२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

मालिंगाको सन्न्यासले श्रीलंकालाई चिन्ता



अ+ अ-

कोलम्बो । श्रीलंका क्रिकेट टोलीका प्रभावशाली बलर लासिथ मालिंगाले यसै महिना एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन्। ३५ वर्षीय मालिंगाले यसै महिना सुरु हुने बंगलादेशविरुद्घको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका क्रममा सन्न्यास लिन लागेका हुन्।

मालिंगाले बंगलादेशविरुद्घको पहिलो खेलपछि एकदिवसीय क्रिकेटबाट सन्न्यास लिने बताएका हुन्। श्रीलंका र बंगलादेशबीचको पहिलो एकदिवसीय क्रिकेट आगामी शुक्रबार कोलम्बोमा खेलिने छ। मालिंगाको सन्न्यासपछि श्रीलंकाली टोलीमा अनुभवी बलरको अभाव खट्किने छ। श्रीलंकाका कप्तान दिमुथ करुणारत्ने पनि यो कुरामा सहमत छन्।

‘मालिंगाको सन्न्यास हाम्रा लागि निकै ठूलो क्षति हो। तत्काल उनको अभाव पूरा गर्ने अर्को बलर अहिले हामीसँग छैन’, करुणारत्ने भन्छन्, ‘बंगलादेशविरुद्घको शृंखलापछि हामीले सबैभन्दा बढी विश्वास गरेको बलर हामीसँग हुने छैनन्। त्यसैले उनको विकल्प खोज्नु हाम्रा लागि सबैभन्दा ठुलो चुनौती हो।’

मलिंगाले सन्न्यासको विषयमा आफूसँग पनि कुरा गरिसकेको करुणारत्नेले जनाएका छन्। हालै सम्पन्न विश्वकपमा श्रीलंका लिग चरणबाटै बाहिरिएको थियो। यद्यपि विश्वकपमा मालिंगाले सात खेल खेल्दै १३ विकेट लिएका थिए। मालिंगा उक्त विश्वकपमा सर्वाधिक विकेट लिने श्रीलंकाली बलर हुन्।

विश्वकपमा अर्का श्रीलंकाली बलर इसुरु उडनाले सात खेल खेलेर ६ विकेटमात्र लिन सकेका थिए। ‘मालिंगाको सन्न्यासपछि हामीले अर्को विश्वकपलाई ध्यानमा राखी अहिलेदेखि युवा बलरको क्षमता अभिवृद्धिमा ध्यान दिनु आवश्यक छ’, करुणारत्ने भन्छन्। मालिंगाले सन् २००४ को जुलाई १७ मा संयुक्त अरब इमिरेट्विरुद्घको खेलमार्फत एकदिवसीय प्रतियोगितामा ‘डेब्यु’ गरेका थिए। आफ्नो ‘डेब्यु’ खेलमा उनले एक विकेट लिएका थिए।

उनले श्रीलंकाका लागि हालसम्म दुई सय २५ एकदिवसीयको दुई सय १९ पालिमा कुल तीन सय ३५ विकेट लिइसकेका छन्। एकदिवसीय क्रिकेटको उनको उत्कृष्ट प्रदर्शन ३८ रन दिएर ६ विकेट हो। उनले आठ खेलमा पाँच विकेट लिएका छन् भने ११ वटा खेलमा चार विकेट हात पारेका छन्।

टेस्ट क्रिकेटमा भने उनले हालसम्म ३० खेलको ५९ पालिमा एक सय एक विकेट लिएका छन्। टेस्ट क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन ५० रन दिएर पाँच विकेट हो। टेस्ट क्रिकेटलाई भने उनले आगामी दिनमा पनि निरन्तरता दिनेछन्। यसैगरी अन्तर्राष्ट्रिय टीट्वेन्टी क्रिकेटमा पनि उनले ७३ खेल खेल्दै ९७ विकेट लिएका छन्। टीट्वेन्टीमा उनको उत्कृष्ट प्रदर्शन ३१ रन दिएर पाँच विकेट हो।