म्यान्मारकी अपदस्त नेता आङ सान सुकीलाई चार वर्षको जेल सजाय सुनाइएको छ । उहाँ विरुद्ध चलिरहेका कयौँ मुद्दामा उहाँले पाउनुभएको यो पहिलो सजाय हो ।
उहाँमाथि मानिसहरुलाई भड्काएको र प्राकृतिक आपत्कालीन कानूनअन्तर्गत कोभिड–१९ नियमहरुको उल्लङ्घन गरेको दोषी ठहर गरेको छ । सु कीमाथि ११ वटा आरोप लगाइएको छ र उहाँले सबै आरोपलाई अस्वीकार गर्नुभएको थियो ।
फेब्रुअरीमा सैनिक विद्रोह हुनुअघि ७६ वर्षीया सुकीले निर्वाचित नागरिक सरकारको नेतृत्व गरिरहनुभएको थियो ।
सेनाले गत वर्ष भएको आम निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै सत्ता कब्जा गरेको थियो । सो निर्वाचनामा सु कीको एनएलडी पार्टीले ठूलो जित हासिल गरेको थियो ।
सेनाले सत्ता हातमा लिएलगत्तै सु की घरमै नजरबन्दमा हुनुहुन्छ र उहाँमाथि भ्रष्टाचार, आधिकारिक गोप्य कानूनको उल्लङ्घ तथा जनतालाई भड्काएको आरोप लगाइएको छ ।