काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताउनुभएको छ ।
सोमबार बिहान आफ्नो सरकारी निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहने या नरहने भन्ने विषयमा छलफल नभएको बताउनुभएको हो ।
‘अहिलेको गठबन्धन राष्ट्रिय सभाको चुनावसम्म मात्रै हो । त्योभन्दा पछिसम्म लाने वा नलाने भन्नेबारे छलफल भएको छैन ।’ उहाँले भन्नुभयो ।
फरक प्रसंगमा देउवाले फेरि सभापतिमा चुनिए आफूले अझ राम्रो काम गर्ने समेत बताउनुभयो । पार्टीको विधानबमोजिम एक पटक सभापति बन्न आफू इच्छुक रहेको उहाँले बताउनुभयो । आफू अन्तिम पटक सभापति बन्न चाहेको पनि बताउनुभयो ।