१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्व. पत्रकार सेनको सम्झनामा अक्षयकोष



अ+ अ-

फुङ्लिङ । कृष्ण सेन ‘इच्छुक’को आज २०औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल ताप्लेजुङले अक्षयकोष स्थापना गरेको छ ।

कोषमा रु दुई लाख जम्मा गरिएको छ । उक्त कोषको ब्याजबाट प्रत्येक वर्ष सेनको स्मृति दिवसमा जिल्लामा क्रियाशील एक पत्रकारलाई पुरस्कार प्रदान गरिने सेन्टरका जिल्ला उपाध्यक्ष राजकुमार गुरुङले जानकारी दिनुभयो ।

सेन्टरका जिल्लाध्यक्ष जीवन कालीकोटेले कोष घोषणा कार्यक्रममा अर्को वर्षबाट ताप्लेजुङलाई कार्यक्षेत्र बनाई पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान दिने पत्रकारलाई सम्मान गर्ने निर्णय भएको बताउनुभयो ।

सेन्टरका केन्द्रीय सदस्य चन्द्रबहादुर पन्दाकले सेनको सम्मानमा स्वतःस्फुर्तरुपमा अक्षयकोष स्थापना भएको बताउँदै कोषमा रकम वृद्धिका लागि सबै इच्छुक व्यक्तिले जम्मा गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) १ नं प्रदेश सचिवालय सदस्य तथा ताप्लेजुङ सहइञ्चार्ज मिङ्माडण्डु शेर्पाले द्वन्द्वकालको समयमा हत्या गरिएका सेनको नेपाली पत्रकारिता र साहित्य क्षेत्रमा योगदान रहेको बताउनुभयो ।

विसं २०५९ जेठ १३ गते प्रदर्शनी मार्गस्थित महेन्द्र पुलिस क्लबमा हिरासतमा रहेका बेला सेनको हत्या भएको थियो । विसं २०१३ कात्तिकमा भारतको देहरादुनमा जन्मिएका सेन जनादेश साप्ताहिकको सम्पादक हुनुहुन्थ्यो ।