• ११ असार २०८१, मंगलवार
  •      Tue Jun 25 2024
  •   Unicode
Logo
Latest
★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश ★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ? ★   अन्तर्राष्ट्रिय ‘मैथिली फिल्म फेस्टिभल’ सुरु ★   समाजवादी आन्दोलनको नयाँ प्रवाह शुरु भएको छः झलनाथ खनाल ★   गलत प्रवृत्तिका विरुद्धमा नयाँ सांस्कृतिक जागरण पैदा गर्न आवश्यकः अध्यक्ष नेपाल ★   महाकालीको कटान रोक्न कुतियाकबरमा जैविक तटबन्ध ★   आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ: अर्थमन्त्री पुन

रुकुम (पूर्व) मा वर्षैपिच्छे यार्सा उत्पादन घट्दो क्रममा



रुकुम । रुकुम (पूर्व) मा वर्षैपिच्छे यार्सागुम्बा उत्पादन घट्दो क्रममा रहेको छ । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकाको माथिल्लो क्षेत्रका पाटनहरुमा बहुमूल्य जडीबुटी यार्सा पाइन्छ ।

पाँच सात वर्षपहिले पाटनमा प्रशस्त मात्रामा यार्सा पाइने र मानिसहरुले पनि त्यसैबाट जीविकोपार्जन गर्दै आएका थिए । केही वर्षयता भने यार्सा उत्पादन घटेको मैकोट, पेल्लाका स्थानीयवासीले बताएका छन् । मैकोटमा वीरेन्द्र बुढाले पहिलेदेखि नै स्थानीयवासीले सङ्कलन गरेका यार्सा सङ्कलन गर्दै आउनुभएको छ । सधैँका वर्ष झँै यसपालि पनि उहाँ स्थानीयवासीबाट यार्सा सङ्कलनका लागि पुपाल पाटन पुग्नुभएको थियो । तर, उत्पादन साह्रै नै घटेको पाएको उहाँले बताउनुभयो । ८/९ वर्षअघि यही पुपाल र पुर्वाङ लगायतको पाटन क्षेत्रमा १५० किलो हाराहारीमा यार्सा सङ्कलन हुने गरेकामा यस वर्षको मौसममा जम्मा १५/१६ किलो हाराहारी यार्सा उत्पादन तथा सङ्कलन भएको बुढाले बताउनुभयो ।

उहाँका अनुसार प्रतिकिलो यार्साको मूल्य २१ लाखसम्म पर्छ । अहिलेको उत्पादनलाई हेर्ने हो भने जिल्लामा सवा तीन करोड हारहारी यार्सा सङ्कलन भएको छ । उहाँ आफैँले पनि अहिले तीन किलो यार्सा सङ्कलनको अनुमति लिएको बताउँदै यसको मूल्य ६५ देखि ७० लाख हुने बताउनुभयो ।

उहाँका अनुसार एउटा यार्सालाई सात सयदेखि एक हजार २०० सम्म पर्ने गर्दछ । अहिले सङ्कलन गरेको यार्सालाई चाइना, हङकङ या काठमाडौँमा लगेर बिक्री गर्ने योजना रहेको पनि उहाँले बताउनुभयो । विगत वर्षहरुमा यार्सा धेरै भएर चाइनासम्म लग्दा पनि बिक्री नहुने गरेको स्मरण गर्दै बुढाले अहिले भने यार्सा निकै कम मात्रामा सङ्कलन भएको बताउनुभयो । पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटकै समाज घर्तीले पनि यार्सा उत्पादन घटेको बताउनुभयो । पाँच सात वर्षअघि यार्सा सङ्कलन गरेरै प्रतिव्यक्तिले ५० हजारदेखि सात/आठ लाखसम्म आम्दानी गर्ने गरेका थिए । अहिले १० हजारदेखि चार/पाँच लाखसम्म मात्र आम्दानी गर्ने गरेको उहाँको भनाइ छ ।

विगत वर्षमा यार्सा सङ्कलनका लागि प्रवेश शुल्क लाग्ने गरेको थियो । प्रवेश शुल्क एक हजार ५०० देखि पाँच हजारसम्म लाग्ने गरेको थियो । कोभिडका कारण गएको दुई वर्षमा यार्सा सङ्कलन नै बन्द गरिएको थियो । अहिले खुला गरिएको यार्सा सिजनमा प्रवेश निःशुल्क गरिएको थियो ।

जेठको पहिलो साताबाट सुरु भई साउनको पहिलो सातासम्म चल्ने यार्सा सिजन अहिलेको वर्षमा भने जेठ पहिलो साताबाट सुरु भई अन्तिम साता सकिएको छ । यार्सा पाइन छोडेपछि पाटन उक्लिएका सबै गाउँ झर्ने क्रम जारी छ ।

पाटन क्षेत्रमा संरक्षणको अभाव, घोडा खच्चड र भेडाबाख्राको चरिचरन र जलवायु परिवर्तनका कारण यार्सा उत्पादन घट्दै गएको पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकाटस्थित पृथा हिमालय माविका प्रधानाध्यापक हस्तिमान पुनले बताउनुभयो । बर्सेनि यार्सा उत्पादन घट्दै जान थालेपछि यार्सा सङ्कलन तथा बिक्रीवितरणबाटै जीवन निर्वाह गर्दै आएकाहरु समस्यामा परेका छन् । रासस