१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिल प्याक पानी बोतलमा माकुरो भेटिएपछि…



अ+ अ-

कैलाली । कैलालीको टीकापुरमा एक पसलमा बिक्रीका लागि राखिएको सिल प्याक पानी बोतलमा माकुरो भेटिएको छ । आकाश गङ्गा वाटर एण्ड वेभरेज इन्ड्रस्टिज बर्दगोरिया कैलालीले उत्पादन गर्दै आएको पानीको बोतलमा माकुरो भेटिएको हो ।

टीकापुरमा रहेको बिभोर मेडिकलमा ग्राहकले पानीको बोतल मागेपछि बोतलमा माकुरो देखिएको मेडिकलका सञ्चालक सञ्जय भण्डारीले जानकारी दिनुभयो । “एकजनाले पानीको बोतल माग्नुभयो, हामिले दियौँ, बोतलको पिँधमा माकुरो देखियो”, भण्डारीले भन्नुभयो, “पानीको सिल प्याक बोतलमा माकुरो भेटिएपछि उत्पादक कम्पनीलाई खबर गर्दा त्यसलाई बेवास्ता गर्नुभयो र त्यसलाई स्वीकार गर्नुभएन ।”

उपभोक्ता हित संरक्षण मञ्च टीकापुरका अध्यक्ष एकेन्द्र तिमिल्सिनाले सिल प्याक पानीभित्र माकुरो देखिनु उपभोक्तामाथिको गम्भीर लापर्बाही भएको बताउनुभएको छ । उहाँले खानेपानी संस्थाको पानी नखाएर शुद्ध पानीका लागि प्रशोधित पानी पिउने गरेको भए पनि आँखाले देखिने खालको प्रमाणले खानेपानी कम्पनीमाथि प्रश्न उब्जाएको बताउनुभयो ।

“आँखाले देखिने खालका यस्ता फोहोर मिसावट देखिँदा आँखाले नदेख्ने कति फोहोर पानीमा होला भन्ने सजिलै अनुमान लगाउन सकिन्छ”, अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “यो उपभोक्तामाथिको गम्भीर लापर्बाही हो । यस्ता गलत कार्य गरेर उपभोक्ताको स्वस्थ्यमा खेलबाड गर्नेलाई कारबाहीको दायरामा ल्याउन जरुरी छ । होइन भने यस्ता लापर्बाहीका घटना दोहोरिनेमा कुनै शङ्का छैन ।”

आकाश गङ्गा वाटर एण्ड वेभरेज इन्ड्रस्टिजका सञ्चालक ओमनारायण महतोले आफूले उत्पादन गरेको पानीमा त्यस्तो हुन नसक्ने बताउनुभएको छ । उहाँले कसैले आफूमाथि रचेको प्रोपोगान्डा मात्रै भएको भन्दै आफ्नो व्यवसायलाई कमजोर बनाउन खेलिएको खेल भएको बताउनुभयो । “कसैले बाहिरैबाट नक्कली सिल लगाएर बनाइएको प्रोपोगान्डा हो । कम्पनीबाट त्यस्तो हुनै सक्दैन”, महतोले भन्नुभयो, “हामीले महिनैपिच्छे खाद्यमा गुणस्तर चेक गर्दै आएका छौँ । पानी बिक्रीमा र गुणस्तरमा हामी सुदूरपश्चिमकै एक नम्बरमा छौँ ।”

मेडिकल सञ्चालक भण्डारीले उपभोक्ता हित संरक्षण मञ्चलाई हस्तान्तरण गरेको उक्त पानीको गुणस्तर जाँच र आवश्यक कारबाहीका लागि इलाका प्रशासन कार्यालय टीकापुरमार्फत जिल्ला प्रशासन कार्यालय धनगढी पठाइएको छ ।