बुटवल । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले ताजा जनादेशले मात्र मुलुकको निकास पाउने बताउनुभएको छ । नेकपा एमाले स्याङ्जा–रूपन्देही सम्पर्क समाजद्वारा बुटवलमा आयोजित प्रथम भेलालाई शुक्रवार सम्बोधन गर्दै पूर्व अर्थमन्त्री समेत रहनुभएका नेता पौडेलले प्रतिनिधि सभा चल्नै नसक्ने अवस्थामा पुगेको बताउँदै अबको निकास ताजा जनादेश रहेको बताउनुभएको हो ।
‘प्रतिनिधिसभा कामै गर्न नसक्ने अवस्थामा पुगेको छ । प्रतिनिधिसभा अब चल्न सकेन । बैठक बस्छ स्थगित हुन्छ । मन्त्रीहरू दौडेर रोष्टममा पुग्छन् । यस्तो हालतबाट सभा चल्न सक्दैन त्यसैले प्रतिनिधिसभाको प्रयोजन सकियो ।’ उहाँले भन्नुभयो, ‘तटस्थ जिम्मेवारी पूरा गर्नुपर्ने सभामुख ‘बायस’ हुनुभो । उहाँ एमाले विभाजनको अंग बन्नु भयो । सभामुखको यो कदम नसच्चाएसम्म सदन चल्दैन,’
यस्तैउहाँले निर्वाचनमा जुट्न कार्यकर्तालाई आग्रह गर्दै भन्नुभयो, 'कांग्रेसले कुनै कम्युनिष्टसँग मिलेर चुनाव लडिँदैन भनिसकेको छ, ‘कांग्रेसको पछि लागेका माधव नेपालका ओठमुख सुक्ने स्थिति छ । एकातिर वडा अध्यक्ष पनि जित्न नसक्ने बेदुराम भुसाल र अर्कोतिर मुकुन्द न्यौपाने राखेर हिँडेका नेपाल २०५४ मा वामदेवले पार्टी विजाजन गर्दा जुन अवस्थामा पुगेका थिए, त्यही हालत हुँदैछ ।’
एमालेबाहेक अन्य कुनै पनि पार्टीले राष्ट्रिय राजनीतिको नेतृत्व गर्न नसक्ने दाबी गर्दै पौडेलले अहिलेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मुलुक र जनताका लागि केही गर्न नसक्ने जिकिर गर्नुभयो ।








