१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी
अ अ+ अ-

काठमाडाैँ । जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी भएका छन् । जटिल प्रसूति अवस्था, आपतकालीन एपेन्डिक्स, रिभर्स सुरल आर्टरी फ्ल्यापलगायत जटिल प्रकृतिका शल्यक्रिया सफलतापूर्वक सम्पन्न हुन थालेका कारण जिल्लावासी खुसी भएका हुन् ।

आधारभूत १५ शय्याका जिल्ला अस्पतालले दैनिक स्वास्थ्य परीक्षण तथा उपचार सेवासँगै सुलभदरमा भरपर्दो सेवा दिन थालेका कारण अस्पतालप्रति जिल्लावासीको विश्वास बढ्दै गएको छ । बाजुरा देशकै दुर्गम हिमाली जिल्ला हो । यसअघि बाजुरावासी शल्यक्रिया गर्न जिल्ला बाहिर जानुपर्दथ्यो ।सीमित जनशक्ति, औषधि, उपकरण र स्रोतसाधनकाबीच अस्पतालले विशेषज्ञसहितको स्वास्थ्य सेवा प्रदान गर्न थालेपछि यहाँ आउने बिरामीको सङ्ख्यासमेत बढ्न थालेको छ ।

जिल्ला अस्पतालका सूचना अधिकारी नृपराज गिरीले प्रभावकारी विशेषज्ञ सेवा दिन सुरु भएदेखि अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेको बताउनुभयो । अस्पतालमा हुम्ला, मुगुलगायत छिमेकी जिल्लाबाट दैनिक १५० भन्दाबढी बिरामी उपचारका लागि आउने गरेका छन् । हाल एमडिजिपी, हाडजोर्नी तथा नसारोग विशेषज्ञ चिकित्सकबाट सेवा प्रवाह भइरहेको छ ।

“विशेषज्ञ चिकित्सकको अभावमा विभिन्न सेवासँगै शल्यक्रियाका लागि  धनगढी, काठमाडौँसम्म जानुपर्ने अवस्थाको अन्त्य भएको छ”, सूचना अधिकारी गिरीले भन्नुभयो, “अहिले अधिकांश जटिल शल्यक्रिया यहीँ सफलतापूर्वक भइरहेका छन् ।” दैनिक ओपिडी तथा शल्यक्रिया सेवासँगै चौबिसै घण्टा आकस्मिक स्वास्थ्य सेवा प्रदान हुँदै आएको छ ।

यहाँ बालरोग, स्त्री तथा प्रसूति रोग, छाला रोग, नाक, कान, घाँटी, मानसिक स्वास्थ्य तथा अन्य आकस्मिक अवस्थाका बिरामीको उपचार हुने गरेको उहाँले बताउनुभयो ।

सीमित स्रोतसाधनकाबीच जिल्ला अस्पतालले निरन्तर जीवनरक्षक तथा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हरिशबहादुर मल्लले बताउनुभयो ।

सामान्य उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको अवस्थामा अस्पतालमै विशेषज्ञ चिकित्सकसहितका सेवा सञ्चालन भएपछि स्थानीयवासीलाई ठूलो राहत मिलेको बताइन्छ ।

एक वर्षमा ३५ हजारले पाए सेवा, ३५१ जना रिफर

जिल्ला अस्पतालमा एक वर्षमा करिब ३५ हजार बिरामीले उपचार सेवा लिएका छन् । गत आर्थिक वर्ष २०८२÷८३ मा ३४ हजार ९५५ जना नागरिकको स्वास्थ्य जाँच तथा उपचार गरिएको छ । सो अवधिमा ३५१ जनालाई बाहिर ‘रिफर’ गरिएको थियो ।

चालु आवको भदौ मसान्तसम्म जिल्ला अस्पतालमा छ हजार ४६१ जना बिरामीले उपचार सेवा पाएका छन् । यहाँ जिल्लाका नौवटै स्थानीय तहसँगै छिमेकी जिल्ला मुगु, कालीकोट र हुम्लाका नागरिकसमेत उपचारका लागि आउने गरेका छन् ।

त्यस्तै, चालु आवको दुई महिनामा मात्रै १३९ जनाको हाडजोर्नीसम्बन्धी सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

करार कर्मचारीको भरमा अस्पताल

यहाँको जिल्ला अस्पतालमा हाल एक जना मेडिकल सुपरिटेन्डेन्ट (नवौँ तह) र एक जना आठौँ तहको चिकित्सकसहित कुल १८ जनाको दरबन्दी छ । तर अहिले निमित्त मेडिकल सुपरिटेन्डेन्ट (आठौँ तह) सहित जम्मा नौ जनाले काम गर्नुहुन्छ । बाँकी मेडिकल अधिकृतसहित ८९ जना करार सेवाका कर्मचारी कार्यरत रहेको अस्पतालले जनाएको छ ।

“संरचना पर्याप्त छ, ५० शय्याको अस्पताल हुनुपर्नेमा १५ शय्याको मात्रै हुँदा कर्मचारी पनि कम छन्”, उहाँले भन्नुभयो, “केही सेवा थप्यौँ, तर कर्मचारी अभावमा सेवा प्रवाहमा समस्या भइरहेको छ ।”

चिकित्सक मल्लले सुदूरपश्चिम प्रदेश सरकारले तत्काल जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरे दुर्गमका नागरिकलाई ठूलो राहत पुग्ने बताउनुभयो ।

अस्पतालको भौतिक संरचना र सेवा विस्तारको तुलनामा जनशक्ति तथा दरबन्दी पर्याप्त नहुँदा उपलब्ध स्रोतसाधनबाटै सेवा व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

दुई महिनापछि एमडीजिपी सेवा

हालै सुदूरपश्चिम प्रदेश सरकारले एमडीजिपी डाक्टर राहुल श्रेष्ठलाई छात्रवृत्ति करारमा खटाएपछि सेवा प्रवाहमा थप सहजता भएको अस्पतालका प्रमुख चिकित्सक मल्लले बताउनुभयो ।

उहाँका अनुसार अर्थोपेडिक सर्जनको नियमित उपस्थितिले हाडजोर्नी तथा नसा रोगसम्बन्धी उपचार र शल्यक्रिया सेवामा थप सहजता भएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रदेशको बजेट नआउँदा औषधि खरिद प्रक्रिया प्रभावित

सुदूरपश्चिम प्रदेश सरकारबाट चालु आवको बजेट नआउँदा औषधि खरिद प्रक्रिया अघि बढाउन समस्या भएको र अहिले जिल्ला अस्पतालमा निःशुल्क औषधिको अभाव हुने अवस्था सिर्जना भएको अस्पताल प्रमुख डा हरिशबहादुर मल्लले जानकारी दिनुभयो ।

“फार्मेसीमा पर्याप्त औषधि छ”, उहाँले भन्नुभयो, “९८ प्रकारका निःशुल्क औषधि दिनुपर्नेमा करिब ५० प्रकारका औषधि निःशुल्क दिन्छौँ, खरिद गर्न बजेट नहुँदा समस्या भएको छ ।”

अस्पतालमा बिरामीको चाप बढ्दै गए पनि औषधि, उपकरण र जनशक्तिको व्यवस्थापनमा समस्या देखिएको छ । निःशुल्क औषधिको मौज्दातसमेत घट्दै जानथालेको छ । त्यसको प्रत्यक्ष असर दुर्गमका नागरिकमा पर्छ । भौतिक संरचना, विशेषज्ञ सेवा र शल्यक्रिया सेवामा क्रमशः सुधार हुँदै गए पनि पर्याप्त जनशक्ति, नियमित औषधि आपूर्ति, अत्याधुनिक उपकरण तथा बजेट व्यवस्थापन जिल्ला अस्पतालका प्रमुख चुनौतीका रूपमा रहेका छन् ।

दुर्गमका नागरिकले लाखौँ रुपैयाँ खर्च गरेर सामान्य उपचारदेखि जटिल प्रकृतिका स्वास्थ्य सेवाका लागि जिल्ला बाहिर धाउनुपर्ने बाध्यता अझै कम गर्न सकिने देखिन्छ ।

यद्यपि जिल्ला अस्पताल प्रशासन र व्यवस्थापन समितिको लापरबाहीका कारण बिरामीको उपचारका लागि समयमै चिकित्सक नआउने, बिरामीले विभिन्न दुःख भोग्नुपर्ने अवस्था सिर्जना भइरहेको भन्दै पटकपटक अस्पतालको विरोध पनि हुँदै आएको छ ।

विगतको तुलनामा अस्पतालले प्रभावकारी स्वास्थ्य सेवा प्रदान गरिरहेको भए पनि पर्याप्त विशेषज्ञ चिकित्सक, अत्याधुनिक उपकरण, नियमित औषधि आपूर्ति तथा व्यवस्थापकीय पक्षलाई थप बलियो बनाउनुपर्ने स्थानीय विष्णु कार्कीले बताउनुभयो । रासस