बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवारसमेत रहनुभएका पुनले पार्टीको आन्तरिक निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले वर्तमान विधानले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई अस्वस्थ बनाएको दाबी गर्दै क्रियाशील सदस्यबाट प्रत्यक्ष निर्वाचित सभापति चयन गर्ने व्यवस्था आवश्यक रहेको बताउनुभयो ।
उहाँका अनुसार वडा तहदेखि केन्द्रसम्म क्रियाशील सदस्यले प्रत्यक्ष रूपमा सभापति निर्वाचित गर्ने र निर्वाचित सभापतिले क्षमता, समावेशिता तथा भूगोललाई आधार बनाएर कार्यसमिति गठन गर्ने व्यवस्था गरिनुपर्छ ।
उहाँले भन्नुभयो, “कांग्रेसको वडा तहदेखि केन्द्र तहसम्म हामी प्रतिस्पर्धा गर्छौँ । हाम्रो विधानको व्यवस्थाले नै पार्टीका साथीहरूसँग एकता गर्न दिँदैन, एकले अर्कासँग मिल्न दिँदैन । त्यसकारण यो प्रतिस्पर्धा गलत छ ।”

पुनले ६ हजार ७४३ वडासहित विश्वभर रहेका जनसम्पर्क समितिका क्रियाशील सदस्यबाट प्रत्यक्ष सभापति निर्वाचित हुने प्रणाली लागू गर्नुपर्ने धारणा राख्नुभयो । यस्तो व्यवस्था कार्यान्वयनका लागि १५औँ महाधिवेशनपछि महासमिति बैठक बोलाएर विधान संशोधन गर्नुपर्ने उहाँको भनाइ छ ।
कांग्रेसले विगतमा नेतृत्व गरेका राजनीतिक परिवर्तन र योगदानलाई नयाँ पुस्तासँग जोड्न नसक्दा पार्टीभित्र राजनीतिक उतारचढाव देखिएको पुनले बताउनुभयो । बीपी कोइरालादेखि सुशील कोइराला र शेरबहादुर देउवासम्म कांग्रेसले मुलुकका महत्वपूर्ण राजनीतिक परिवर्तनको नेतृत्व गरे पनि त्यसको इतिहास नयाँ पुस्तालाई प्रभावकारी रूपमा बुझाउन नसकिएको उहाँको भनाइ थियो ।
उहाँले पुरानो पुस्तालाई विस्थापित गर्ने नभई अनुभवी पुस्ता र युवालाई जोडेर पार्टी अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
“हामीले युवादेखि सबैलाई जोड्नुपर्छ । पुराना पुस्तालाई बाइपास होइन, पुराना पुस्तालाई पनि युवासँग जोड्ने र युवालाई अहिलेका विचारसँग जोड्ने गरी सबै कुरा मिलाएर लैजानुपर्छ,” उहाँले भन्नुभयो ।
पुनले पार्टीभित्र समावेशी प्रतिनिधित्वलाई थप बलियो बनाउन आफूले महामन्त्री पदमा उम्मेदवारी दिएको बताउनुभयो । कांग्रेसमा विभिन्न जातजाति र समुदायको प्रतिनिधित्व भए पनि मगर समुदायबाट पार्टीको उच्च नेतृत्वमा पर्याप्त प्रतिनिधित्व हुन नसकेको उहाँको भनाइ थियो ।







