काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डिला संग्रौला पन्तले पार्टी रूपान्तरणका लागि संगठनमा लामो समयदेखि काम गर्दै आएका भुइँ तहका कार्यकर्ताको योगदानको उचित मूल्यांकन हुनुपर्ने बताउनुभएको छ ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भुइँ तहमा काम गर्ने कार्यकर्ताको योगदानको मूल्यांकन नभएसम्म कांग्रेसमा वास्तविक रूपान्तरण सम्भव नहुने बताउनुभयो ।
कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिनुभएकी संग्रौलाले भुइँ तहका कार्यकर्ताको मूल्यांकन, शिक्षा सुधार, युवा नेतृत्वको विकास, संगठन सुदृढीकरण, पार्टी रूपान्तरण, सुशासन र महिला सशक्तीकरणलाई आफ्नो प्रमुख एजेन्डा बनाउनुभएको जानकारी दिनुभयो ।
युवाहरू ठूलो संख्यामा विदेश पलायन भइरहेको उल्लेख गर्दै उहाँले शिक्षा र रोजगारीबीचको सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । विद्यार्थी तथा युवालाई कांग्रेसको राजनीतिमा जोड्दै नेतृत्व तहमा पुर्याउने विषय आफ्नो पहिलो एजेन्डा रहेको उहाँले बताउनुभयो ।
‘आजको शिक्षा नीति बेरोजगार शिक्षा नीति छ । युवाहरू ब्रेन ड्रेन भएर बाहिरिएका छन् । नेपालमा उनीहरूको सीप र लगानी गर्ने आधार छैन,’ उहाँले भन्नुभयो, ‘त्यसैले मेरो उम्मेदवारी आजको शिक्षा नीतिसँगसँगै विद्यार्थी र युवालाई कांग्रेसको राजनीतिमा कसरी जोड्ने, पार्टीलाई युवा मैत्री बनाउने र नेतृत्वमा ल्याउने भन्नेमा केन्द्रित छ।’
संग्रौलाले आफूले वडा, क्षेत्र, जिल्ला हुँदै केन्द्रसम्म संगठनमा काम गरेको करिब ४० वर्ष भएको उल्लेख गर्दै संगठनमा ऊर्जा र सशक्तीकरण आवश्यक रहेको बताउनुभयो । संगठनमा काम गर्ने कार्यकर्ताको मूल्यांकन हुनुपर्नेमा जोड दिँदै उहाँले भुइँ तहका कार्यकर्ताको योगदानको सम्मानबिना पार्टी रूपान्तरण हुन नसक्ने धारणा राख्नुभयो ।
उहाँले पछिल्लो राजनीतिक परिवर्तनसँगै कांग्रेसले पनि आफूलाई समयअनुकूल रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । जेन–जीको विद्रोहपछि नेपालको राजनीतिले नयाँ मोड लिएको उल्लेख गर्दै उहाँले कांग्रेसभित्र पनि परिवर्तन र रूपान्तरणको आवश्यकता महसुस गरेर विशेष महाधिवेशनमार्फत आफूहरू परिवर्तनको पक्षमा उभिएको बताउनुभयो ।
संग्रौलाले कांग्रेसलाई अनुभवी, मध्यम पुस्ता र युवा पुस्तालाई जोडेर अघि बढाउनुपर्ने धारणा राख्नुभयो । साथै, सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलतालाई पार्टीको प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
उहाँले २०४६ सालको परिवर्तनपछि उच्च तहमा पुगेका राजनीतिक नेतृत्व तथा कर्मचारीको सम्पत्ति छानबिन हुनुपर्ने धारणा राख्दै पार्टीभित्र पनि आन्तरिक सुशासन कायम गर्नुपर्ने बताउनुभयो ।
कांग्रेसप्रति असन्तुष्ट मतदातालाई पुनः पार्टीसँग जोड्न जनताको घरदैलोमा पुगेर संगठन विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
महामन्त्री पदमा महिला उम्मेदवारका रूपमा आफूलाई समर्थन गर्न कांग्रेसका पालिका, क्षेत्र तथा प्रदेश तहका सभापति, महाधिवेशन प्रतिनिधि तथा देश–विदेशमा रहेका कांग्रेस कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो ।








