तथा खोजका लागि चार हजार पाँच सय १० जना प्रहरी परिचालन गरिएका छन् ।

यस्तै, स्थानीयस्तरमा पनि युवाले स्वतःस्फूर्त रूपमा उद्धार तथा खोजकार्य गरेका थिए । ललितपुरको नख्खु खोलामा आएको बाढीमा फसेकालाई स्थानीय युवाले उद्धार गरेको विषय दिनभर नै सामाजिक सञ्जालमा चर्चामा रह््यो ।

वर्षाका कारण विद्युत् आपूर्तिमा अवरोध हुँदा राजधानी काठमाडौँको आधाभन्दा बढी स्थान प्रभावित भए । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषकानुसार वर्षाका कारण अवरुद्ध भएको बिजुली आपूर्ति सहज बनाउन आवश्यक जनशक्ति परिचालन गरिएको छ । अत्यधिक मात्रामा पानी जमेका स्थानमा पोल तथा तार व्यवस्थापनमा समस्या भए पनि प्राधिकरणले आवश्यक प्राविधिक उपकरणसहितको जनशक्ति परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

यस्तै, मुलुककै सबैभन्दा ठूला जलविद्युत् उत्पादन केन्द्रका रूपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना बन्द भएको छ । आयोजनाको बाँधस्थल तथा बालुवा थिग्य्राउने पोखरीमा क्षति पुगेको अप्पर तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले जानकारी दिनुभयो ।

नियमित बिजुली प्रवाहमा समस्या आउँदा दूरसञ्चार सेवा प्रवाहमा समेत सामान्य असर देखियो । फोन गर्दा नसुनिने, बोल्दा बोल्दै काटिनेजस्ता समस्या आज देखिएका थिए । यसैबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मातहत निकायका प्रमुखलाई मन्त्रालयमा बोलाएर विपद्को समयमा दूरसञ्चार सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले आज बेलकनदेखि वर्षाको स्तर विस्तारै कम हुँदै जाने बताउनुभयो । उहाँकानुसार नदीमा जलस्तर क्रमशः कम हुँदै जाँदा जोखिम पनि कम हुनेछ । जलस्तर कम हुँदै जाँदा खोज, उद्धार र राहतमा जुटन सहज हुनेछ । “समग्रमा तीन सय मिलिमिटरभन्दा बढी वर्षा भएको रेकर्ड गरिएको छ । चौबिस घण्टामा एक सय ४० मिलिमिटरभन्दा बढी वर्षा भएमा खतराको तह पार गरेको मानिन्छ । मुलुकभर एक सय सात वटा वर्षा मापन केन्द्रमा खतराको तह पार गरेको थियो”, शाखा प्रमुख पराजुलीले भन्नुभयो ।

आजै कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहनुभएका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको आपत्कालीन समन्वयात्मक बैठकले वर्षाका कारण भएको क्षतिको प्रारम्भिक मूल्याङ्कन गरेको छ । बैठकले अवरुद्ध भएका सबै सडक अविलम्ब खोल्ने, मृतकका परिवारलाई कानुनबमोजिम क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।

मनसुनको अवधि लम्बिदै गएको तथा पानी पर्ने प्रवृत्तिसमेतमा परिवर्तन भएको सन्दर्भमा जोखिम न्यूनीकरणका लागि सचेतना वृद्धि र पूर्वतयारीको कामलाई उत्तिकै प्राथमिकतामा राख्नुपर्ने जानकारहरूको भनाइ छ । मौसम पूर्वानुमान प्रणाली विश्वसनीय र भरपर्दो बन्दै गएको सन्दर्भमा पूर्वतयारीको कामलाई गति दिनु अत्यावश्यक भइसकेको उहाँहरूको मत छ ।

जलवायु एवम् वातावरण विषयका जानकार डा पपुुलर जेन्टल मनसुनको दुई वा तीन महिनामा नै कूल वर्षाको ८० प्रतिशतभन्दा बढी वर्षा हुँदै आएको सन्दर्भमा सावधानी अपनाउनु नै पहिलो शर्त भएको बताउनुहुन्छ । विकास र वातावरणबीचको सन्तुलन बिग्रन जाँदा नदी तटीय क्षेत्रमा बढी जोखिम परेको उहाँको भनाइ छ । “हाम्रो विकास नदी किनारमा केन्द्रीत छ । सोही कारण नदीको प्राकृतिक प्रवाहमा अवरोध उत्पन्न हुनपुगेको छ । यसलाई ध्यान दिनैपर्छ”, उहाँले भन्नुभयो, “प्रि मनसुन र पोष्ट मनसुन क्रमशः घट्दै गएको अवस्थामा एकैपटक धेरै वर्षा हुँदा जनधनको ठूलो क्षति हुन पुगेको तथ्यलाई आत्मसात् गरेर आगामी दिनमा सुरक्षित हुने उपायको खोजी गरिनुपर्छ ।”

मौसम पूर्वानुमानलाई थप व्यवस्थित र आममानिसको तहसम्म पुग्ने बनाउनुपर्नेमा डा जेन्टलको जोड छ । “विभागले यसपटक गरेको पूर्वानुमान शत्प्रतिशत मिलेको छ । धान नकाट्न, यात्रा नगर्न आग्रह गरिएको थियो । त्यसैले आममानिसमा सूचना पुग्न सकेन कि भन्ने प्रश्न रहेको छ”, उहाँको भनाइ छ,“पूर्वसूचनालाई ध्यान नदिँदा वा वास्ता नगर्दासमेत जनधनको क्षति हुन पुगेकाले आगामी दिनमा यसलाई सुधार गर्नुपर्छ । घाम लागेपछि हामी क्रमशः विपद्को क्षति बिर्सदै जान्छौँ । अर्को वर्ष उस्तै पुनरावृत्ति हुन्छ तर अब यस्तो हुनुहुँदैन ।”

मनसुन नेपालका लागि प्राणवायु जत्तिकै महत्वपूर्ण छ । खेतीपाती एवम् मुलुकको अर्थतन्त्रसमेत मनसुनसँग प्रत्यक्ष जोडिएकाले जोखिम कम गर्दै पूर्वतयारीलाई विशेष प्राथमिकतामा राख्नु जरूरी भइसकेको धेरैको भनाइ छ ।

रमेश लम्साल/रासस