काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेपालमा यतिबेला विधिको शासन र कानुनी राजको उल्लंघन भएकोले यसका विरुद्धमा विदेशी भूमिबाटै आवाज उठाउन गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन् ।
गैर आवासीय नेपाली संघ जापानद्वारा उनको सम्मानमा आज जापानमा आयोजित एक कार्यक्रममा डा.महतले भने– यतिखेर नेपालमा कम्युनिष्ट सरकार छ, विधिको शासन र कानुनी राज्यमाथि धावा बोलिएको अवस्था छ, त्यसैले तपाईँहरुले आ–आफ्नो स्थानबाट कानुनी राज्यका लागि विदेशी आवाज उठाउनु पर्नेछ ।
देशमा कम्युनिष्ट सरकारले हल प्रजातान्त्रिक संरचना र संस्थाहरुलाई खल्बलाउने, प्रेस तथा अदालतजस्ता नागरिकका आश्थाका धरोहरहरुलाई राजनीतिक छायाँमा राख्न खोज्ने र कर्मचारीतन्त्रलाई दुई तिहाई बहुमतको सरकारको धम्की दिएर अनावश्यक नियन्त्रण गर्न खोज्ने प्रवृत्ति बढेको आरोप उनले लगाए ।
सरकारले वैदेशिक लगानीका लागि आवश्यक वातावरण निर्माण गर्न नसकेको डा.महतले बताए । उनले भने– निर्वाचनताका कम्युनिष्टहरुले नेपालमा स्वदेशी र विदेशी लगानीको बाढी नै ल्याइदिनेजस्तो गरी भाषण दिएका थिए, तर गत वर्षको तुलनामा यसवर्षको वैदेशिक लगानीको ह्रासोन्मुख अवस्था हेर्दा त्यो सबै हावादारी गफमा परिणत भइसकेको छ ।
उनले नेपालमा लगानी गर्न र आफ्नो मातृभूमिका लागि काम गर्न सबै गैरआवासीय नेपालीहरुलाई आग्रह पनि गरे ।
उनले भने– सबै नेपालीले अहिले आफू कहाँ छु भनेर हेर्नुभन्दा अघि मलाई यहाँसम्म ल्याउने मेरै मातृभूमि हो भन्ने यथार्थ भुल्नुहुदैन र सबैभन्दा पहिला आफ्नै मातृभूमिको लागि काम गर्नुपर्छ ।
कार्यक्रममा डा.महतले गैर आवासीय नेपालीहरुलाई नेपालको विकासमा विशेष भुमिका खेल्न अनुरोध गरे । संसारमा रहेका नेपालीहरुले एक पटक आफ्नो मातृभूमिलाई माया गरेर लगानी गरे भने उनीहरुको ज्ञान र सीपले नेपालको आर्थिक अवस्था धेरै माथि उठ्ने छ ।
उनले भने– देशलाई यतिखेर संसारमा रहेका नेपालीहरुको ज्ञान, सीप र उनीहरुका अनुभवहरुको खाँचो छ, तपाईँहरु स्वदेशमा नै पुगेर हुन्छ कि अहिलेको कर्मभूमिबाटै गर्न सकिन्छ त्यसमा विचार गर्नुपर्यो, तपाईँहरुको उर्जा र ज्ञान देशकैलागि खर्च गर्नुपर्यो ।
कार्यक्रममा गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट लगायतको उपस्तिथि थियो । उनीहरुले नेपालमा लगानीका लागि उचित वातावरण बनाउन आग्रह गरेका थिए ।