२२ भाद्र २०८३, सोमबार
,
Latest
तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागीपीडित परिवारका लागि निःशुल्क स्वास्थ्य शिविर



अ+ अ-

मुगु । यहाँ नेपाल प्रहरीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको समन्वयमा आज जिल्ला सदरमुकाम गमगढीमा रहेको कालिका मालिका मन्दिरको चौरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।

चिसो बढेसँगै हिमाली जिल्लामा चिसोजन्य रोग फैलिने र सर्वसाधारण ती रोगबाट ग्रसित हुने समय भएकाले रोगबारे जनचेतना जगाउन तथा गत कात्तिक २९ गते गमगढी बजारमा आगलागी हुँदा घर जलेर हाल त्रिपाल तथा आफन्तका घरमा बस्दै आएका आगलागीपीडित परिवारको समयमै निःशुल्क जाँचबाट उपचारसमेत होस् भन्ने उद्देश्यले एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताउनुभयो । 

शिविर सञ्चालनका लागि प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट स्वास्थ्यकर्मीको टोली आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । बिहानैदेखि आफ्नो स्वास्थ्य जाँच गर्न शिविरमा सर्वसाधारण लाइनमा बसेका छन् । शिविरमा चिसोजन्य रोगका सबैखाले औषधि ल्याएको र यहाँ परीक्षण गरेर सर्वसाधारणले बाहिर कुनै पनि औषधि किन्न नपरोस् भनेर पुग्दो मात्रामा स्वास्थ्य टोलीले औषधि ल्याएको प्रहरी निरीक्षक जगदीश भट्टले बताउनुभयो । 

शिविरमा आफ्नो स्वास्थ्य परीक्षण गर्न पुगेका सर्वसाधारण निःशुल्क जाँच र औषधि पाउँदा खुसी देखिन्थे । शिविरमा परीक्षण गरेका छायाँनाथ रारा नगरपालिका–२ चैन गाउँका ७३ वर्षीय तिलकप्रसाद चौलागाईंलेआफूलाई चिकित्सकले राम्रो परीक्षण गरेको र औषधि निःशुल्क दिएको बताउनुभयो । 

“चिसोले खोकी लागेको थियो, परीक्षणपछि औषधि पाए, त्यो औषधि मेडिकलमा किनेको भए कम्तीमा रु दुई हजार जाथ्यो, मैले सितैमा पाए”, उहाँले भन्नुभयो । घरमा काम गर्दा लडेर सामान्य घाइते हुनुभएकी छायाँनाथ रारा–५ ढुम गाउँकी ५३ वर्षीय जलुका बुढा उपचारका लागि जिल्ला अस्पताल मुगु जाँदै गर्दा गमगढीमा प्रहरीले निःशुल्क स्वास्थ्य शिविर गरेको थाहा पाएर अस्पताल नगई शिविरमा आएको बताउनुभयो । 

शिविरमा गत कात्तिक २९ गते गमगढी बजारमा भएको आगलागीबाट पीडित भएका परिवारका सदस्यको स्वास्थ्य जाँच र औषधि उपचार पहिलो प्राथमिकता रहेको पनि शिविर आयोजक स्वास्थ्य टोलीले बताएको छ ।

कात्तिक २९ गते राति १२ बजे सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागी हुँदा २० घर पूर्ण, पाँच घर अर्ध, ती घरमा रहेका २४ होटेल पसल तथा ३३ कोठा लिएर बसेकाको सरसामान जलेर खरानी भएको थियो ।