काठमाडाैँ । बूढीगण्डकी नदीमा आएको बाढीपछि खोज तथा उद्धार कार्यका लागि नेपाली सेना परिचालन भएको छ। सेनाले पहिरोको जोखिममा रहेको गोरखाको जगत क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरेको छ।
नेपाली सेनाका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि सेनाको फौज हवाई तथा स्थलमार्गबाट खटिएको छ। जोखिममा रहेका नागरिकको उद्धार तथा सुरक्षालाई प्राथमिकता दिँदै उद्धार कार्य अघि बढाइएको हो।
उद्धार कार्यलाई थप प्रभावकारी बनाउन काठमाडौंमा रहेको कम्पोजिट क्विक रियाक्सन टिम लाई समेत हवाई साधनमार्फत जगत क्षेत्रमा तैनाथ गरिएको सेनाले जनाएको छ।
बूढीगण्डकी नदीमा आएको बाढीका कारण गोरखाको चुमनुब्री गाउँपालिकासहित नदी तटीय क्षेत्रमा जोखिम बढेको छ। बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको छ।
सेनासहितका सुरक्षा निकाय र स्थानीय प्रशासन उद्धार तथा राहत कार्यमा जुटेका छन्।








