काठमाडौं । नेकपा एमालेका सांसद केदार सिग्देलले चितुवाको आक्रमणबाट मानवीय क्षति भएको भन्दै त्यसलाई नियन्त्रण गराउन सरकारसँग माग गर्नुभएको छ ।
शुक्रबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिग्देलले तनहुँमा पहिलेको वर्षजस्तै यसवर्ष पनि चितुवाको आक्रमणबाट अकालमै मानिसले ज्यान गुमाउनुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
उहाँले भन्नुभयो ‘तनहुँको बन्दिपुर गाउँपालिका लगायत विभिन्न ठाउँमा बाघको आक्रमण बढ्दै गएको छ । विगत वर्षहरुमा जस्तै यस वर्षमा पनि आक्रमण निकै बढिरहेको छ । समयमै यसको नियन्त्रणमा ध्यान दिन एवं थप मानवीय क्षति रोक्न माग गर्दछु ।’
यस्तै उहाँले भानुमार्गको बांगे र खत्रीखोलाका कल्भटहरु पूर्ण रुपमा क्षति भएको उक्त मार्गको भन्सारदेखि चन्द्रावती मिर्लुङ हुँदै स्वतीस्वारासम्मको यातायात अवरुद्ध भएको सदनमा जानकारी गराउँदै उक्त सडकको यथासिघ्र मर्मत र सुधार गरी यातायात सुचारु गराउन माग समेत गर्नुभयो ।