काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताउनुभएको छ ।
सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले विपद्का कारण नाका सञ्चालनमा समस्या आए पनि सरकारले सडक तथा पूर्वाधार पुनःस्थापनाका लागि तत्काल काम गरिरहेको जानकारी दिनुभयो ।
उहाँले तातोपानी नाका सञ्चालनका लागि नेपाली पक्ष पूर्ण रूपमा तयार रहेको भए पनि चिनियाँ पक्षबाट अझै ‘ग्रिन सिग्नल’ प्राप्त नभएको बताउनुभयो ।
“तातोपानी नाका सञ्चालनका लागि नेपाली पक्षले तत्कालै बाटो सञ्चालनमा ल्याइसकेको छ । अहिले पनि हामी तयार छौँ । हाम्रो लागि त्यो नाका सञ्चालन गर्न कुनै कठिनाइ छैन,” उहाँले भन्नुभयो, “चीन पक्षसँग पनि हामी नियमित संवादमा छौँ । दैनिकजसो नै संवाद भइरहेको छ । तर उहाँहरू अझै तयार भइसक्नुभएको छैन ।”
विपद्का अवस्थामा चिनियाँ पक्षले नाका सञ्चालनमा केही हदसम्म अनिच्छा देखाउने गरेको उल्लेख गर्दै मन्त्री लम्सालले बाढी तथा अन्य विपद्का कारण चीनले अझै नाका खोल्न अनुमति नदिएको बताउनुभयो । उहाँले सरकारले निरन्तर प्रयास गरिरहेकाले चाँडै तातोपानी नाका सञ्चालनमा ल्याउन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री लम्सालले रसुवागढी नाका पुनः सञ्चालनका लागि पनि सरकारले आवश्यक योजना बनाइरहेको बताउनुभयो । उहाँका अनुसार रसुवागढी चीनसँगको प्रमुख व्यापारिक नाका भएकाले यसको पुनः सञ्चालनलाई सरकारले प्राथमिकतामा राखेको छ ।
यसैगरी, नुवाकोटको विदुरलाई ट्रेड सिटी, इन्डस्ट्रियल सिटी तथा स्याटेलाइट सिटीका रूपमा विकास गर्ने सरकारको योजना रहेको उहाँले जानकारी दिनुभयो । त्यसका लागि मास्टर प्लान तयार गर्ने काम अघि बढाइने उहाँको भनाइ छ ।








