१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल, मधेश र संघीयता रहुञ्जेलसम्म नेपाल सद्भावना पार्टीको अस्तित्व कायम रहन्छ: सरिता गिरी



अ+ अ-

काठमाडौं, ७ साउन । पूर्वमन्त्री एवम् निवर्तमान सांसद सरिता गिरी नेपाल सद्भावना पार्टीमा सक्रिय हुने भएकी छिन् । उनलाई आज पार्टीका अध्यक्ष रामकुमार महतोलगायतले दोसल्ला र माला ओढाएर पार्टीमा स्वागत गरेका हुन् । गिरीले पनि आफू पूरानो घरमा फर्किएको भन्दै खुशी साटिन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित एक कार्यक्रमका बीच गिरीलाई उक्त पार्टीमा स्वागत गरिएको र आगामी दिनमा पार्टीले देशलाई नै नेतृत्वदायी भूमिका प्रदान गर्ने विश्वास लिईएको छ ।

कार्यक्रममा बोल्दै गिरीले आफूले कहिल्यैपनि नेपाल सद्भावना पार्टी परित्याग नगरेको स्मरण गराईन् । उनले भनिन्–‘म आज सदस्यको रुपमा उपस्थिति भएको छु । मैले सद्भावना पार्टी कहिल्यैपनि परित्याग गरेको थिईनँ । यो गजेन्द्रबाबुले स्थापना गरेको पार्टी हो । उहाँकै योगदानको कारण आज मुलुकमा संघीयता आएको हो । मैले अपराधिक तत्वबाट पार्टी जोगाएको थिएँ । पछि नेपाल सद्भावना पार्टीको अस्तित्व रहेन । अहिले युवाहरु हुनुहुन्छ । तपाईँहरुले पार्टीलाई अघि बढाउनुभएको छ। म खुशी छु ।’

गिरीले मधेश, नेपाल र संघीयता भन्ने चीज रहेसम्म नेपाल सद्भावना पार्टीको अस्तित्व कायम रहने दाबी गरिन् । उनले भनिन्,‘जबसम्म नेपाल, मधेश र संघीयता भन्ने यी तीन चिज रहन्छ, तबसम्म यो पार्टीको अस्तित्व रहनेछ । यो २०४७ सालमा स्थापना भएको संघीयतावादी र मधेशवादी पार्टी हो । मैले जहाँबाट व्यवहारिक राजनीतिको क, ख, ग सिकेको थिएँ, म गजेन्द्रबाबुराको शिष्य हो । म पूनः यस घरमा आएँ । म ईश्वरप्रति आभारी छु ।’

नेपाल सद्भावना पार्टी किन चाहियो ? भन्ने विषयमा उनले लामो प्रवचन दिएकी छिन् । उनले भनिन्,‘२०६५ सालबाट मैले नजिकबाट संविधानसभा र केन्द्रको राजनीति देखें । मैले जुन कुरा सिक्न पाएँ, बुझन् पाएँ कि देशमा सरकार कसरी सञ्चालन हुन्छ भनेर, त्यो पनि एउटा अनुभवको कुरा हो । देशमा अहिले पनि राजनीतिक समस्या यथावत छ ।’ उनले आफूले केही राजनीतिक मुद्दामा अडान लिँदा आफूमाथि राजनीतिक आक्रमण र कारबाही पनि भएको स्मरण गराईन् ।

उनले ढिलै भएपनि नागरिकता विद्येयक आएको भन्दै खुशी व्यक्त गरिन् । तर, अहिलेपनि नागरिकताको नाममा महिलामाथि विभेद कायमै राखिएकोमा भने उनको गुनासो पोखिन् । उनले नागरिकता विद्येयकको सवालमा कम्युनिष्ट पार्टीहरुले सुरुमा चर्को विरोध गरेको पनि स्मरण गराईन् । उनले भनिन्,‘वाम राष्ट्रवाद भनेको के हो ? सरकारमा बस्नको लागि स्विकार गर्ने ? यो भन्दा पहिले ७ वर्षदेखि तर्क, वादविवाद गर्नुभयो । अहिले सद्बुद्धि आएको छ । म धन्यवाद ज्ञापन गदर्छु । अब आर्थिक नीति परिवर्तनको लागि पनि आवाज मधेशबाट नै उठ्छ । नेपालका सबै पूराना दल असफल भए ।’ उनले आफूहरुकै नेतृत्वमा समतामूलक समाज बन्ने दाबी पनि गरिन् ।

उक्त पार्टीले भने स्वतन्त्रता, समानता, संघीयता, स्वराज, सुराज, समृद्धि र सामाजिक न्यायका लागि देशव्यापी रुपमा सक्रिय भूमिका निर्वाह गर्ने र देशलाई नेतृत्व गर्ने विश्वास लिाएको छ ।

कार्यक्रममा पार्टीका कार्यकारिणी सदस्य नागेन्द्रकुमार सिंह, कार्यक्रमको सभा अध्यक्ष समेत गरेका केन्द्रीय अध्यक्ष रामकुमार महतो, केन्द्रीय सदस्यहरु सुनितादेवी महतो, सत्यनारायण प्रसाद रौनियार, भरतप्रसाद साह, जयनारायण यादवलगायतले आ–आफ्नो धारणा राखेका थिए । सो क्रममा नेता गिरीलाई सदस्यता नविकरणको प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य भरतप्रसाद साहले मधेशवादी दलले पनि प्रलोभनमा आफूहरुलाई कमजोर बनाउने कोशिस गर्लान् भन्दै अब होशियार भएर पाईला चाल्नुपर्नेमा नेता तथा कार्यकर्तालाई अपिल गरे ।

उनले विद्यमान पूना दलबाट देशको विकास र समृद्धि असम्भव रहेको दाबी गरे । उनले भने,‘स्थानीय तहको निर्वाचनले के देखाएको छ भने, लोसपाको सिरहामा एउटा खाता खोलेको छैन् । बरु, एमाले र कांग्रेसको वर्चश्व देखियो । देशभरि स्वतन्त्रले जितेका छन् । जनता अहिलेका दलबाट वाक्क भैसकेको अवस्था छ । देशमा भ्रष्टाचार चरम रुपमा देखिएको छ । भ्रष्टाचारले हाम्रो देश कतै श्रीलंका त हुने होईन ? भन्ने चिन्ता छ । अब हामीले समतामूलक समाज बनाउनको लागि सोहीअनुसार पाइला चाल्नुपर्छ ।’

यस्तै, अर्का केन्द्रीय सदस्य सत्यनारायण प्रसाद रौनियारले आफ्नो पार्टीमा सबै क्षेत्र र समूदायको व्यक्तिहरुको प्रतिनिधित्व रहेको सुनाए । सभाको विर्सजन गर्दै पार्टीका केन्द्रीय अध्यक्ष रामकुमार महतोले सरिता गिरीलाई पूनः पार्टीमा स्वागत गर्न पाउँदा खुशी भएको प्रतिक्रिया दिए ।

उनले भने,‘सद्भावना पार्टीले पूनः आफ्नो योद्धा नेताको रुपमा माननीय सरिता गिरीलाई भित्र्याएको छ । उहाँ यो पार्टीको सधैं नेता हो । सुरुदेखि नै सक्रिय हुनुभयो । बीचमा उहाँ केही कारणवश अन्यत्र जानुपरेको थियो । अहिले हामीसँगै आउनुभएको छ । हामी उहाँलाई स्वागत गर्न पाउँदा धेरै नै खुशी छौं ।’