५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

निपाह भाइरस रोगप्रति सचेत रहन मन्त्रालयको आग्रह



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको सङ्क्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको हो । 

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले भारतसँग खुला सिमा भएकाले यहाँ पनि फैलिनसक्ने भएकाले सचेत रहन आग्रह गरिएको बताउनुभयो । भारतको केरला राज्यमा केही दिनदेखि निपाह भाइरसको सङ्क्रमण देखिएको छ । 

उहाँका अनुसार नेपालमा अहिलेसम्म उक्त भाइरसका सङ्क्रमित फेला परेका छैनन् । निपाह भाइरस एक प्रकारको पशुबाट मानिसमा सर्ने गम्भीर प्रकृतिको रोग लाग्ने भाइरस हो । यस भाइरस प्राकृतिकरुपमा ‘फूट ब्याट’ भन्ने प्रजातिको चमेरामा पाइन्छ ।
 
निपाह भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्ने गर्दछ । सङ्क्रमित चमेराबाट सुँगुर, गाई, गोरु जस्ता जनावर हुँदै मानिसमा सर्ने गर्दछ । यस्तै सङ्क्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा, सङ्क्रमित व्यक्तिको रगत, दिसा र पिसावसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि निपाह भाइरस सर्ने गर्दछ । 

उक्त भाइरसका लक्षण ज्वरो आउने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने र टन्सिलाइटिस देखिने गर्दछ । यो रोग बढी सङ्क्रामक पनि हुने गरेको छ । 

निपाह भाइरसबाट बच्नका लागि फलफूल राम्रोसँग पखालेर मात्र खाने, तरकारी सकेसम्म पकाएर खाने, गाइबस्तुको गोठ र फार्म सफा राख्ने, मासु काट्दा र पकाउँदा पञ्जा र मास्कको प्रयोग गर्ने, सकेसम्म पानी उमालेर मात्र पिउने, बेलाबेलामा साबुनपानीले हात धुने, भीडभाडमा जाँदा मास्क लगाउने गर्नुपर्दछ  । 

मन्त्रालयका प्रवक्ता डा पौडेलका अनुसार उक्त भाइरसबाट ४५ देखि ७५ प्रतिशत मानिसमा मृत्यु हुने जोखिम रहेको छ । विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले निपाह भाइरसबाट सर्ने रोगलाई विश्वको १० प्राणघातक रोगमध्ये एक मानेको छ । उहाँले रोगको लक्षण देखिएमा उपचार गरिने बताउनुभयो । सङ्क्रमणको लक्षण देखिनासाथ नजिकै स्वास्थ्य संस्थामा उपचार गराउन मन्त्रालयले आग्रह गरेको छ । (रासस)