२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उन्नत जातको ओखरखेती शुरु



अ+ अ-

चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा वर्षको एक बाली अन्नबाहेक अरु उत्पादन हुन नसकी अधिकांश जग्गा बाँझै रहन थालेपछि विकल्पका रुपमा उच्च गुणस्तरको ओखरखेती सुरु गरिएको छ ।

बिरुवा रोपेको छोटो समयमा राम्रो आम्दानी हुने देखिएको र युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्ने उद्देश्यले टर्कीबाट बिरुवा झिकाइएको च्यान्दलर जातको ओखरखेती सुरु गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताउनुभयो ।

यस जातको ओखर अरूको तुलनामा वयस्क अवस्थामा पनि बोट होचो हुनाका साथै दाना पनि ठूलो र हातैले फुटाउन सकिने विशेषता छ । बढी उत्पादन हुने स्वादिष्ट र प्रोटिनयुक्त भएकोले गर्भवती महिला तथा बालबालिकाको मस्तिष्क विकासका लागि ज्यादै उपयुक्त मानिएको पालिकाका कृषि शाखा प्रमुख नायब प्राविधिक सहायक ममता विकले जानकारी दिनुभयो ।

झिकाइएको प्रति बिरुवाको मूल्य रु एक हजार ५० रहेको छ । हाल ५० रोपनी जमिनमा एक हजार बिरुवा गत फागुनमा रोपिएको थियो । पकेट क्षेत्र घोषणा गरिएको यस कार्यलाई क्रमशः वृद्धि गर्दै लगिने कार्यक्रम छ । रोपिएका बिरुवाबाट दुई–तीन महिनामा नै फल फल्न सुरु गरे पनि बिरुवालाई स्वस्थ राख्न सबै फल टिपेर फालिएको थियो । एक पटक रोपेपछि ७०/८० वर्षसम्म आयु रहेको हाइब्रिड जातको उक्त ओखर दोस्रो वर्षमा फलेको फल खानयोग्य हुनेछ ।

 तेस्रो वर्षमा भने व्यावसायिक रुपमै उत्पादन भई बिक्रीयोग्य हुनेछ । प्रतिकिलो रु ७०० मा बोटमै आएर बिक्री हुने कृषि शाखा प्रमुख विकले बताउनुभयो । समुद्री सतहबाट एक हजार २०० देखि दुई हजार ९०० मिटरको उचाइसम्म यसको खेती राम्रो मानिन्छ । रोपिएका बिरुवालाई जनावरबाट जोगाउन तारबार तथा थप बिरुवाका लागि पालिकाले चालू वर्षमा रु पाँच लाख छुट्ट्याएको छ । 

त्यस्तै सङ्घीय सरकारबाट रू पाँच लाख अनुदान प्राप्त भएको छ । त्यसका लागि किसानले पनि ५० प्रतिशत लगानी गरेका छन् । चीनसँग सिमाना जोडिएको फुल्पिङकट्टी र सेलाङकट्टीमा विकल्पका रुपमा चिया, कफी तथा अलैँचीखेतीसमेत विगतमा वर्षौदेखि नै सुरु गरिएको थियो । त्यहाँका प्रत्येक घरबाट दुई/तीन जना युवायुवती रोजगारीका लागि विदेश गएकाले वृद्धवृद्धा र केटाकेटी मात्र घरमा छन् । उनीहरु खाडी राष्ट्रका साथै युरोप अमेरिका पुगेकाले विगत ५/७ वर्षदेखि करिब ४५ प्रतिशत जमिन बाँझो रहेको वडा नं ४ का वडा सदस्य आङछिरिङ शेर्पाले बताउनुभयो ।

उक्त पालिका गौरीशङ्कर संरक्षण क्षेत्रभित्र पर्दछ । जङ्गल नजिकै भएकाले लगाएको अन्नबालीलाई बँदेल, मृग, बाँदरलगायतका जनावरले खाएर नष्ट गर्ने कारणले पनि किसानले जमिन बाँझो राख्न थालेका हुन् । उच्च भू–भाग रहेका कारण असोजमा लगाएको गहुँ जेठमा मात्र पाक्ने हुँदा जीविकोपार्जन गर्नसमेत कठिन हुन थालेपछि युवा जनशक्ति विदेश पलायन हुन थालेको वडासदस्य शेर्पाले बताउनुभयो ।

खाद्यान्न अभाव भए पनि त्यहाँका बासिन्दा खासा व्यापारबाट घरव्यवहार चलाउन सक्षम थिए । विसं २०७२ को भूकम्प र कोभिड–१९ महामारीले तातोपानी नाकाको भविष्य राम्रो नदेखिएपछि युवा जनशक्ति वैदेशिक रोजगारप्रति आकर्षित हुन थालेको बताइएको छ । यस कार्यक्रमलाई पालिकाले युवा लक्षित भने पनि विदेशप्रतिको मोहले गर्दा युवा जनशक्ति रोकिने सम्भावना कमै देखिएको वडासदस्य शेर्पाको कथन छ । (रासस, राम केसी )




भर्खरै