काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानको तयारी अन्तिम चरणमा पुगेको छ।
निर्वाचन समितिले मतदानस्थल व्यवस्थापन, प्रतिनिधिको प्रवेश तथा परिचयपत्र र मतदाता नामावली रुजु गर्ने लगायतका कामलाई अन्तिम रूप दिइरहेको छ। मतदान दिउँसो २ बजेपछि सुरु हुने निर्वाचन समितिले जनाएको छ।
महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन्। निर्वाचन समितिले प्रतिनिधिहरूलाई मतदानका लागि अनावश्यक रूपमा लामो समय लाइनमा नबस्न आग्रह गरेको छ।
प्रतिनिधिको प्रदेश तथा समूहअनुसार विभिन्न मतदान केन्द्र तोकिएका छन्। बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभा गृहमा रहेको मतदान केन्द्र ‘क’ बाट मतदान गर्नेछन्। कोशी प्रदेश तथा तराई–मधेस समूहका प्रतिनिधिका लागि खुलामञ्चमा मतदान केन्द्र ‘ख’ तोकिएको छ।
गण्डकी प्रदेशका प्रतिनिधिले हिमाल हल, मधेश प्रदेशका प्रतिनिधिले तराई–मधेस हल तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधिले पहाड हलबाट मतदान गर्ने व्यवस्था गरिएको छ।
मतदानस्थलमा प्रवेश गर्नुअघि प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ। निर्वाचन आचारसंहिताले निषेध गरेका मोबाइल फोनलगायतका सामग्री मतदानस्थलमा लैजान नपाइने निर्वाचन समितिले जनाएको छ।
कांग्रेसको १५औँ महाधिवेशनबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित केन्द्रीय कार्यसमितिका सदस्य चयन हुनेछन्। मतदान सम्पन्न भएपछि मतगणना सुरु गर्ने र मतगणना सकिएपछि निर्वाचन परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिको तयारी छ।








