काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित उनीसँग निकट सम्बन्ध रहेका केही व्यक्ति तथा आफन्तको निवासमा छापा मारेको छ।
विभाग तथा प्रधानमन्त्रीनिकट स्रोतका अनुसार बुधबार जबराको निवाससहित नवराज थपलिया, दिपक तिमल्सिना र नारायण दाहालको घरमा विभागको टोली पुगेको हो। अनुसन्धानका क्रममा जबराका केही आफन्तको निवासमा समेत छापा मारिएको स्रोतले जनाएको छ।
जबराका भाइ प्रभुशमशेर जबरा र ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा पनि विभागको टोलीले खानतलासी गरेको बताइएको छ। छापाका क्रममा अनुसन्धानसँग सम्बन्धित महत्त्वपूर्ण कागजातहरू बरामद गरिएको स्रोतको दाबी छ।
यसअघि केही दिनअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्वप्रधानन्यायाधीश जबरालाई काठमाडौंस्थित आफ्नै निवासबाट मध्यराति नियन्त्रणमा लिएको थियो।








