महोत्तरी । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लोकसेवा आयोगबाट स्थानीय तहको लागि आह्वान गरिएको विज्ञापन स्वीकार्य नहुने बताएका छन् ।
महोत्तरीको बर्दिवासमा शुक्रबार सम्पन्न प्रदेश समन्वय परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले संविधानको भावना विपरीत आह्वान गरिएको विज्ञापन स्वीकार्य नहुने बताए । उनले प्रदेश नम्बर २ ले पाएको अधिकार केन्द्र सरकारले एकपछि अर्को गरि खोस्ने प्रपन्च गरिरहेको बताए ।
संविधानको धारा २७७ मा स्थानीय तहको कर्मचारी ब्यवस्थापन प्रदेश सरकारले गर्ने स्पष्ट ब्यवस्था भए पनि केन्द्रबाटै विज्ञापन गरिएको भन्दै मुख्यमन्त्री राउतले केन्द्र सरकारले संघीयतामाथि नै अंकुश लगाउने प्रयास गरेको आरोप लगाए । उनले स्थानीय तहका प्रतिनिधिहरुलाई केन्द्र सरकारको विरुद्धमा एकजुट हुन आग्रह गरे ।