काठमाडौँ। तुर्कमेनिस्तानको तुर्कमेनबासीमा सम्पन्न स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) को राष्ट्रप्रमुख परिषद्को बैठकले सदस्य राष्ट्रहरूबीच रणनीतिक साझेदारी र बहुपक्षीय सहकार्यलाई थप प्रगाढ बनाउने घोषणापत्र पारित गरेको छ ।
संगठन स्थापनाको ३५ औं वार्षिकोत्सवका अवसरमा शुक्रवार जारी उक्त घोषणापत्रमार्फत सदस्य मुलुकहरूले विश्व राजनीतिमा देखापरेका तिब्र परिवर्तनका बीच आपसी संवाद र समानतामा आधारित ऐक्यवद्धतालाई निरन्तरता दिने दृढता व्यक्त गरेका छन् ।
तुर्कमेनबासीमा आयोजित शिर्ष सम्मेलनमा सदस्य मुलुकका नेताहरूले वर्तमान अन्तर्राष्ट्रिय परिवेश गम्भीर रूपान्तरणको चरणबाट गुज्रिरहेको विश्लेषण गरेका छन् ।
यस्तो संवेदनशील घडीमा सीआईएसलाई समानता, पारस्परिक सम्मान र साझा हितमा आधारित बहुआयामिक संवादको विशिष्ट मञ्चका रूपमा अझ प्रभावकारी बनाउने सहमति शीर्ष नेतृत्वबीच जुटेको हो । सम्मेलनले पारित गरेको दस्तावेजमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकता दिइएको छ ।
घोषणापत्रअनुसार अन्तर्राष्ट्रिय आतंकवाद, सीमापार संगठित अपराध, अवैध हातहतियार तथा लागुऔषध ओसारपसार, भ्रष्टाचार, सम्पती शुद्धीकरण, मानव बेचबिखन र गैरकानूनी आप्रवासन विरुद्ध संयुक्त कारबाही अघि बढाइनेछ ।
यसका साथै पछिल्लो समय बढ्दो चुनौतीका रूपमा देखापरेको साइबर अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा पनि सदस्य मुलुकहरूले एकीकृत पूर्वतयारी र प्रतिकार्य संयन्त्र निर्माण गर्ने भएका छन् ।
घोषणापत्रमा संगठनको अन्तर्राष्ट्रिय साख अभिवृद्धि गर्ने, राजनीतिक तथा अन्तर–संसदीय संवादलाई निरन्तरता दिने र आर्थिक, व्यापारिक तथा सांस्कृतिक क्षेत्रमा पारस्परिक लाभ सुनिश्चित गर्ने विषय समेटिएका छन् ।
संगठनको कार्यक्षमता र यसका निर्णयहरूको व्यावहारिक कार्यान्वयनलाई थप नतिजामुखी बनाउन संरचनात्मक सुधार गरिने प्रतिवद्धतासमेत नेताहरूले दोहो¥याएका छन्।्ल्लसम्मेलनले संगठनको आगामी नेतृत्व र कार्यतालिकाको समेत टुंगो लगाएको छ ।
जसअनुसार सन् २०२७ मा उज्वेकिस्तानले सीआईएसको अध्यक्षता ग्रहण गर्नेछ भने तुर्कमेनिस्तान र अजरबैजानले सह–अध्यक्षको भूमिका निर्वाह गर्नेछन् ।
राष्ट्रप्रमुख परिषद्को आगामी बैठक सन् २०२७ को अक्टोबर महिनामा उज्वेकिस्तानको ऐतिहासिक शहर बुखारामा आयोजना गरिने तय भएको छ ।
सोभियत संघको विघटनपछि सन् १९९१ को डिसेम्बरमा सीआईएस स्थापना भएको थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल








